१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाली ब्रान्डलाई चिनाउँदै ‘ब्रान्ड नेपाल’

अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनहरूको उल्लेख्य माग छ। यही बजार बुझेका युवापुस्ता पछिल्लो समय उत्पादनमूलक व्यवसायमा पनि आकर्षित भएका छन् तर यसमा एउटा जटिल चुनौती सधैं उनीहरूका अगाडि उभिने गरेको छ।

त्यो हो नयाँ उत्पादनको ‘ब्रान्डिङ’ मा समस्या ! अन्तर्राष्ट्रिय बजारले उत्पादन खरिद गर्नुपूर्व त्यसको विश्वासनीयता र गुणस्तर खोज्छ। अर्थात् लोकप्रियता र विश्वासनीयताका लागि त्यो उत्पादन भरोसायुक्त ब्राण्ड (कम्पनी) बाट उत्पादित हुनुपर्छ। जुन नयाँ उद्यमशील युवाहरू छरितो ढंगबाट कायम गर्न कठिन हुन्छ।

अन्तर्राष्ट्रिय बजार मात्र होइन, अहिले नेपाली उपभोक्ताले समेत ‘ब्रान्डकै उत्पादन’ पछ्याउन थालेका छन्। यसले पनि नयाँ उत्पादकका लागि आफ्नै ब्रान्ड कायम गरेर व्यवसायअघि बढाउनुपर्ने चुनौती थपिएको छ। जुन निकै सकसपूर्ण छ।

उत्पादक र नयाँ उद्यमीहरूले झेल्नुपर्ने यस्तै समस्याको समाधान ब्रान्ड नेपाल बन्दै गएको छ। जसले नेपाली उत्पादनहरूलाई उपभोक्तामाझ पुर्‍याउँदै त्यसको पहिचान र प्रवर्द्धन गर्ने काममा योगदान पुर्‍याइरहेको छ।

‘हाम्रो मूल उद्देश्य भनेको नेपाली उत्पादनहरूको ब्रान्ड कायम गर्ने र त्यसलाई स्वदेशीदेखि अन्तर्राष्ट्रिय बजारसम्म परिचित र लोकप्रिय बनाउन मदत गर्ने हो’, ब्रान्ड नेपालका सञ्चालक सुरेशराज ज्ञवाली भन्छन्-‘यसका लागि हामी विभिन्न इभेन्टहरू सञ्चालन गर्छौं, अनलाइन प्लेटफर्म मार्फत प्रचारप्रसार गर्छौ र अनलाइन मार्केटिङसम्म गरिदिन्छौं।’

ब्रान्ड नेपालको अवधारणा पहिलो पटक सन् २०१८ मा रेडियो नागरिकले ल्याएको थियो।   रेडियो नागरिकले सो अवधारणा अनुसार सोही वर्ष नेपाली ब्रान्डको पहिचान र प्रवर्द्धनका लागि ‘नेपाली ब्रान्ड कार्निभल’ (मेला) को आयोजना गरेको थियो। त्यसबाट उत्पादक र उपभोक्ता दुबै उत्साही भए। त्यसपछि त्यो मेलाको फेरि माग भएपछि रेडियो नागरिकले नै २०१९ मा पनि अर्को मेलाको आयोजना गर्‍यो।

‘दुवै कार्निभलमा हामीले गजपको सफलता र समर्थन प्राप्त गर्‍यौं’-सञ्चालक ज्ञवाली भन्छन्। लगत्तै सन् २०२० मा कोभिड–१९ को महामारी फैलियो। जहींतहीं बन्दाबन्दीको अवस्था सिर्जना भयो। त्यसमा नेपाली ब्रान्डले व्यापारका लागि र उपभोक्ताले उपभोग्य सामानका लागि अनलाइन प्लेटफर्मको आवश्यकता महसुस गर्नथाले।

यही मौकामा रेडियो नागरिकको कार्निभल आयोजक समूहमा काम गरेका चार जना युवा ज्ञवाली, प्रेशा श्रेष्ठ, शुभाशिषदास श्रेष्ठ र सोमच श्रेष्ठले अनलाइन प्लेटफर्मको अवधारणा ल्याए। त्यसपछि चारै जनाको अग्रसरतामा ‘ब्रान्ड नेपाल’ बनेको हो। ब्रान्ड नेपाल एउटा डिजिटल प्लेटफर्म हो। जुन २०२० बाट द ब्रान्ड नेपाल डटकम नाममा सञ्चालनमा छ।

‘हामीले यसबाट नेपाली ब्रान्डको पहिचान, प्रवर्द्धन र अनलाइन मार्केटिङको काम गरिरहेका छौं’, सञ्चालक समूहकी प्रेशा भन्छिन्–‘यसले नेपाली ब्रान्डलाई मनग्य फाइदा पुगिरहेको छ भने डिजिटल प्लेटफर्मबाट उपभोक्ताले पनि नेपाली ब्रान्डको गुणस्तरीय र भरपर्दो उत्पादनबारे जानकारी र उपभोग गर्न पाइरहेका छन्।’ ब्रान्ड नेपालसँग अहिले ४०–५० नेपाली ब्रान्डहरू साझेदारी गरिरहेको उनले बताइन्।

ब्रान्ड नेपालले अनलाइन प्लेटफर्म, इभेन्ट प्लेटफर्मका साथै ब्रान्डको ‘इकोसिस्टम’का लागि पनि काम गरिरहेको सञ्चालक ज्ञवालीले बताए। उनले भने- ‘हामी बनेका ब्रान्डलाई चिनाउने, बजारीकरण गर्ने मात्र नभई नयाँ ब्रान्ड बनाउन पनि मदत गर्छौ।’ त्यसका लागि कम्पनी दर्ता, ब्रान्ड निर्माणका लागि कानुनी सेवाका साथै अनलाइन पोर्टल निर्माणमा समेत सघाउ पुर्‍याउने गरिरहेको उनले बताए।

‘इभेन्ट प्लेटफर्ममा पनि जोड’

ब्रान्ड नेपालले अनलाइन प्लेटफर्ममा काम सुरु गरिसके पनि इभेन्ट प्लेटफर्मलाई पनि निरन्तरता दिएको छ। रेडियो नागरिकले सुरु गरेको ब्रान्ड नेपाल कार्निभल इभेन्टलाई ब्रान्ड नेपालले निरन्तर अघि बढाउने जनाएको छ।

यसै क्रममा शनिबार ललितपुरको भनिमण्डलमा ‘नेपाली ब्रान्ड कार्निभल’(मेला)को आयोजना गरिएको छ। जहाँ ५० भन्दा बढी नेपाली ब्रान्डले सहभागिता जनाएका छन्। जसमा खाना, लत्ताकपडा, गरगहना, घरायसी सामग्री, जुत्ता, सौन्दर्य सामाग्रीहरू, फलफूलका बोटविरुवा, ग्याजेट, विद्युतीय सामग्रीहरू लगायतका ब्रान्डहरू सहभागी थिए।

रेडियो नागरिकले सुरु गरेको यो मेलाको यो चौथो संस्करण रहेको ब्रान्ड नेपालकी सञ्चालक प्रेशाले बताइन्। ‘यसअघि हामीले वार्षिक गर्ने गरेका थियौ। अब हरेक सिजनमा गर्छौ। त्यसैले अहिले मनसुन संस्करण भनेका छौं’ उनले भनिन्-‘यसको आवश्यकता र माग व्यापक भएकाले यसको दायरा बढाउने निर्णयमा पुगेका छौं।’ 

प्रकाशित: ८ जेष्ठ २०७९ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App