२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङ व्यवसायीको अनुरोधः १० देखि १२ बजेसम्मको समय हामीलाई देउ

पोखरामा विमानस्थल बन्दा प्याराग्लाइडिङलाई चिन्ता

पोखराको आकाशमा उडिरहेको प्याराग्लाइडिङ।

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएकोले आगामि जनवरी एकदेखि सञ्चालनमा ल्याउने लक्ष्य छ।

हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनवरी एकदेखि विमानस्थल सञ्चालन गर्ने बताइसकेको छ। त्यही अनुसार पोखराको आकाशमा उडान हुने प्याराग्लाइडिङलाई अन्यत्रै सार्न प्राधिकरणले व्यवसायीलाई निर्देशन पनि दिइसकेको छ।

तर, व्यवसायीले भने पोखराको आकाशमा झन्डै अढाइ दशकदेखि भइरहेको प्याराग्लाइडिङ उडानलाई अन्यत्र सार्दा पर्यटन क्षेत्रमै धक्का पुग्ने, ठुलो जनशक्ति बेरोजगार हुने, लगानी खेर जाने र समग्रमा पर्यटनमै नोक्सान हुने  भएकोले सकेसम्म अहिलेकै आकाशमा उडान गर्न पाउनुपर्ने बताइरहेका छन्। समय तोकेरै उडान गर्न दिन पनि व्यवसायीको आग्रह छ। अहिले दिनभर जसो उडान भइरहेकोमा अब समय तोकेर उडान गर्न दिन व्यवसायी र पाइलटको माग छ।

विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङलाई विस्थापित नगरी स्थापित गर्नुपर्ने उनीहरुको भनाइ छ। बरु, थप अनुशासनमा बसेर उडान गर्न आफूहरु तयार रहेको उनीहरु बताउँछन्। विमानस्थलको उडान र अवतरणलाई धेरै समय अप्ठेरो नपार्ने गरी दिनमा दुई घण्टा (बिहान १० देखि १२ बजेसम्म) समय प्याराग्लाइडिङ उडानका लागि छु्ट्याइदिन उनीहरुको आग्रह छ। प्याराग्लाइडिङ विस्थाति भए पोखराको साहसिक पर्यटनले ठूलो क्षति व्यहोर्नुपर्ने उनीहरुको तर्क छ।

नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष बिमल पहारीले भने, ‘हामीलाई बरु अहिले भन्दा कडाइ गरियोस्, तर, पोखराको यो आकाशबाट विस्थापित नगरौ।’ प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए) को शनिबार भएको साधारणसभामा पाइलट पहारीले भने, ‘बिहान १० देखि मध्यान्ह १२ बजेसम्म मात्र हामीलाई दिए पुग्छ। त्यो अवधिमा हामी अनुशासित भएर उडान गर्नेछौं,’ उनले भने, ‘पोखराको यो विमानस्थल तत्कालै २४ सै घण्टा सञ्चालनमा नआउने भएकोले सुरुका केही वर्षका लागि भएपनि दिनमा दुई घण्टा समय प्याराग्लाइडिङका लागि दिने हो भने पोखराको पर्यटन क्षेत्र जोगिन्छ।’

पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडानलाई मध्यान्ह १२ बजेसम्मका लागि मात्र अनुमति दिने हो भने व्यवसायी, जनशक्ति र पर्यटन क्षेत्र नै जोगिने उनको भनाइ छ। यसअघि व्यवसायी र केही पाइलट अनुशासित हुन नसक्दा आफूहरुमाथि प्रश्न उठाउँदै प्राधिकरणले प्याराग्लाइडिङलाई अन्यन्त्र सार्न खोजेको उनले बताए। ‘हामी आफू पनि सुध्रिनुपर्छ। हामीले पछिल्ला दुई वर्ष केही कमजोरी गर्‍यौँ। पैसाका लागि भएजतिका उडान गर्‍यौँ,’ उनले भने, ‘पछिल्ला दुई वर्ष मात्र हामी सुध्रेको भए यो अवस्था आउने थिएन। यो बिगार्न र यहाँबाट बाहिरिनुमा हामी पाइलट र व्यवसायी पनि कारक छौं।’

पछिल्लो दुई वर्ष मिलेर काम गर्न सकेको भए हाम्रो काम देखेर नियमनकारी निकाय पनि पोखरामै प्याराग्लाइडिङ उडानलाई राखिरहन बाध्य हुने उनको भनाइ छ। ‘हामीले बिहान १० देखि १२ बजेसम्म मात्र अनुशासनमा रहेर उडान गर्न सकेनौं। हिजोसम्म पैसाका लागि मात्र सोच्यौँ,’ उनले भने, ‘तर, अहिले कठिन अवस्थामा छौं। अब पनि रहन नसके समस्या आउँछ।’

यो व्यवसायमा करिब ३५० जना पाइलट छन। ती मध्ये आधा पाइलट व्यवसाय सर्नासाथ अप्ठेरोमा पर्ने उनले बताए। ‘पाइलटको परिवारलाई पनि समस्या पर्नेछ। त्यही भएर अझै एकपटक नियमनकारी निकायसँग समन्वय गरौ र सकेसम्म पोखराबाट बाहिरिन नदिऔं,’ उनले भने।

उनका अनुसार पोखराका प्याराग्लाइडिङ व्यवसाय सुरु भएदेखि अहिलेसम्म करिब ४० लाख पर्यटकले उडान गरिसकेका छन्। कतिपय मुलुकका सैनिक नै पोखराको यो ठाउँमा प्याराग्लाइडिङ प्रशिक्षण लिन आउने गर्छन्। अक्टोवर–नोभेम्बर महिना प्याराग्लाइडिङ उडानका लागि विश्वकै उपयुक्त समय हुने उनले बताए।

उनका अनुसार पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट तीनमा पर्छ। पोखराबाट विस्थापित भएको खण्डमा पर्यटकको बसाई अवधि कम हुने, पर्यटक आगमनमै हस आउने उनले बताए । ‘केही गरी पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुनु परेमा नेपालमै कतैपनि व्यवस्थापन हुनेछैन,’ पहारीले भने।

पोखराको आकाशमा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो। सन् २००० देखि कम्पनी खडा गरेर यहाँ प्याराग्लाइडिङ व्यवसायीले उडान थालेका थिए। अहिले सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ र फेवाताल किनारमा अवतरण गराइन्छ। सराङकोट आडैको तोरीपानी र मान्द्रेढुंगा पनि प्याराग्लाइडिङ उडानको क्षेत्र हो।

मान्द्रेढुंगा, सराङकोट र तोरीपानीबाट उडेका सबै प्याराग्लाइडिङ फेवाताल किनारमै अवतरण गर्ने हुन्। सराङकोटको चुचुरो १६ सय मिटर उचाइको छ। तर, प्याराग्लाइडिङ उडान १४ सय मिटरबाट हुन्छ। त्यस्तै तोरीपानीको उचाइ १७ सय मिटर रहेकोले त्यो भित्र समेटिने गरी उडान गर्न सकिने अवस्था रहनसक्ने व्यवसायीले बताउँदै आएका छन्।

संस्थाका उपाध्यक्ष इन्द्र भण्डारी पनि विमानस्थलको विकास भित्रिँदा वर्षाैदेखि स्थापित व्यवसाय विस्थापित हुन नहुने बताउँछन्। ‘हामी नियन्त्रित बक्सभित्र रहेर उडान गर्न तयार छौं। दिनमा दुई घण्टा समय दिए हुन्छ,’ भण्डारीले भने, ‘विकासको श्रृंखलासँगै विमानस्थल भित्रिएको छ। तर, त्यससँगै प्याराग्लाइडिङ विस्थापित हुनु हुँदैन। पोखराको लागि मात्र नभइ नेपालकै लागि प्याराग्लाइडिङको महत्व बुझौंर बुझाउन सकौं।’ उनका अनुसार यो व्यवसायमा करिब एक अर्ब भन्दा बढी लगानी छ।  

पोखराका ६२ कम्पनिमा करिब २ हजार कामदार निर्भर रहेको उनले बताए। ‘हामीले सक्दो प्रयास गरिरहेका छौं। सकेसम्म बचाउनुपर्छ भन्नेमा दुईमत छैन,’ उनले भने, ‘यो हाम्रा लागि मात्र नभइ पर्यटकको मागमा निर्भर छ। दिनमा ६ सय जति उडान हुँदा धेरै ठूलो राहत पर्यटनमा पुगेको छ।’

महासचिव बलराम आचार्यले पनि दिनमा बढीमा दुई घण्टा समय दिएर पोखराको आकाशमा उडान भइरहेको प्याराग्लाइडिङ उडानलाई जोगाउनुपर्ने बताए। ‘दिनमा कम्तिमा दुई घण्टाको समय प्याराग्लाइडिङ उडानका लागि देउ भन्ने हाम्रो माग छ,’ उनले भने, ‘दिगो व्यवस्थापन हुन नसके यसले पर्यटनमा मार पर्छ।’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि विमानस्थलका कारण प्याराग्लाइडिङ क्षेत्र  चिन्तित बन्नुपरेको बताए। उनले पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडानलाई पोखरामै राखिरहन हरदम प्रयास गरिरहेको बताए।

‘पोखराको यो विमानस्थल अहिले नै चौबिसै घण्टा चल्ने होइन, त्यसैले दिउँसोको केही समय प्याराग्लाइडिङ उडानका लागि छुट्याएर व्यवस्थापन गर्ने अन्तिम प्रयास भइरहेको छ,’ उनले भने, ‘विमानस्थल सञ्चालन, ल्याण्डफिलसाइट व्यवस्थापन र प्याराग्लाइडिङको संरक्षण अहिलेको मुख्य मुद्दा छन।’  

पोखरामा भइरहेका साहसिक उडानका गतिविधि बन्द हुने हो भने पर्यटकको औषत बसाई अवधि झनै कम हुने उनले बताए। ‘अहिले पोखरामा पर्यटकको बसाई अवधि औषतमा दुई दिन छ, हामीले पाँच वर्षभित्र पाँदिन पुर्‍याउने लक्ष्य लिएका छौ,’ उनले भने, ‘त्यसका लागि पनि पदयात्रा, प्याराग्लाइडिङ जस्ता साहसिक पर्यटकीय प्रडक्ट बच्नुपर्छ।’ उनले केही गरी पोखराबाट विस्थापित हुनै परेमा अन्यत्र पनि सम्भावना खोज्न व्यवसायीलाई आग्रह गर।

संस्थाका अध्यक्ष कृष्ण भण्डारीले भने पोखराको आकाशमा वर्षाैदेखि उडान भइरहेको प्याराग्लाइडिङ विस्थापित हुँदा त्यसको मार पोखराको समग्र पर्यटन क्षेत्रमा पर्ने भएकोले विस्थापित हुन नदिने गरी सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए।

प्रकाशित: २५ असार २०७९ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App