४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

मूल्य वृद्धिले निर्माण क्षेत्र प्रभावित, जिल्ला दररेट संशोधन गर्न माग

मूल्य वृद्धिले पारेको असरबारे पत्रकारसम्मेलन गर्दै बाँके निर्माण व्यवसायी संघ। तस्बिरः अर्जुन/नागरिक

अप्रत्याशित मूल्य वृद्धिले निर्माण क्षेत्र प्रभाव पारेको भन्दै बाँकेका निर्माण व्यवसायीले जिल्ला दररेटलाई संशोधन गरी नयाँ दररेट निर्माण गर्न माग गरेका छन्। बाँके निर्माण व्यवसायी संघले सोमबार नेपालगन्जमा गरेको पत्रकारसम्मेलनमा उपस्थित व्यवसायीले नयाँ दररेट निर्माण गर्नमा सरकारी स्तरबाट अहिलेसम्म चासो नदिइएको गुनासो गरे।  

संघका अध्यक्ष टेकबहादुर खड्काले जिल्ला तहमा क्रियाशिल साना व्यवसायीहरु मूल्य वृद्धि वापतको रकम प्राप्त गर्न नसक्ने र अत्यधिक मूल्य वृद्धिका कारण निर्माण कार्यलाई सुचारु गर्न नसकिने अवस्थामा पुगेको बताए। सरकारले आफ्ना माग पूरा नगर्दासम्म संघमा आवद्ध निर्माण व्यवसायीले आफ्ना सम्पूर्ण काम स्थगित गरी ‘निर्माण होलिडे’ गर्ने निर्णय पारित गरिएको उनले जनाए।  

हरेक आर्थिक वर्षको सुरुवातमा जिल्ला दररेट निर्माण गरिन्छ। चालु वर्षको दररेटभन्दा अहिले ईट्टा, फलाम र तेलमा १८ देखि ३० प्रतिशतसम्म मूल्य वृद्धि भएको निर्माण व्यवसायी बताउँछन्। सरकारले जिल्ला दररेट समायोजन गर्नुपर्ने अन्यथा तत्कालका लागि निर्माण कार्यको समयावधि थप गरिदिनुपर्ने उनीहरुको माग छ।  

‘सरकारले मूल्य वृद्धिलाई सम्बोधन गरिदिनुपर्यो अथवा बिना हर्जना निर्माण कार्यको म्याद थप गरिदिनु पर्यो,’ खड्काले भने। जिल्ला दररेट समायोजन नहुँदासम्म काम गर्न नसक्ने उनले प्रष्ट्याए। ‘राज्यसँग लिएको पैसा सम्बन्धित पाटीलाई दिन सकिएको छैन, हामीलाई उद्योगहरुले पहिले पैसा जम्मा गरेपछि मात्र सामाग्री दिने गरेका छन्, कच्चा पदार्थ पनि पाइराखेका छैनौं, यस्तो अवस्थामा कसरी काम गर्नु?’

कतिपय निर्माण व्यवसायीले आर्थिक मन्दीका कारण सरकारी निर्माण कार्य गरे वापत भुक्तानी समेत पाउन नसकेको गुनासो गरेका छन्। कोरोना महामारीको समयमा समेत निर्माण क्षेत्रले यस्तो विकराल समस्या खेप्न नपरेको निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष सुरेश चन्दले बताए।  

‘हाम्रो समस्या समाधान गरिदिन सरकारलाई आग्रह गर्दै आएका छौं, समय समयमा ज्ञापन पत्र बुझाउने काम पनि गरिरहेका छौं, कतैबाट सुनुवाई नभएपछि पत्रकारसम्मेलन गरेर आफ्ना समस्या सुनाउन बाध्य भएका हौं,’ उनले भने। मूल्य वृद्धिको मारमा परेका धेरै निर्माण व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगिसकेको चन्दले सुनाए। उनले थपे, ‘हामीले सरकारलाई अनुरोध मात्रै गर्ने हो, यो पीडा सरकारसमक्ष पुगोस्।’

प्रकाशित: ५ वैशाख २०७९ १४:३७ सोमबार