४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

एघार महिनामा साढे ३७ अर्ब राजस्व संकलन

विराटनगर भन्सार कार्यालयले साढे ३७ अर्ब रुपैयाँ राजस्व असुली गरेको छ। विराटनगर भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा कार्यालयले ३७ अर्ब ४७ करोड ६ लाख ७७ हजार रुपैयाँ राजस्व असुली गरेको हो। 

भन्सार कार्यालयको तथ्याँक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा लक्षको ८२.५५ प्रतिशत मात्रै राजस्व असुली गर्न विराटनगर भन्सार कार्यालय सफल भएको छ। चालु आर्थिक वर्षको ११ महिनाका लागि विराटनगर भन्सारको लक्ष ४५ अर्ब ३८ करोड ३९ लाख ८१ हजार रुपैयाँ तोकिएकोमा विराटनगर भन्सार कार्यालयले करिब ८ अर्ब रुपैयाँ कम राजस्व असुली गरेको छ। 

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनादेखि नै लक्ष अनुसार राजस्व संकलन गर्न सकिरहेको थिएन। पछिल्ला महिनाहरूमा भने आयातमा कडाइ गर्ने सरकारी नीतिले समेत राजस्व असुली थप प्रभावित बनाएको छ। कार्यालयको तथ्याँक अनुसार साउन महिनामा ९६.५६ प्रतिशत राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयले जेठमा  आइपुग्दा लक्षको ७४ .२४ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ।  

चालु आर्थिक वर्षको साउन महिनामा विराटनगर भन्सार कार्यालयले ३ अर्ब ४६ करोड ९१ लाख ६१ हजार रुपैयाँको लक्ष पाएकोमा ३ अर्ब ३४ करोड ९६ लाख ९८ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। भदौ महिनामा ४ अर्ब १६ करोड ८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। असोज महिनामा ४ अर्ब ९ करोड ४७ लाख २८ हजार लक्ष तोकिएकोमा ३ अर्ब ७९ करोड २४ लाख १९ हजार  रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। 

यस्तै कात्तिक महिनामा ४ अर्ब २३ करोड २३ लाख २५ हजार रुपैयाँ लक्ष तोकिएकोमा ३ अर्ब ५६ करोड ५ लाख १२ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। मंसिरमा विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब १७ करोड ५६ लाख ३६ हजार रुपैयाँ लक्ष तोकिएकोमा ३ अर्ब ९४ करोड ४० लाख ७४ हजार रुपैयाँ मात्रै राजस्व संकलन  गरेको छ।  

यस्तै पुस महिनामा  ४ अर्ब ३० करोड ५ लाख ६८ हजार रुपैयाँ राजस्वको लक्ष पाएकोमा विराटनगर कार्यालयले ३ अर्ब २७ करोड ६१ लाख ७० हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। माघ महिनामा विराटनगर भन्सारले ४ अर्ब ४४ लाख ५३ हजार रुपैयाँ लक्ष पाएकोमा ३ अर्ब ५ करोड १५ लाख ६६ हजार रुपैयाँ राजस्व असुली गरेको छ। फागुन महिनामा ४ अर्ब १६ करोड २२ लाख ६२ हजार रुपैयाँ लक्ष तोकिएकोमा ३ अर्ब ४० करोड २९ लाख ६० हजार रुपैयाँ मात्रै असुली भएको छ। 

चैत महिनामा ३ अर्ब ३२ करोड ५२ लाख राजस्व लक्ष तोकिएकोमा ३ अर्ब २७ करोड ४४ लाख ७९ हजार रुपैयाँ असुली गरेको छ। वैशाख महिनामा ४ अर्ब २४ करोड २ लाख ९९ हजार रुपैयाँ तोकिएकोमा २ अर्ब ८० करोड ७५ लाख ९१ हजार रुपैयाँ संकलन गरेको छ। 

यस्तै जेठ महिनामा ४ अर्ब २१ करोड ८४ लाख ६७ हजार रुपैयाँ राजस्व लक्ष तोकिएकोमा ३ अर्ब १३ करोड १४ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको  विराटनगर भन्सार कार्यालयले जनाएको छ। 

चालु आर्थिक वर्षको ११ महिना र गत आर्थिक वर्षको ११ महिनाको तुलना गर्दा विराटनगर भन्सार कार्यालयले ३८ करोड रुपैयाँ मात्रै राजस्व बढाउन सफल भएको छ। गत आर्थिक वर्षको ११ महिनामा विराटनगर भन्सार कार्यालयले ३७ अर्ब ९ करोड ५६ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

प्रकाशित: ८ असार २०७९ १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App