८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

जुम्ली काँचो स्याउको पहिचना गुम्ने खतरा

फाइल तस्बिर

जुम्लामा उत्पादित अग्र्यानिक  स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ।  राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ  किसानसंग मिलेमतोमा गरी व्यापारीले बिक्रीवितरण गर्न थालेका छन्।  

भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ एवं स्थानीय तहले समेत परिपत्र गरे पनि पछि मूल्य नपाइने जनाउँदै यहाँका किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली तथा चोकसम्म तथा फलफूल मण्डीमा जुम्लाको काँचो स्याउ बिक्रीका लागि राखिएको छ।

त्यस्तै काठमाडौं, नेपालगञ्ज, दाङ, धनगढी विराटनगरलगायतका जिल्लामा समेत जुम्ली काँचो स्याउ पुगेको जनाइएको छ। आर्थिक समृद्धिसँगै जिल्लाको पहिचानसँग जोडिएको अग्र्यानिक स्याउको पहिचान गुम्नेसमेत खतरा बढेको कृषिविज्ञ बताउँछन्। जिल्लामा भदौ १५ गतेभन्दा अघि स्याउ टिप्न कसैलाई पनि छुट छैन।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले भने, 'साउन पहिलो साता जिल्लामा गोष्ठी गरेर काँचो स्याउ नटिप्न किसान व्यापारीलाई सूचित गराइएको हो। पछि उपयुक्त मूल्य र बजार नपाउने डरले किसानले काँचो स्याउ टिप्नु, बाहिर बजारमा पठाउनु जुम्ली स्याउको पहिचान गुम्ने संकेत हो।' साउनमा पाक्ने ६२ कार्टुन चक्लेटी स्याउ निर्यातका लागि सिफारिस दिएको उनले जानकारी दिए।  

तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न किसानलाई आग्रह गरेको छ। दुवै स्थानीय तहले सूचना जारी गर्दै  स्याउको पहिचान कायम राख्न, बजारको मागअनुसार पूर्ति गर्न, राम्रो मूल्य पाउनका लागि भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्नसमेत सूचना गरिएको चन्दननाथका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले बताए।  

तातोपानीका कृषि शाखाका प्रमुख पदम नेपालीले पालिकामा व्यापारी, किसान र जनप्रतिनिधिको उपस्थितिमा अन्तक्रिया गरी भदौ पहिलो साताबाट मात्रै स्याउ टिप्ने निर्णय गरेको जानकारी दिए। जिल्लाका आठवटै स्थानीय तहका किसान स्याउखेतीमा निर्भर छन्। बजारमा काँचो स्याउ पुग्दासमेत सम्बन्धित निकायले कुनै अनुगमनको पहलसमेत चालेका छैनन्। रासस

प्रकाशित: १५ श्रावण २०७९ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App