बिहान सबेरै पोखराबाट काठमाडौंका लागि हवाई उडान सुरु भएको छ। बिहान सवा ६ बजे नै पोखराबाट काठमाडौंका लागि पहिलो उडान हुन थालेको पोखरा विमानस्थलले बताएको छ। एकाबिहानैको उडानले यात्रुलाई आउजाउमा सहज हुन थालेको एयरलाइन्सले बताएका छन्। बिहानैको उडानले पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने व्यवसायीको विश्वास छ।
हवाई क्षेत्रको नियमानकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौंको आन्तरिक पार्किङमा जहाज राख्ने ठाउँ अभाव भएको कारण देखाउँदै मोफसलका विमानस्थलमा ‘नाइट स्टप’ गर्न निर्देशन दिएपछि बुद्ध र गुण एयरलाइन्सले पोखरामै जहाजको रात्रीकालिन विश्राम गराउन थालेका छन।
काठमाडौंमा अधिकतम २४ वटा जहाजका लागि मात्र पार्किङस्थल रहेकोले बाँकीलाई बाहिर जानैपर्नै बाध्यकारी नियम प्राधिकरणले केहीदिन अघिदेखि लागु गरेको थियो। तर, यसअघि काठमाडौं बाहिरका विमानस्थलमा समस्या रहेको भन्दै वायुसेवा कम्पनिले जसोतसो काठमाडौंमै पार्किङ गर्दै आएका थिए। तर प्राधिकरणको निर्देशनपछि अहिले बुद्ध र गुणका बीचक्राफ्ट जहाज अहिले पोखरामै रात्रीकालिन बिश्राम हुन थालेको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए।
सुवेदीका अनुुसार बुद्ध र गुण एयरलाइन्सले बीचक्राफ्ट जहाजको स्वीकृति लिँदा नै पोखरा विमानस्थललाई ‘बेस’ बनाएर उडान गर्ने उल्लेख गरेकोले तिनै जहाज पोखरामा रात्रीकालिन बास बसाइएको हो। ‘पोखरा विमानस्थललाई आधार बनाएर उडान गर्ने भनेर स्वीकृति लिएकोले बुद्ध र गुणका बीचक्राफ्ट जहाज पोखरामै बास बस्न थालेको र बिहान सबेरै उडान भर्न थालेका छन,’ सुवेदीले भने, ‘बिहानैको उडानले यात्रुलाई सहज भएको छ। काम विशेषले बिहानै काठमाडौं जानुपर्ने यात्रुलाई सहज भएको छ।’
बुद्ध एयरले पोखरामै रात्रीकालिन बिश्रामको जहाजलाई बिहानैको उडानमा प्रयोग गरेको छ। बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालका अनुसार पोखराबाट बिहान ६ बजेर १५ मिनेटमा काठमाडौंका लागि उडान हुन थालेको छ। ‘बेलुुकी पोखरामा बास बसेको जहाजलाई बिहान सवा ६ बजे नै काठमाडौंका लागि उडान हुन्छ,’ बरालले भने, ‘यात्रुलाई काम विशेषले राजधानी जानुपर्दा सहज हुनेछ।’ यसअघि पोखराबाट काठमाडौंका लागि पहिलो उडान ७ः५० मा मात्र हुने गरेको थियो।
यस्तै अर्काे कम्पनि गुण एयरलाइन्सले अहिले पोखरामा रात्रीकालिन बिश्राम गराएको जहाजबाट बिहान ८ बजेका लागि काठमाडौं उडान गर्दै आएको छ। तत्कालका लागि बिहान ८ बजे उडान भएपनि यो समय अगाडि सारेर उडान गर्ने तयारी भईरहेको गुणका पोखरास्थित म्यानेजर विकास बरालले जानकारी दिए।
सामान्य अवस्थामा पोखरा विमानस्थल बिहान ६ बजे खुल्छ । त्यसपछि पोखराबाट जोमसोमका लागि उडान हुने गरेको थियो। अब भने बिहानै पोखराबाट काठमाडौंका लागि पनि उउडान हुन थालेको विमानस्थलले बताएको छ। अहिले पोखरा विमानस्थलबाट काठमाडौंका लागि मात्र दिनमा करिब डेढ दर्जन उडान भईरहेका छन। त्यसबाहेक पोखराबाट भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी सहित जनकपुर र सिमरा पनि उडान भईरहेको छ। बिहान सबेरैको उडानले पर्यटन क्षेत्रलाई पनि सहज बनाउने पर्यटन व्यवसायीको विश्वास छ।
प्रकाशित: २२ असार २०७९ १०:१७ बुधबार