२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

महिला उद्यमीहरूद्वारा मन्त्रालयमा सुझाव पेश

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरूको विकास, विस्तार एवं प्रवर्द्धनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारका सम्बन्धमा उद्योग मन्त्रालयमा लिखित सुझाव पेश गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई बुधवार मन्त्रालयमा भेटी उक्त सुझाव पेश गरेको हो। सातै वटा प्रदेशका महिला उद्यमी व्यवसायीहरू र महिला उद्यमी समितिबाट विभिन्न मितिमा सञ्चालित कार्यक्रमहरूबाट आएका सुझावहरूलाई समेटी उक्त सुझाव तयार पारिएको हो।

सुझावमा सहुलियतपूर्ण कर्जा, सूचनाको पहुँच, पुनरकर्जा, परियोजना कर्जा, वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम, दर्ता नगरी सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरूलाई दर्ता प्रक्रियामा लैजाने, लगायतका विषयहरू समेटिएका छन्।

भेटवार्ताका क्रममा उद्योग सचिव पोखरेलले महिला उद्यमीहरूका लागि व्यावसायिक महत्त्वका कार्यक्रम ल्याउने, व्यापार मेलामा महिला उद्यमीहरूलाई प्राथमिकता दिने, वित्तीय साक्षरता लगायतका अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरूका लागि महिला उद्यमीहरूसँग सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए। उनले कृषि क्षेत्रको प्रवर्द्धनका लागि खेतदेखि उद्योगसम्मको अवधारणा ल्याएको र यसको डिजाइन गर्दा महासंघसँग सहकार्य गर्ने पनि बताए।

सोही दिन महिला उद्यमी टोलीले वाणिज्य सचिव डा गणेशप्रसाद पाण्डेसँग भेट गरी सुझाव पेश गर्‍यो। भेटघाटको क्रममा सचिव पाण्डेले प्राप्त सुझावहरूबारे अध्ययन गरी आफ्नो कार्य क्षेत्रमा परेका सुझावहरू कार्यान्वयमा जोड दिने बताए।

महासंघको महिला उद्यमी विकास समितिका सभापति रीता सिंहको नेतृत्वमा समितिका ७ सदस्यीय टोलीले भेटवार्ता गरेको थियो।

प्रकाशित: २९ जेष्ठ २०७९ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App