२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्सेमा ११ बिन्दुको झिनो सुधार

साताको पहिलो कारोबार भएको दिन सोमबार ७७ बिन्दुले ओरालो लागेको सेयर बजारमा मंगलबार झिनो सुधार आएको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति कसिलो आउने बताएपछि सेयर बजारमा पहिरो गइरहेको थियो। मंगलबार भने नेप्से परिसूचक ११.६८ बिन्दुले बढेर १९२७.२८ मा पुगेको हो। यो ०.६१ प्रतिशतको वृद्धि हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार १९१८ बिन्दुबाट दिनको कारोबार सुरु भएकामा १२ मिनेटमा नै नेप्से १९३६ बिन्दुमा पुगेको थियो। त्यसको अर्को १४ मिनेटमा फेरि बजार खस्केर १९१० बिन्दुमा ओर्लेको थियो। त्यसपछि पनि बजारमा उच्च उतारचढाव आउन छोडेन। दिनभरको कारोबारमा बजार उच्चतम बिन्दु १९४७ सम्म पुगेको थियो भने न्यूनतम १९१० बिन्दुसम्म झरेको हो। बजार बन्द हुँदा भने नेप्से परिसूचक १९२७ बिन्दुमा रोकिएको हो।

एक्सचेञ्जका अनुसार मंगलबार नेप्सेसँगै यसका अन्य प्रमुख सूचक सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट सबैको कारोबार बढेको छ। सेन्सेटिभ २.०९, फ्लोट ०.८७ र सेन्सेटिभ फ्लोट ०.९७ बिन्दुले बढेका हुन्।

यस्तै सेयर बजारका अन्य १३ उपसूचक सबैको कारोबार बढेको छ तर कुनै पनि उपसूचक एक सय बिन्दुले बढेका छैनन्। सबैभन्दा धेरै बढ्नेमा निर्जीवन बिमा र उत्पादन तथा प्रशोधन उपसूचक छन्। यी क्रमशः ७४ र ६५ बिन्दुले बढेका हुन्।

यस्तै होटल तथा पर्यटन ४१, जलविद्युत् ३०, विकास बैंक २६, व्यापार २६ र फाइनान्स २० बिन्दुले बढेका छन्। बैंकिङ उपसूचक ४ बिन्दुले बढेको छ भने सबैभन्दा कम बिन्दुले बढ्नेमा सामूहिक लगानी कोष ०.५७ बिन्दु रहेको छ।

नेप्सेका १३ उपसूचकहरूको कारोबारमा आएको सुधार लाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै होटल तथा पर्यटन उपसूचक १.६५ प्रतिशतले बढेको छ। यस्तै फाइनान्स र जलविद्युत उपसूचक पनि १.३९ र  १.३८ प्रतिशतले बढेका छन्।

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य बढ्ने कम्पनीमा सप्तकोशी विकास बैंक परेको छ। यसको सेयर मूल्य ९.३५ प्रतिशतले बढेको हो। यस्तै एनआरएन पूर्वाधार विकास बैंक ८.२२ र युनाइटेड इन्स्योरेन्स ६.९६ प्रतिशतले बढेका छन्।

कारोबारमा सबैभन्दा धेरै प्रतिशतले प्रति सेयर मूल्य घट्ने कम्पनीमा नयाँ सारथी लघुवित्त परेको छ। यसको सेयर मूल्य ४.६५ बिन्दुले घटेको हो। यस्तै आरविवी र नविल इक्विटी फण्ड क्रमशः ३.५७ र ३.३९ प्रतिशतले घटेका छन्। यस्तै रकमका आधारमा सबैभन्दा धेरै कारोबार अरूण कावेली जलविद्युत्को भएको छ। यसको ७ करोड ९५ लाख ८० हजार बराबर सेयर कारोबार भएको हो। यस्तै गोर्खा फाइनान्स ७ करोड ६० लाख र शिवम सिमेन्टको ७ करोड ४० लाख रूपैयाको कारोबार भएको हो।

सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर पनि अरूण कावेली जलविद्युत्को भएको छ। यसका १ लाख ७९ हजार ९ सय ९३ कित्ता सेयर बिक्री भएका हुन्। यसपछि गोर्खा फाइनान्सको १ लाख ७० हजार ३ सय ७७ र नेपाल बैंकको १ लाख ४४ हजार ३ सय ५० कित्ता सेयर बिक्री भएका छन्।

एक्सचेञ्जका अनुसार मंगलबार २२६ कम्पनीका ४९ लाख ६७ हजार ५ सय ६१ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि १ अर्ब ७० करोड ७७ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण केही बढेर २७ खर्ब ४८ अर्ब ८० करोड रूपैयाँमा पुगेको छ। 

प्रकाशित: २९ असार २०७९ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App