६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मध्य तमोरको सुरुङ निर्माण कार्य पूरा

ताप्लेजुङमा रहेको ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजनाको सुरुङ निर्माण कार्य पूरा भएको छ।

गएराति साढे १० बजेतिर ड्याम रहने क्षेत्र मित्लुङ र पावर हाउस रहने क्षेत्र थुम्बाबेसीसम्मको करिब ३ हजार ४ सय मिटर सुरुङ मार्गको निर्माण कार्य पूरा भएपछि आयोजनाको सुरुङ निर्माणका ‘बेक्र थ्रु’को घोषणा गरेको छ।

मध्य तमोर जलविद्युत आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार त्यहाँ दुईवटा कम्पनीमध्ये एकले थुम्बा क्षेत्रबाट र अर्कोले मित्लुङ क्षेत्रबाट सुरुङ खन्दै आएका थिए। ३ हजार ३ सय ६७ मिटर लामो सुरुङमार्ग ६ मिटर चौडाइ र ४ मिटर उचाइको रहेको छ।

दुईतर्फबाट निर्माण भइरहेको सुरुङमार्ग जोडिएसँगै आयोजनाको ७१ प्रतिशत काम सकिएको आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिए। गौतमका अनुसार हेडवक्र्सको काम ८० प्रतिशत सकिएको छ। अब थिग्रयाउने पोखरीको केही हिस्सा काम भने बाँकी रहेको आयोजना प्रमुख पोखरेलले बताए।

ताप्लेजुङमा निर्माण भइरहेका आयोजना मध्ये यो नै अहिलेसम्मको सबैभन्दा बढी क्षमताको रहेको छ। तीन सय मिटर लम्बाइ र एकसय मिटर चौडाइको सेटलिङ् बेसिनलाई प्राकृतिक विपद्का समस्याबाट जोगाउन अण्डर ग्राउण्ड गरिएको आयोजना प्रबन्धक पोखरेलले जानकारी दिए।

फक्ताङ्लुङ गाउँपालिका वडा नं १ सावादिन र मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङमा मुख्य–मुख्य संरचना रहेको विद्युत आयोजनाको फुङ्लिङ नगरपालिका ९ र १० हाङ्देवा तथा फुरुम्बुको तल्लो तटीय क्षेत्र आयोजनाको मुख्य कार्यस्थल रहेको छ।

आयोजनाको फुरुम्बुस्थित मित्लुङ नजिक ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण भइरहेको छ। आयोजनाबाट उत्पादन भएको विद्युत आयोजनाको स्वीचयार्डदेखि करिब १२ किलोमिटर लामो २२० केभीए क्षमताको प्रसारण लाइनमार्फत् मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा निर्माण भइरहेको नेपाल बिद्युत प्राधिकरणको ढुङगेसाँघु सव–स्टेशनमा पुर्‍याइ राष्ट्रिय प्रसारण लाइनमा जोड्ने आयोजनाको तयारी छ।  

कोशी करिडोर नामले परिचित ढुङगेसाँघु सव–स्टेशनको काम पनि तीव्र गतिमा भइरहेकोले आयोजनाले लक्ष्य अनुसार उत्पादित विद्युत सो सव–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कुनै समस्या नहुने देखेको छ। सुरुमा ५४ मेगावाट क्षमता बराबर विद्युत उत्पादन गर्नेगरी सुरु गरिएको आयोजनाको मुहान् स्थल (हेडवक्र्स) केही परिवर्तन गरेसँगै उत्पादन क्षमता बढ्ने बढेर ७३ मेघावाट पुगेको हो।

सुरुमा मापन गरिएको क्षमताअनुसार निर्माण प्रक्रिया अघि बढाएकोमा पछि निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि आयोजनाको हेडवक्र्स परिवर्तन गरिएसँगै ५४ बाट १९ मेगावाट बढ्न गई कुल ७३ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेगरी निर्माण कार्य भइरहेको छ।  

प्रकाशित: ३२ असार २०७९ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App