९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

वन्यजन्तुको आक्रमण बढ्दा छुट्टाएको राहत बजेट नै सकियो

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती तथा वनक्षेत्रमा वन्यजन्तुबाट भएको मानवीय र भौतिक क्षतिको राहत दिन बजेट अभाव भएको छ।

आर्थिक वर्षका लागि छुट्टाएको बजेट सकिए पछि केही पीडितले राहत पाउन सकेका छैनन्। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुंगाना अर्थ मन्त्रालयबाट बजेट समयमै निकासा हुन नसक्दा राहत रकम वितरण गर्न कठिन भएको बताउँछन्।

‘वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका नौ जनाका परिवारलाई राहत रकम दिन बाँकी छ। बाली नालीको क्षति दिन त सकिएको छैन,’ ढुंगानाले भने, ‘राष्ट्रिय निकुञ्ज विभागले ताकेता गरेपनि अर्थमन्त्राल सकारात्मक देखिँदैन। यसका सबै पक्षले पहल गरिदिनु पर्‍यो।’

मानव बस्ती तथा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले मानवीय र भौतिक क्षति पुर्‍याएमा पीडित पक्षलाई राहतदिने व्यवस्था छ। निकुञ्ज भित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई १० लाख रूपैयाँ दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ।

त्यस्तै सामान्य घाइतेको अवस्थामा २० हजार, गम्भीर घाइतेको न्यूनतम दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ। जंगली जनावरले अन्नबालीमा क्षति पुर्‍याएमा बढीमा १० हजार, घरगोठ भत्काएमा १० हजार र पशुधनको क्षति गरेमा ३० हजारसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ।

राहत पाउन घटना भएको ३५ दिन भित्र आवश्यक कागज पत्रसहित निकुञ्जमा निवेदन दिनुपर्ने हुन्छ। चालु आर्थिक वर्ष मानव मृत्यु, घाइते, पशुधन क्षति, घरगोठ र खाद्यन्नबाली क्षतिको २ करोड ८३ लाख ९५ हजार रुपैयाँ बराबरको राहत वितरणका लागि समितिले सिफारिस गरेको छ।

त्यसमध्ये १ करोड ९० लाख रुपैयाँ बराबरको राहत वितरण भएको छ। बाँकी रकम अर्थ मन्त्रालयबाट स्वीकृत हुन नसक्दा वितरण गर्न नसकिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन्। ‘मानव वन्यजन्तु द्वन्द्वमा हुने घटनाको राहत वितरण गर्न ९३ लाख ६३ हजार ९ सयको रुपैयाँ बाँकी छ। यसका लागि निकुञ्ज विभागमा पत्र काटि सकेका छौँ, ’उनले भने, ‘अर्थ मन्त्रालयबाट स्वीकृत हुँदा बित्तिकै वितरण गर्दछौँ।’

निकुञ्जले माघ महिनादेखि निवेदन दिएका व्यक्तिहरुको राहत रकम उपलब्ध गराउन सकेको छैन। निकुञ्जले मृत्यु भएका सुकबहादुर कुमाल, कुलबहादुर गुरुङ, पवन कटुवाल, तिजा सर्कीनी, सुरेश सुनार, नारायण बहादुर दाहाल, रामप्रसाद धमलाका परिवारलाई राहत रकम दिन बाँकी छ।

त्यस्तै मावन घाइते भएका व्यक्तिलाई २ लाख १५ हजार, पशुधन क्षतिको ६ लाख ८५ हजार, घरगोठ भण्डार क्षतिको ४० हजार, खाद्यन्न बाली क्षतिको १४ लाख  २३ हजार रुपैयाँ वितरण गर्न बाँकी रहेको तिवारीले जानकारी दिए। रकम निकासा समयमै हुन नसक्दा आफूहरुलाई समस्या हुँदै आएको पीडितहरुको भनाइ छ।

‘हामीले पाउनुपर्ने सेवा सुविधा समयमै पाउर्नुपर्ने भन्ने हो,’ चैत्र २ गते निकुञ्जको सुरक्षमा खटिँदा गैडाको आक्रणबाट मृत्यु भएका पवन कटुवालकी श्रीमती नम्रता खत्रीले भनिन्, ‘फलोअप गरिरहेका छौँ। पाउन सकिएको छैन।’ उनको घर उदयपुरको त्रियुगा नगरपालिका ११ गाइघाट हो। टाढाबाट निकुञ्जमाआउन समेत समस्याहुने उनले बताइन्।

दुई बर्षदेखि धादिङ, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवपरासी (बर्दघाट सुस्तापश्चिम) र चितवनमा वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति पुर्‍याएका परिवारलाई चितवन राष्ट्रिय निकुञ्जमार्फत नै रकम वितरण हुँदै आएको छ। मानिसको मृत्यु भएमा प्रहरीको रिपोर्ट, पशु र खाद्ययान्न बालि क्षति भएमा स्थानीय तहको सम्बन्धित शाखाको मुल्याङ्कनसहितको सिफारिसका आधारमा मध्यवर्ती उपभोक्ता समितिले सिफारिस गर्छ।

त्यसको निर्णय निकुञ्जले गर्दै आएको छ। निकुञ्ज भित्र वन्यजन्तुको संख्या वृद्धि हुँदा राहत रकम उपलब्ध गराउन समस्या आएको निकुञ्जका प्रमुख हरिभद्र आचार्य बताउँछन्। ‘निकुञ्ज भित्र जंगली जनावरको संख्या बढेको। सोही अनुरुपमा वन्यजन्तुले मानवीय तथा भौतिक क्षति गरेका छन्,’ उनले भने, ‘अघिल्ला वर्षको घटनालाई हेरेर बजेट विनियोजन गर्‍यौँ। त्यसले पुगेन। हामीले रकम माग गरेका छौँ।’

वन्यजन्तु वृद्धि भएपछि राज्यलाई आर्थिक भार थपिँदै गएको उनले बताए। ‘वन्यजन्तु बढ्दा मानव र वन्यजन्तुबीच द्वन्द्व हुन्छ,’ उनले भने, ‘यसरी द्वन्द्व बढ्दै जानु भनेको राज्यलाई आर्थिक चुनौती थपिँदै जानु हो।’ उनले अन्य रकम कटौती गरेर भए पनि राहत रकम उपलब्ध गराउने बताए।

यस वर्ष वन्यजन्तुको आक्रमणबाट २४ जना मानिसको मृत्यु भएको छ। सबैभन्दा बढी बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएका छन्। गैडाको आक्रमणबाट ६, जंगली हात्तिको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। ४८ जना मानिस घाइते भएका छन्।

त्यस्तै १५२ वटा पशुको क्षति पुगेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। २० वटा घरगोठ र ५८६ वटा स्थानमा अन्नबालीमा क्षति पुर्‍याएको निकुञ्जले जानकारी दिएको छ। त्यसमध्ये अन्नबालीमा मात्रै ३४ लाख ७ हजार रुपैयाँ बराबरको क्षती भएको छ। त्यस्तै १७ लाख ७३ हजार रुपैयाँ बराबरको पशु क्षति भएको छ। निकुञ्जको कोर एरियामा वन्यजन्तुले आक्रमण गरेमा राहत रकम पाउँदैनन्।  

प्रकाशित: २२ जेष्ठ २०७९ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App