८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा गत आव भन्दा झण्डै साढे तीन करोडले घट्यो राजश्व संकलन

आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा ताप्लेजुङबाट संकलन हुने राजश्व रकम झण्डै साढे तीन करोड रुपैयाँले घटेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल शंकर राउतका अनुसार आव २०७८/०७९ मा ताप्लेजुङबाट २६ करोड १२ लाख १२ हजार ६ सय ६७ रुपैयाँ बराबर राजश्व संकलन भएको छ।

कोलेनिका अनुसार यो रकम जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयसहितका सुरक्षा निकायका अन्य कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयसहितका अन्य कार्यालय समेतबाट संकलन भएको रकमको विवरण हो। राजश्व संकलनको यो प्रारम्भिक तथ्याङ्क हो। आव २०७७/०७८ मा भने २९ करोड ५६ लाख १ हजार ८ सय ४२ रुपैयाँ राजश्व संकलन भएको थियो।

कोलेनिकाका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को साउन १ गतेबाट जेठ मसान्तसम्ममा २४ करोड १७ लाख ३७ हजार ७७ रुपैयाँ राजश्व संकलन भएको थियो। असार महिनामा मात्रै १ करोड ९४ लाख ७५ हजार ३ सय ९१ रुपैयाँ बराबर थप भएको कोलेनिकाले जनाएको छ।

कोलेनिकाको कार्यालयमा एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर, पारिश्रमिक कर, पुँजीगत लाभकर, निकायको (प्राइभेट लिमिटेड कम्पनी र अन्य संघसंस्था)को मुनाफामा लाग्ने कर, सम्पत्ति बहाल तथा कट्टा वापतको आयमा लाग्ने कर, ब्याजमा लाग्ने कर, आकस्मिक लाभ कर, पारिश्रमिकमा आधारित सुरक्षा कर, स्वास्थ्य सेवा कर, साना सवारी साधन कर, सरकारी सम्पत्ति र अन्य बिक्रीबाट प्राप्त भएको कर जम्मा हुने गरेको छ।

यस्तै राहदानी शुल्क, परीक्षा शुल्क, शिक्षा क्षेत्रको आम्दानी, अन्य प्रशासनिक सेवा शुल्क, कम्पनी रजिष्ट्रेशन दस्तुर, न्यायिक दण्ड, जरीवाना र जफत, अन्य राजश्व, बेरुजु, निकासा र अनुदान फिर्ता, पदयात्रा रोयल्टी रकम समेत सिधै राजश्वको रुपमा जम्मा हुने गरेको छ।

यस्तै बस्तु बिक्री र वितरण, परार्मश तथा ठेक्का, पर्यटन सेवा, बेदर्तावालाबाट हुने संकलन र मदिरा तथा सूर्तिजन्य पदार्थको अन्तःशुल्क वापतको रकम कोलेनिकाका जम्मा हुन्छ। उल्लेखित शीर्षकबाट कोलेनिकामा २४ करोड ४ लाख ७७ हजार ८ सय ७५ रुपैयाँ जम्मा हुन आएको थियो भने जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालयसहितका सुरक्षा निकायका अन्य कार्यालय, मालपोत कार्यालय र नापी कार्यालय, कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालय, मुलघाट–दोभान–ओलाङचुङगोला सडक योजना, शिक्षा विकास तथा समन्वय इकाई र हुलाक कार्यालय सहितका निकायबाट बाँकी रकम संकलन भएको थियो।

ओलाङ्चुङगोला भन्सार कार्यालयबाट एक रुपैयाँ पनि भएन राजश्व असुली

ओलाङ्चुङगोला भन्सार कार्यालयबाट आव २०७८/०७९ मा एक रुपैयाँ पनि राजश्व संकलन नभएको कोलेनिकाले जनाएको छ। नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्र टिपतालाबाट करिव २७ किलोमिटर तल ओलाङ्चुङगोलामा भन्सार कार्यालय रहेको छ।

प्रकाशित: ९ श्रावण २०७९ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App