९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

सिक्टा सिँचाइ आयोजना अन्तर्गतको पूर्वी नहरको सफल परीक्षण

सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको पूर्वी नहर सञ्चालन भएपछि धान रोपाइँ गर्दै किसान।

राप्ती सोनारी गाउँपालिका–६ गुलरीकी लक्ष्मी थारुले समयमै वर्षा नहुँदा समयमै रोपाइँ गर्न पाइनन्। लगाएको धानको ब्याडसमेत सुकेर चौपट हुन लागेको थियो तर शुक्रबार राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाबाट पानी सञ्चालन भएपछि शनिबार रोपाइँ गरिन्। आकासे पानीको भर पर्नुपर्ने भएकाले रोपाइँ गर्न नपाएकी सोही गाउँकी पतरी परियारले पनि शनिबार रोपाइँ सम्पन्न गरिन्।

आकासे पानी नपर्दा र सिँचाइको सुविधा नहुँदा यहाँका किसानहरूले रोपाइँ गर्न पाएका थिएनन्। शनिबार सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पूर्वी नहर सञ्चालनमा आएसँगै यहाँका किसानहरूलाई रोपाइँ गर्न हतार भएको छ। ‘सिँचाइ नहुँदा आकासे पानीको भरमा बसेका थियौं,’ राप्ती सोनारी  गाउँपालिका वडा नम्बर ६ डाँडाटेप्रीका किसान धनीराम थारुले भने-‘रोपाइँ त के ब्याडसमेत सुक्न लागेको अवस्थामा सिक्टा सिँचाइको पानी खेतसम्म पुग्यो। यसैले गर्दा हामीले रोपाइँ गर्न पायौं।’ यस क्षेत्रमा सिँचाइ सुविधा छैन। आकासे पानीको भरमा खेतीपाती हुँदै आएको छ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका बाधुराम थारु खेतमै पानी पुग्दा खुसी देखिन्छन्। फत्तेपुर क्षेत्रका किसानले यसअघि फत्तेपुर सिँचाइ प्रणालीमा परम्परागत स्याउले बाँध र बोरामा ग्राभेल राखी राप्ती नदीबाट पानी फर्काएर ल्याउने गरेका थिए। त्यसरी ल्याइएको पानी प्रत्येक पटक बाढी आएसँगै पुनः बाँध बाँध्नुपर्ने झन्झट थियो।

यतिबेला खेतीपातीको समयमा सिक्टाको पानी पुग्दा यहाँका किसानलाई ठूलो राहत महसुस भएको छ। उनले पानीको अभावमा बीउ छिप्पिन लागेको बेला र रोपेको धान सुक्नै लागेको बेला कुलामा सिक्टाको पानी आएपछि आफू हर्षित भएको बताए। उनले वर्षाैंको प्रतीक्षापछि सिक्टा सिँचाइ आयोजनाबाट पानी आएकोमा उत्साहित भएको बताउँदै अब पानीको निरन्तरता हुनुपर्ने पनि बताए। ‘नहर नै हाम्रो जीवन हो। अब यसलाई निरन्तर सञ्चालन गरिनुपर्छ। यसमा केके सहयोग चाहिन्छ त्यसका लागि हामी किसानहरू तयार छौँ’-उनले भने।

सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरमा असार २८ गतेबाट पानी सञ्चालनमा ल्याइएको हो। आयोजनाको पूवी मूल नहरको २४ किलोमिटरसम्म पानी छोडिएको छ। उक्त खण्डका विभिन्न शाखाबाट पनि सिँचाइ सेवा पुगेको छ। कुल ४४ किलोमिटर लामो उक्त नहरको बाँकी खण्डको काम चलिरहेको छ।

अहिले पानी छोडिएपछि फत्तेपुर सिँचाइ प्रणालीमा उक्त प्रणालीलाई चाहिने ३ दशमलव २९ क्युमेक पानी उपलब्ध भएको छ। मूल नहरमा क्षमताको झन्डै आधा अर्थात् ७ क्युमेक पानी छोडिएको छ। पूर्वी नहरमा पानी छोडिएपछि फत्तेपुर सिँचाइ प्रणालीका सातवटा शाखाबाट दुई हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने र यसबाट राप्तीसोनारी वडा नम्बर ६ र ७ अन्तर्गतका १९ हजार पाँच सय २१ जनसंख्या लाभान्वित हुने सिक्टा सिँचाइ आयोजनाका निर्देशक डा. सन्तोष कैनीले जानकारी  दिए। पूर्वी मूल नहरको राजकुलो सिँचाइ प्रणालीमा भने २०७६ सालदेखि नै पानी सञ्चालन भइरहेको छ। उक्त प्रणालीबाट एक हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ।

सिक्टाको मूल बाँध अगैयादेखि हाल पानी छोडिएको २४ किलोमिटर लम्बाइको मूल नहरमा अहिले बायोइञ्जिनियरिङ तथा वातावरण संरक्षण लगायतका संरचना निर्माण भइरहेको पनि कैनीले बताए। २४ किलोमिटरभन्दा तलको क्षेत्रको नहरको काम यस वर्षको माघ २९ गतेसम्म निर्माण गरिसक्नुपर्ने ठेक्का सम्झौता रहेको उनको भनाइ छ। अब उक्त खण्डको १४ प्रतिशत मात्र काम बाँकी रहेको र   उक्त खण्डको पनि सर्वेक्षण कार्य सुरु भइसकेको निर्देशक डा. कैनीले बताए। पूर्वी नहर निर्माणका लागि २०७४ साल भदौ ९ गते कालीका–कुमार जेभिसँग तीन अर्ब ३० करोड २१ लाख ३९ हजार पाँच सय १९ रूपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म दुई अर्ब ८४ करोड ३८ लाख नौ हजार पाँच सय ३६ रूपैयाँ बराबरको निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ।

यसभन्दा अघि सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहर र शाखा नहरबाट पश्चिमतर्फ करिब १६ हजार हेक्टर क्षेत्रफलमा पानी पुगेको छ। उक्त नहरबाट कहीं सतही त कही पम्प प्रयोग गरी सिँचाइ भइरहेको छ। सिक्टा सिँचाइ आयोजनाबाट पश्चिममा ३३ हजार सात सय ६६ र पूर्वमा नौ हजार हेक्टर गरी जम्मा ४२ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ। पूर्वी नहरमा पानी छोडिएसँगै हालसम्म पश्चिममा १६ हजार र पूर्वमा तीन हजार हेक्टर क्षेत्रफलमा पानी पुगेको छ।

प्रकाशित: २ श्रावण २०७९ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App