७ वैशाख २०८१ शुक्रबार
अर्थ

तिलोत्तमामा सम्पत्ति करमा ५० प्रतिशत छुट, फोहोरको शुल्क हटाउने घोषणा

विभिन्न प्रकारका कर छुट तथा फोहोर व्यवस्थापन शुल्क हटाउँदै सुशासन युक्त नगरपालिका बनाउने घोषणासहित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले जारी गरेको संयुक्त प्रतिबद्धतामा करको दायरा बढाउँदै एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने, उद्योग व्यवसाय प्रवर्द्धनका लागि जीर्ण तथा रुग्ण उद्योग व्यवसायको बक्यौतामा ५० प्रतिशत शुल्क छुट दिने घोषण गरीएको छ।

नगरपालिकाले उठाउँदै आएको प्रतिघर फोहोर व्यवस्थापन शुल्क हटाउने, अव्यवस्थित तथा सुकुम्बासी बस्ती व्यवस्थापन गर्दै ५ वर्ष भित्र सबैलाई लालपुर्जा वितरण गरी भूमिहिनको समस्या समाधान गर्ने प्रतिबद्धता गरीएको छ।

नगरका सडक निर्माण गर्दा उपभोक्ताबाट शुल्क नउठाइ पूर्ण सरकारी बजेटबाटै निर्माण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ। तिलोत्तमा नगर प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खांण र उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक  गरेका हुन्।

तालिम प्राप्त तथा १२ कक्षा उत्तीर्ण युवाहरुलाई बिनाधितो ४ प्रतिशत व्याजमा ऋण दिएर व्यवसायमा लगाउने गठबन्धनको उद्घोष छ। मेयरका उम्मेदवार खाँणले जनताबाट उठाएको करले सालिक, गेट, स्तम्भ भ्यू टावर बनाउन र उपहार शुभकामना भोज भतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइने बताए।

तिलोत्तमा नगरपालिकाको भवनलाई नगर अस्पतालमा रूपान्तरण गरिने, प्रत्येक वडाका स्वास्थ्य चौकीको गुणस्तर वृद्धि गर्दै अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने प्रतिबद्धता गरीएको छ।

गर्भवती महिलाका लागि स्याहार सम्भार र पोषण व्यवस्थाका लागि सुत्केरी भत्ता उपलब्ध गराउने, नागरिक सस्तो औषधी पसल सञ्चालन गर्ने उल्लेख छ। नगरका सामुदायिक विद्यालयको विद्युत तथा खानेपानी महसुल नगरपालिकाले नै बुझाइदिने प्रतिबद्धतामा समेटिएको छ।

नगरका सरकारी जग्गा संरक्षण र सही उपयोग गर्दै नगरलाइ हरित नगर, खुल्ला र पर्यटकीय सहरको रुपमा विकास गर्ने भनिएको छ। जेष्ठ नागरिक मिलन केन्द्र तथा बाल उद्यान निर्माण गर्ने भनिएको छ। बिजुलीबाट चल्ने इन्डक्सन चुलोमा खरिद मूल्यको ६० प्रतिशत अनुदान दिइने उल्लेख छ। विद्युत महसुलमा ३० युनिट सम्म खपतलाई छुट दिइने र पानीको न्यूनतम महसुलमा शतप्रतिशत छुट दिइने जनाइएको छ।

मोबाइल एप तथा डिजिटल प्रणाली मार्फत सेवाग्राहीले घरमै बसी धेरै प्रकारका सुविधा लिन सक्ने बनाउने, कृषि उत्पादनमा युवा लक्षित रोजगार कार्यक्रम लागू गर्ने योजना छ। पाँच लाखसम्म लगानीका व्यवसाय निःशुल्क दर्ता गरिनुका साथै एक वर्षसम्म स्थानीय कर छुट दिइने प्रतिबद्धता पत्रमा छ।

कृषकलाई आवश्यकता अनुसार बीउ मल र किटनाशक औषधी समयमा मै उपलब्ध गराउने, तिलोत्तमा नागरिक कृषि कार्यक्रममार्फत व्यवसायिक खेतीको विकास गर्ने भनिएको छ। प्राङ्गारिक मल उत्पादनका लागि अनुदान, १६६/३६ तथा भैलुभुज सिंचाइका कुलोलाई थप व्यवस्थित गर्ने भनिएको छ। विद्युतीय बस सेवा सञ्चालन गरिने योजना छ।

पाँच वर्ष भित्र तिलोत्तमामा चक्रपथ निर्माण र सबै भित्री सडक कालोपत्रे गरी सडक बत्ति लगाउने भनिएको छ। छाडा चौपायाको नियन्ण गर्ने, रोहिणी, सुखौरा, तिनाउ लगायतका नदी र घोलाहरूमा तटबन्ध गर्ने भनिएको छ।

नगरमा प्राविधिक विश्वविद्यालय बनाउने, प्रत्येक वडामा हिंसाविरुद्धको हेल्प डेक्स व्यवस्था गरिने, फरक क्षमताका विद्यार्थीका लागि विशेष कक्षाको व्यवस्था, सामुदायिक विद्यालयको दिवा खाजामा शतप्रतिशत वृद्धि गरिने, गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई उच्च शिक्षामा पूर्ण छात्रवृत्ति प्रदान गर्ने भनिएको छ।

दीर्घकालीन योजना अन्तर्गत तिलोतमा प्राविधिक विश्व विद्यालय स्थापना गरिने, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई मेकानिकल सब–ओवरसियर तालिम प्रत्येक वडाबाट ३ जनालाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ। खेलकुद विकासको लागि प्रत्येक वडाहरुमा खेल मैदानको व्यवस्था गरिने, नगर स्तरीय वार्षिक खेलकुद प्रतियोगिता सञ्चालन गरिने उल्लेख छ।

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै मेयरका उम्मेदवार खाँणले एमालेको नेतृत्वले विगत पाँच वर्षमा नगरमा भ्रष्टाचार गरेको आरोप लगाउँदै आफूले त्यसको समुल अन्त्य गरी सुशासन युक्त, सुन्दर, हरियाली, विकसित र समृद्ध तिलोत्तमा बनाउने प्रतिवद्धता गरे। नेता खाँणले आफूले पाउने तलव सुविधा असहाय बालकालिको शिक्षामा खर्च गर्ने उद्घोष पनि गरेका छन्।

प्रकाशित: १७ वैशाख २०७९ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App