४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुर्खेतमा पेट्रोल अभाव

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोल अभाव अँझै हट्न सकेको छैन। भारतीय नाकाबाट तेल नआउँदा ५ दिनदेखि पेट्रोलको अभाव भएको हो।

पम्पमा पेट्रोल आए पनि पेट्रोल भर्नेको भिड कम हुन सकेको छैन। पेट्रोलको माग बढी भएकाले आएको पेट्रोलले धान्न नसकेको पेट्रोल पम्प सञ्चालक बताउँछन्। दुई दिनयता भिड कम भए पनि पेट्रोल पर्याप्त नआइसकेको जनाइएको छ। भन्सारमा विद्युतीय सिस्टम परिवर्तन गरेकाले इन्धन बोकेका नेपाल आउने ट्यांकर नाकामै रोकिँदा तेल अभाव भएको निगमले जनाएको छ।

आइतबारदेखि नै वीरेन्द्रनगरका पेट्रोल पम्पमा सवारीसाधनको भिड हुन थालेको हो। मंगलबारदेखि पेट्रोलको हाहाकार कम हुने आयल निगम कर्णाली प्रादेशिक कार्यालयले जानकारी दिए पनि बिहीबारसम्म अभाव कायमै छ। मंगलबार वीरेन्द्रनगरका ५ वटा पम्पमा ४ हजार लिटर पेट्रोल झरेको थियो।

त्यसयता पम्पहरूमा पेट्रोल झर्ने क्रम भए पनि माग बढी हुँदा भिड देखिएको हो। दिपमाला, बुलबुले, नारायण, गंगामाला र शंकर पेट्रोल पम्पमा पेट्रोल झरिरहेको छ। भन्सारमा विद्युतीय सिस्टम परिवर्तन गरेकाले कोर्डमा समस्यामा आउँदा नेपाल आउने इन्धन बोकेका गाडी नाकामै रोकिएका र तेल अभाव भएको आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले बताए। ‘भारतीय नाकामा सुर्खेत आउने ५ लाख लिटर पेट्रोल र १२ लाख लिटर डिजेल रोकिएको छ,’ प्रमुख केसीले भने, ‘मंगलबारदेखि धनगढीबाट ल्याएर भए पनि वितरणलाई सहज बनाइरहेका छौं।’ 

प्रकाशित: ३ असार २०७९ ०१:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App