२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

२० वर्षममा नेपाली बिजुली बंगलादेश पुग्ने : जाइका

काठमाडौं- बंगलादेशले आगामी २० वर्षभित्र नेपाल, भारत र भुटानबाट ८ हजार मेगावाट बिजुली सजिलै किन्न सक्ने आधार रहेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को एक अध्ययनले पत्ता लगाएको छ।

बंगलादेशले सन् २००५ लाई आधार वर्ष मानेर सन् २०३५ सम्म विद्युत आपूर्ति र माग प्रक्षेपण गरेर छिमेकी देशबाट बिजुली किन्ने योजना अघि सारेको छ। यसैका आधारमा तीन देशबाट उक्त परिमाणको बिजुली किन्न सक्ने देखिएको हो।

नेपाल, भारत र भुटानबाट बिजुली किन्ने आधार तय गर्न बंगलादेशसँग मिलेर जलविद्युत आयोजनामा लगानी गर्न आफू तयार रहेको जाइकाले जनाएको छ। अन्य लगानीकर्ताले बंगलादेशसहित नेपाल, भारत र भुटानका आयोजनामा लगानी गरी त्यहाँबाट बिजुली किन्ने बलियो आधार रहेको बंगलादेशबाट प्रकाशित 'द फाइनान्सियल एक्सप्रेस' अनलाइन दैनिकमा उल्लेख छ।

बिबिआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) देशको ऊर्जा विकासका लागि समेत जाइकासहित अन्य लगानीकर्ता पनि जलविद्युत आयोजनामा लगानी गर्न तयार रहेको जनाइएको छ। उक्त अनलाइन दैनिकका अनुसार चार देशको उप–क्षेत्रीय सहकार्यका आधारमा बंगलादेशले भारतसँग मिलेर नेपाल, भारतको मेघालय र भुटानमा लगानी गर्न सक्ने पनि अध्ययनले देखाएको छ।

क्षेत्रीय विद्युत व्यापारका लागि जापानसमेत जलविद्युत आयोजनामा लगानी गर्न तयार रहेको जाइकाको अध्ययनमा उल्लेख छ। जाइकाले देशको विद्युत माग पूरा गर्न छिमेकी देशका आयोजनामा लगानी गर्न पनि बंगलादेशलाई सुझाव दिएको छ। बंगलादेशमा हुन गइरहेको जलविद्युत सम्बन्धी कार्यशाला गोष्ठीमा जाइकाले यस्तो अध्ययन तयार पारिदिएको जाइकाका एक उच्च अधिकारीले नागरिकलाई बताए।

अध्ययनअनुसार पर्याप्त लगानी गर्न सके तीन देशबाट बंगलादेशले सन् २०२० सम्म १ हजार ५० मेगावाट, सन् २०२५ सम्म ३ हजार ५ सय मेगावाट, सन् २०३० सम्म साढे ५ हजार मेगावाट र सन् २०३५ सम्म ८ हजार मेगावाट आयात गर्न सक्नेछ। अध्ययनले तीन उच्च क्षमताका प्रसाराण लाइनमार्फत बिजुली आयात गर्नसमेत बंगलादेशलाई सुझाएको छ।

७६५ केभी प्रसारण लाइन आसामको बनगाई गाउँदेखि पुर्नियाबाट बंगलादेशको जमालपुर वा बारापुकुरिया, ८०० केभी रंगिया/रौटा (आसाम) हुँदै उत्तरपूर्व/पश्चिम क्षेत्रबाट जमालपुर वा बारापुकुरिया र ४०० केभीको सिल्चारमेघ्नाघाट/भुल्तानदेखि बहरामपुरसम्म लैजान सकिनेछ।

पहिलो विकल्पअनुसार भारतीय जलविद्युत लगानीकर्ता र बंगलादेश विद्युत विकास बोर्डको संयुक्त लगानीमा भारतको मेघालयमा १ हजार मेगावाट बराबरका आयोजना बनाउन सक्ने जाइकाले अध्ययन गरेको छ। यस्तै दोस्रो विकल्पमा भारतको ५०, बंगलादेशको ३५ र जापानको १५ प्रतिशत लगानीमा मेघालयमै आयोजना बनाउन सकिनेछ।

बिजुली आयातका लागि १ हजार २ सय ३० मेगावाटको पूर्वी भुटानस्थित कुरी आयोजनामा बंगलादेश, भारत र भुटानले संयुक्त लगानी गर्न सक्ने पनि अध्ययनले सुझाएको छ। यसैगरी, भारतीय सरकारले भुटानमा १० हजार ८ सय मेगावाट र अन्य लगानीकर्ताले सोही देशमा सन् २०३० सम्म ५ हजार ७ सय मेगावाट बराबरका आयोजनामा लगानी गर्न सक्नेछन्।

बंगलादेशले विगतदेखि नै भारतीय भूमि हुँदै नेपाल र भुटानबाट सस्तो दरमा बिजुली किन्न खोजिरहेको छ। जाइकाले सहयोग गरे नेपाल, भुटान र भारतका जलविद्युत आयोजनामा लगानी गर्न सहज हुने बंगलादेशी अधिकारीको भनाइ छ।

बंगलादेशले भारतीय जिएमआर कम्पनीले बनाउन लागेको ९ सय मेगावाटको माथिल्लो कर्णालीबाट ३ सय र ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ बाट २ सय गरी ५ सय मेगावाट बिजुली किन्न तयार रहेको यसअघि नै सार्वजनिक गरेको छ। बंगलादेशले भारतको पश्चिम नाकास्थित कुस्टियाको भेरामराबाट ५ सय मेगावाट बिजुली किनिरहेको छ।

प्रकाशित: ६ भाद्र २०७२ २२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App