३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

हवाई क्षेत्रलाई उच्च प्राथमिकता

पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजना

फाइल तस्बिर

सरकारले केही दिनअघि ल्याएको पर्यटन पुनरूत्थान कार्य योजनामा सबैभन्दा धेरै प्राथमिकता हवाई क्षेत्रलाई दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको योजनाका ७३ वटा कार्यक्रममध्ये हवाई उड्डयनसम्बन्धी कार्यक्रम १८ वटा  राखिएका छन्। कार्ययोजनाको १४ देखि ३१ नम्बरसम्मका सबै कार्यक्रम हवाई सेवा, सुविधा तथा विस्तारसँग सम्बन्धित छन्। यसले सरकारले सबैभन्दा बढी प्राथमिकता हवाई क्षेत्रलाई दिएको देखिएको हो।

कार्ययोजनामा अन्तर प्रादेशिक हवाई सेवा विस्तार तथा हवाई उडान सञ्चालन गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँगको समन्वयलाई निरन्तरता दिने, तीन महिनाभित्र प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याउने, एक महिना भित्र गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा लाग्ने सेवा शुल्कमा दिएको छुटलाई निरन्तरता दिने, चार्टर उडानलाई प्रोत्साहन गर्ने र ट्रान्जिट कार्गोका लागि आवश्यक कानूनी व्यवस्था गर्न पहल गर्नेलगायतका कार्ययोजना छन्।

यस्तै एक महिनाभित्र सुरू गरी निरन्तर राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थलहरूको सौन्दर्यीकरण, स्तरोन्नति गर्ने र सेवालाई प्रभावकारी बनाउने लगायतका कार्ययोजनाहरूको घोषणा गरिएको छ।  

एक महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रचारप्रसार गरी पर्यटन सम्बद्ध संघ संस्थाहरू, राष्ट्रिय वायुसेवा सञ्चालक र विदेशस्थित कुटनीतिक नियोगसँग मिलेर प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने रहेको छ।

आगमी तीन महिनाभित्र पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि सन् २०२३ देखि २०३३ को दशकलाई नेपाल भ्रमण दशकको रूपमा मनाउन आवश्यक तयारी अगाडि बढाउँदै गर्दा सरकारले हवाई सेवालाई सरकारको पुनरूत्थान कार्ययोजनाले प्राथमिकतामा राखेको छ। कार्ययोजनामा एक महिनाभित्र वायुसेवा निगमको सबै प्रकारका टिकटलाई अनलाइन बिक्रीमा लैजाने तथा निगमबाट सञ्चालित विमानस्थलको भूमिस्य प्रबन्ध सेवा थप व्यवस्थित र प्रभावकारी बनाउने रहेको छ।

मन्त्रालयका पर्यटन प्रवर्द्धन महाशाखा प्रमुख तथा सहसचिव होमप्रसाद लुईंटेलले पर्यटन प्रवर्द्धनका लागि हवाई सेवा एक बृहत् तथा महत्वपूर्ण पक्ष भएकाले कार्य योजनामा यसले बढी प्राथमिकता पाउनु स्वभाविक भएको बताए। 

प्रकाशित: १२ श्रावण २०७९ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App