कालिकोटका सबै स्थानीय तहका ग्रामीण सडक प्रयोगमा छैनन्। स्थानीय सरकारले पहिलो प्राथमिकतामा राखेर स्काभेटरले खनेका सडक अहिले प्रयोगविहीन भएका छन्। कसले कति छिटो गाउँमा सडक पुर्याउने भन्ने होडबाजीबीच विनाप्राविधिक सल्लाहमा खनिएका सडक पानी परेसँगै प्रयोगविहीन भएका हुन्।
रिङरोडको अवधारणामा नरहरिनाथ गाउँपालिकाले वडानम्बर १ को लालीघाट बजारदेखि कोटवाडाको धारी हुँदै गाउँपालिका सडक खन्योे। सडकका प्राविधिक पनि स्काभेटर चालक भए। उकालो सडक त्यसैमा साँघुरो भएकाले गाडी चढाउन मुस्किल नै थियो।
त्यसैमा वर्षाको पानीले सडकमा रहेको माटोभरी बगाएपछि सडक कि खोला चिन्नै नसकिने अवस्थाका छन्। रेडक्रस सोसाइटी जिल्ला शाखा कालिकोटका सभापति बलप्रसाद सज्यालले विपद्को मापन नगरी हतारमा खनिएका सडकको सबै ठाउँमा दुर्दशा उस्तै रहेको बताए।
उनले भने, ‘कसले कहिले गाडी पुर्याएको भनेर घोषणा गर्न प्रतिस्पर्धा भयो। त्यसैले कुनै स्थानीय तहले आफ्नै स्काभेटरले सडक खने भने केहीले भाडामा ल्याएर डोजर चालकलाई सबै अधिकार दिएर सडक पालिकासम्म पुर्याएको घोषणा गरे तर ती सडक १५ दिनसम्म पनि चल्न सकेनन्, सुक्खा मौसममा धुलाम्मे हुने सडक पानी परेसँगै हिलाम्मे हुने र गाडी चल्न नसक्ने हुन्छन्।’
नरहरिनाथ गाउँपालिका जाने सडकमा अहिले बल्ल बल्ल टिपर मात्र चल्ने गरेका छन्। त्यो पनि कोटवाडामा रहेको सुन्थराली एयरपोर्ट कालोपत्रेका लागि गिटी ढुवानी भइरहेको छ। चालक अमर लामाले २० वर्षको टिपर चलाउँदाको सबैभन्दा जोखिम सडक यही देखेको सुनाए। उनले भने, ‘टिपर पनि जोखिम बाटोमै चलाउनुपर्छ तर यहाँको जस्तो जोखिम कतै देखिनँ।’
जिल्लाको रास्कोट नगरपालिकाले खनेका सहायक सडक पनि उस्तै जीर्ण छन्। पोत्मारा विद्युत् हाउस जाने सडक, चुडीमूल सडक फुकोटको तल्लो सडकमा आजभोलि गाडी चल्नै छोडेका छन्। शुभकालिकाको डौठादेखि माथिको सडक पुरै बन्द छ।
पानीले पुरै सडक चिरा पारेपछि गाईवस्तुलाई आउजाउ गर्न पनि कठिन भएको स्थानीय रमेश सुनारले बताए। उनले भने, ‘गाईवस्तुका साथै पैदल यात्रा गर्नेसम्मको सडक छैन, डोजरले खनेका सडक सबै ठाउँमा यस्तै छन्।’ शान्नीत्रिवेणीको मुर्मादेखि मेहेलमुडी जोड्ने सडकको पनि हालत उस्तै छ।
नवनिर्वाचित उपाध्यक्ष पार्वतीसिंह सज्यालले सबैभन्दा पहिला अस्तव्यस्त रहेका सडकको सुधार गर्ने काम आफ्नो पालामा हुने बताइन्। उनले भनिन्, ‘पहिला सडकलाई मर्मत गर्छौं, त्यसपछि मात्र अन्य सडकका काम गर्ने अध्यक्ष र आफ्नो सल्लाह भएको बताइन्। जिल्लाभरिका सडक प्राविधिक मापदण्डबेगर सडक खनेकाले पनि अहिले जोखिम बढिरहेको छ।
स्काभेटरको जिम्मा दिएर सडक निर्माण भए। अहिले सानो पानी पर्दा पनि ठुलो पहिरो आउने, सडक चिरा पर्ने, बाढीको जोखिम पनि उस्तै बढेको जिल्ला विपद् व्यवस्थापन समितिको ठहर छ। प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सबैभन्दा बढी स्काभेटरले खनेका सडक अवरोध भएको बताए। उनले मापदण्डविपरीत खनिने यस्ता सडकले यात्रा गर्ने सबैलाई समस्या हुने बताए।
प्रकाशित: १७ असार २०७९ ०६:२३ शुक्रबार