बर्खायाम सुरु भएलगत्तै चल्ने रासायनिक मलको ‘पिरलो’ ले किसानलाई यस वर्ष पनि छाडेन। खेतीपातीको जोरजाममा लागिसकेका उनीहरूलाई विगतका वर्षजस्तै यसपटक पनि ‘फसल’ कसरी सपार्ने भन्ने चिन्ताले सताइरहेको छ। किसानहरू जहिल्यै बाहिरबाट आयात हुने रासायनिक मलकै पर्खाइमा हुन्छन्।
‘धान खेतीको समय सुरु भइसक्यो’, तुलसीपुर बेलझुन्डिका किसान माधव बस्नेतले भने, ‘खेतीपातीको समय सुरु भएर पनि के गर्नु? खेतीका लागि मल छैन।’ अर्कातिर जिल्लामा दशकअघि खुलेको प्रांगारिक मल उद्योग मल बिक्री गर्न नसकेर बन्द छ। यो मलको आवश्यकता किसानले देखेनन्।
घोराही उपमहानगरपालिका १७ बेलभारमा २०७१ सालमा स्थापना भएको सूर्य शक्ति जैविक प्रांगारिक मल उत्पादन केन्द्र प्रा.लि. जेनतेन चलिरहेकै थियो। केही वर्षसम्म लगातार कोरोना संक्रमण भएसँगै उद्योग बन्द भयो। उद्योग सञ्चालक महेश चौधरीले उद्योगै बन्द गरिदिए।
‘प्रांगारिक मलले के खेती सप्रिएला र भनेर किसानहरूले सुरुमा विश्वास गरेनन्’, चौधरीले भने, ‘तथापि फाट्टफुट्ट किसानले खरिद गरिरहेका थिए, तर कोरोना भाइरस संक्रमण भएपछि उद्योग सञ्चालनमा समस्या आयो। अन्ततः बन्द गर्नुपर्यो।’
२०७१ मा स्थापना भएको यो उद्योगले दुई वर्षपछि २०७३ मा नेपाल कृषि अनुसन्धान केन्द्र नार्कबाट अनुमति प्राप्त गरेको थियो। मल उत्पादनका लागि चाहिने कच्चा पदार्थ पचास प्रतिशत स्थानीय स्तरमै जोहो हुन्थ्यो भने पचास प्रतिशत कच्चा पदार्थ बाहिरबाट आयात गर्नुपथ्र्यो।
‘यहाँ प्रांगारिक मल उत्पादन गर्नका लागि कच्चा पदार्थ प्रशस्तै छ’, चौधरी भन्छन्, ‘यसर्थ मल उत्पादनमा समस्या नै छैन।’ तर किसानहरूले यसको उपयोगिताबारे प्रश्न उठाए। ‘उद्योग भएकै स्थानका किसानले पनि यो मल उपयोगी हुन्छ भनेर पत्याएनन्’, चौधरी भन्छन्, ‘तर किसानहरू उही रासायनिक मलकै खोजीमा भौंतारिइरहे।’
चौधरीले यो मल रासायनिक मलजस्तै गुणस्तरीय रहेको बताए। नार्कबाट अनुमति प्राप्त प्रांगारिक मल भएकाले किसानले रासायनिक मल युरिया र डिएपीको विकल्पमा प्रयोग गर्न सक्ने उनको भनाइ छ। ‘उत्पादनसँगै जमिनको उर्वराशक्ति बचाइराख्नका लागिसमेत प्रांगारिक मल आवश्यकता छ’, उनले भने, ‘तर चेतनाको कमीका कारण छोटो समयमा बढी उत्पादन लिन किसानहरू रासायनिक मल प्रयोग गर्छन्।’
प्रांगारिक मलप्रतिको किसानहरूको अविश्वास अनि कोरोना महामारीका कारण घरायसी बन्न पुगेको यो मल उद्योगलाई थप स्तर वृद्धि गरी सञ्चालन गर्ने योजनामा महेश छन्। यसअघि दैनिक १० देखि १५ क्विन्टल मल उत्पादन गर्न सक्ने क्षमता रहेको योे उद्योगलाई अब प्रतिघन्टा ७ देखि १० क्विन्टल मल उत्पादन गर्ने मेसिन ल्याउँदै छौँ।’
असारको पहिलो सातादेखि पुनः उद्योगबाट मल उत्पादन गर्ने चौधरीको योजना छ। जिल्लाको मलको मागलाई यो उत्पादनले पूरै थेग्ने दाबी उनको छ। ‘जिल्लामा मलको मागलाई हाम्रो उद्योगको उत्पादनले पूरै थेगन सक्छ’, उनले भने ‘तर प्रांगारिक मलप्रतिको विश्वास कायम हुन जरुरी छ।’
केही किसानले प्रयोग गरेको यो मलको प्रभावकारिता केही स्थानमा देखिएपछि माग बढ्न थालेको उनको भनाइ छ। ‘हामीले उत्पादन गरेको मल केही स्थानमा धान खेतीसँगै तरकारी र फलपूmल खेतीका लागि प्रयोग भयो। यो मल प्रयोग गर्दै आएका किसानले माग गरिरहेका छन्’, उनले भने। यस उद्योगबाट प्रांगारिक डिएपी र कम्पोष्ट मल उत्पादन गर्ने तयारीमा भइरहेको उनले बताए।
सरकारले साना उद्योगलाई बचाउनका लागि आर्थिक सहुलियतसँगै कृषि व्यवसायमा प्रांगारिक मलको प्रयोग बढाउने वातावरण बनाउन सके किसानले बर्सेनि भोग्दै आएको रासायनिक मलको समस्या हटाउन सकिने उनी दाबी गर्छन्।
प्रकाशित: ३१ जेष्ठ २०७९ ०३:१४ मंगलबार