४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साताभरमा १७ बिन्दुले बढ्यो नेप्से परिसूचक

अघिल्लो साताका तुलनामा गत साता सेयर लगानीकर्ता झिनो रूपमा नाफामा रहेका छन्। अघिल्लो साता ३६ बिन्दुले घटेको सेयर बजार गत साता १६.८५ बिन्दुले बढेको हो। यससँगै परिसूचकले फेरि २ हजार बिन्दु पार गरेको छ।

गत आइतबार सार्वजनिक विदा भएकाले पहिलो कारोबार सोमबार भएको थियो। त्यस दिन ७७.०१ बिन्दुले कारोबारमा गिरावट आएकामा त्यसपछिका सबै दिनको कारोबारमा सुधार आएको हो। बजारमा सुधार आएका पाँच दिन मध्ये बुधबार मात्र ५९.५४ बिन्दुले नेप्से बढेको हो। अन्य चार दिनमा नेप्सेको सुधार १५ बिन्दुभन्दा तलै रह्यो। यही कारण सेयर कारोबारका ६ मध्ये ५ दिन सुधार आए पनि समग्रमा धेरै बिन्दुले नेप्से बढ्न सकेको छैन।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार ११.६८ र बुधबार ५९.५४ बिन्दुले नेप्से बढेको थियो। यस्तै बिहीबार १४.७१ र शुक्रबार ७.९३ बिन्दुले नेप्से बढेको छ। समग्रमा साताभर मा नेप्से १६.८५ बिन्दुले मात्र बढेको छ।

एक्सचेञ्जका अनुसार साताको अन्तिम कारोबार दिन शुक्रबार करिब ८ बिन्दुले बढेर नेप्से परिसूचक २००९.४६ बिन्दुमा पुगेको छ। शुक्रबार २००३ बिन्दुबाट बजार सुरु भएको थियो। दिनभरको कारोबारमा तीन पटक ठूलो बिन्दुले घट्ने र तीन पटक बढ्ने गरेको थियो। बजार सुरु भएलगत्तै कारोबारमा आएको गिरावटले नेप्से घटेर १९९१ बिन्दुमा झरेको थियो। त्यसपछि लगत्तै फेरि कारोबार बढ्दा परिसूचक २०११ बिन्दुसम्म पुगेको थियो। यसको केही समयमा फेरि कारोबार घटेकाले नेप्से १९९० बिन्दुसम्म झर्न पुगेको थियो। कारोबारको अन्तिम आधा घण्टामा आएको सुधारका कारण नेप्से २००९ बिन्दुमा पुगेको हो।

एक्सचेञ्जका अनुसार शुक्रबार नेप्सेका अतिरिक्त सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबारमा सुधार आएको छ। सेन्सेटिभ २.७७, फ्लोट १.११ र सेन्सेटिभ फ्लोट १.५४ बिन्दुले बढेका हुन्।

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये ८ वटाको कारोबार घटेको छ भने ५ वटाको कारोबार बढेको छ। कारोबारमा सुधार आउनेमा सबैभन्दा धेरै लघुवित्त उपसूचक परेको छ। यो उपसूचक ६८ बिन्दुले बढेको हो। यस्तै जीवन बिमा ३८, विकास बैंक ५ र बैंकिङ उपसूचक ५ बिन्दुले बढेका छन्। सामूहिक लगानी कोष सूचक पनि ०.२२ बिन्दुले बढेको छ।

कारोबारमा गिरावट आउने ८ उपसूचकहरूमध्ये सबैभन्दा धेरैले अन्य उपसूचक २५ बिन्दुले घटेको छ। यस्तै होटल तथा पर्यटन २०, जलविद्युत् १७, उत्पादन तथा प्रशोधन १४, व्यापार १२, निर्जीवन बिमा ३, फाइनान्स ७ बिन्दुले घटेका छन्। यस्तै सबैभन्दा कम बिन्दुले कारोबार घट्नेमा लगानी उपसूचक परेको छ। यो ०.६२ बिन्दुले मात्र घटेको हो।

कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले लघुवित्त उपसूचक बढेको छ। यो १.५७ प्रतिशतले बढेको हो। यस्तै सबैभन्दा धेरै प्रतिशतले कारोबार घट्नेमा अन्य उपसूचक परेको छ। यो उपसूचक १.६८ प्रतिशतले घटेको हो।

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले नेपाल इन्भेष्टमेन्ट र माछापुच्छ्रे बैंकको डिभेञ्चर सेयर मूल्य बढेका छन्। दुवै कम्पनीका सेयर ९.९८ प्रतिशतले बढेका हुन्। अन्य ५ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेका छन्।

यस्तै कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिसेयर मूल्य घट्नेमा ग्रीन लाइफ हाइड्रो पावर परेको छ। यसको प्रतिसेयर मूल्य ५.३१ प्रतिशतले घटेको हो। माउन्टेन र रिभर फल्स हाइड्रोको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ।

यस्तै रकमका आधारमा सबैभन्दा धेरै रकमको कारोबार माथिल्लो तामाकोशीको भएको छ। यसको १९ करोड ७२ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै एभरेष्ट बैंकको ६ करोड ९४ लाख रूपैयाँ र किसान लघुवित्तको ५ करोड ५८ लाख रूपैयाँको कारोबार भएको छ।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर माथिल्लो तामाकोशीको भएको छ। यसका ३ लाख ५५ हजार २ सय ३२ कित्ता सेयर बिक्री भएका हुन्। यस्तै एभरेष्ट बैंकको १ लाख ६० हजार ८ सय २ सेयर बिक्री भएका छन्।

एक्सचेञ्जका अनुसार शुक्रबार २३१ कम्पनीका ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि १ अर्ब ४५ करोड ६२ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण बढेर २८ खर्ब ६९ अर्ब रूपैयाँमा पुगेको छ।

प्रकाशित: १ श्रावण २०७९ ००:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App