५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

मेलम्चीको पाइपलाइन विस्तार अलपत्र

ठेक्का लिएका सडक र पुल अलपत्र पार्दै आइरहेको शैलुङ कन्स्ट्रक्सनले मेलम्चीको पाइपलाइन विस्तार र ओभरहेड ट्याङ्की निर्माणको काम पनि अलपत्र पारेको छ। शैलुङले भारतीय कम्पनी सिआइपिइएलसँग ज्वाइन्ट भेञ्चरमा एक अर्ब ४१ करोड रूपैयाँको लागतमा मेलम्ची आयोजनाको एक सय ६० किलोमिटर पाइपलाइन र ओभरहेड ट्याङ्की निर्माण गर्ने ठेक्का पाएको थियो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र ठेकेदार कम्पनीबीच सन् २०१९ को मार्चमा ३० महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौता अनुसार अहिले पाइपलाइन र ट्याङ्की निर्माण सम्पन्न भइसक्नुपर्ने थियो तर ठेकेदार कम्पनीको ढिलासुस्तीको कारणले आयोजनाको समष्टिगत भौतिक प्रगति ३५ देखि ४० प्रतिशतमा मात्रै सीमित रहेको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठले शैलुङ/सिआइपिइएल जेभीले निर्धारित समयभित्रै मेलम्चीको पाइपलाइन विस्तार र ओभरहेड ट्याङ्की निर्माण गर्न नसकेको बताए। ‘मेलम्चीको कपनतर्फको पाइपलाइन विस्तारको काम सुस्त गतिमा भइरहेको छ’, उनले भने– ‘ठेकेदार कम्पनीले सजिला ठाउँमा मात्रै काम गर्दै आइरहेको छ। अप्ठेरा ठाउँमा अहिलेसम्म त्यति धेरै काम गरेको छैन।’

१६० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा ठेकेदार कम्पनीले अहिलेसम्म ५५ किलोमिटर पाइपलाइन विस्तार गरेर निर्देशनालयलाई हस्तान्तरण गरिसकेको छ। ठेकेदार कम्पनीले पाइपलाइन विस्तार गरेको ५५ किलोमिटरमध्ये पनि ३६ किलोमिटर पाइपलाइनमा पानी टेस्टिङको काम पनि सकेको छ।

उपनिर्देशक श्रेष्ठले आयोजनाको दोस्रो पटक थप गरिएको म्याद आगामी २०२२ को अगष्टभित्र सकिने बताए। ‘ठेकेदार कम्पनीको व्यवस्थापनको कमजोरीका कारणले पाइपलाइन विस्तारले गति लिन नसकेको हो’, उनले भने– ‘काम नगरेको होइन्, अत्यन्तै थोरै जनशक्ति र निकै सुस्त काम गरिरहेकाले पनि ढिलासुस्ती भएको हो।’

शैलुङ/सिआइपिइएल जेभीले सार्वजनिक खरिद ऐनबमोजिम सबैभन्दा कम रकम कबोल गरेकाले ठेक्का पाएको थियो। निर्देशनालयले यो परियोजनको दुई अर्ब ५ करोड रूपैयाँ लागत एष्टिमेट तयार पारेको थियो। जेभीले भने झण्डै ६० करोडभन्दा कम लागतमा ठेक्का हात पारेको थियो । निर्देशनालयका अनुसार पाँचवटा ठेकेदार कम्पनी बोलपत्रमा सहभागी थिए।

निर्देशनालयले मेलम्चीको खानेपानी वितरणका लागि नयाँ एक हजार १० किलोमिटर वितरण लाइन निर्माण गरिसकेको छ। ‘हामीले प्रति महिना एक सय किलोमिटर पाइपलाइनमा पानी टेस्टिङ गर्ने लक्ष्य राखेका छौं’, उनले भने– ‘सडक तथा ढल निर्माणको क्रममा मेलम्चीको पाइप क्षतिग्रस्त हुँदा पानी टेस्टिङको काम प्रभावित भइरहेको छ।’

निर्देशनालयले गत वैशाख १२ गतेदेखि मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा वितरण गर्न थालेसँगै मेलम्चीको नयाँ पाइपलाइनको परीक्षण सुरु गरेको हो। निर्देशनालयले नियमित पानी उपलब्ध भएको खण्डमा बाँकी रहेको ६ सय किलोमिटर पाइपलाइन ८ देखि १० महिनाभित्रै टेस्टिङ गर्ने लक्ष्य राखेको छ।

मेलम्चीको पानी वितरण गर्न काठमाडौं उपत्यकामा १० वटा पानी ट्याङ्की तयार पारिएका छन्। तिनै १० वटा ट्याङ्कीबाट उपत्यकाभर पानी वितरण गरिँदै आइरहेको छ। १० वटा मध्ये ९ वटा पानी ट्याङ्की सञ्चालनमा आइसकेका छन्।

भक्तपुरको कटुञ्जेस्थित पानी ट्याङ्की भने एक/दुई दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। ‘अन्य ९ वटा पानी ट्याङ्कीबाट नियमित पानी वितरण भइरहेको छ’, उनले भने– ‘कटुञ्जेको ट्याङ्कीबाट पानी वितरणको तयारी पूरा भइसकेको छ। केही दिनभित्रै वितरण गर्नेछौं।’ अहिले मेलम्चीको ७७ किलोमिटर ट्रकंलाइनमा भने कुनै समस्या छैन।

मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा समानुपतिक ढंगले वितरण हुँदै आएको छ। अहिले काठमाडौं उपत्यकामा २ लाख ७० हजार घरधुरीमा धारा जडान भएका छन् तर मेलम्चीको पानी भने एक लाख ७५ हजार घरधुरीमा वितरण गर्ने लक्ष्य राखिएको छ। पछिल्लो समय वैशाख १२ गतेदेखि मेलम्चीको पानी फेरि उपत्यकाबासीलाई पुनः वितरण गर्न थालिएको थियो।

प्रकाशित: २६ वैशाख २०७९ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App