१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

रौता र ताप्लीमा पर्यटकको भीड

ताप्ली पोखरीमा जम्मा भएका आगन्तुक। तस्बिरः महेश्वर

नयाँ वर्षमा उदयपुरका दुई पर्यटकीय क्षेत्र आगन्तुकले भरिभराउ भए। विगत दशक यता नयाँँ वर्षहरुमा मेला लाग्दै आएका पहाडी भेगका रौता पोखरी र ताप्ली पोखरीमा यो वर्ष ‘नयाँ वर्ष मेला’मा भव्य जमघट भएको हो।

गएको तीन वर्ष यता कोभिड कहरका कारण चकमन्न भएका ती दुवै ठाउँमा यो पटक नयाँ वर्ष मेला भर्न आउनेहरु ह्वात्तै बढेको स्थानीयको भनाइ छ। जिल्लाको रौतामाई गाउँपालिका ६ मा पर्ने रौता पोखरीमा बिहीबार झण्डै ५० हजारको जमघट भएको स्थानीय व्यापारी शिव अधिकारीले बताए।

उनका अनुसार धेरैजसो सदरमुकाकम गाईघाट, कटारी, मुर्कुची, बेलटार र रामपुरक्षेत्रबाट आन्तरिक पर्यटकहरु आएका थिए। १ गतेको मेलाका लागि अघिल्लो दिनदेखि नै आगन्तक भरिभराउ भएपछि सो क्षेत्रमा बास बस्ने ठाउँको अभाव हुन पुगेको अधिकारीले बताए।

त्यहाँ रहेको पोखरीमा रौता रानी मन्दिर पनि छ। कतिपय आगन्तुक भक्तजनको रुपमा भाकल बुझाउन र पूजा आराधना गर्न आएका थिए भने धेरै जसो चिसो खान र घुमफिर गर्न आएको स्थानीय शिक्षक बलराम राईले बताए। उनका अनुसार कोभिडले गर्दा ३ वर्ष यता ठप्प भएको मेला यो वर्ष धेरैको जमघटका साथ सम्पन्न भएको छ।

यस वर्ष कल्पना गरेको भन्दा धेरै बढी आगन्तुक जम्मा भएका छन्। धेरै आगन्तुक भएपछि दुई दर्जन हाराहारी साना ठूला होटल तथा खाजा घर र लजहरु भरिभराउ भएर आधाभन्दा बढी नाचगान र आगो ताप्दै खाने खेल्ने (क्याम्प फाईरिङ) गरेर रात बिताएको उनले बताए।

वर्षेनी लाग्ने मेलालाई विगतमा स्थानीय रौतामाई धार्मिक सेवा समितिले सहजीकरण गर्दै आएको थियो। तर, यस वर्ष यत्तिका धेरै आगन्तुक आउने भन्ने आँकलन नै नगरिएकाले व्यवस्थापनतर्फ ध्यानन नदिएकाले पनि आगन्तुकलाई केही समस्या परेको स्थानीय बताउँछन्।

गाउँपालिका र वडाले सामान्य सुरक्षाको प्रवन्ध गरे पनि औपचारिक कार्यक्रम कुनै नराखेकाले अधिक संख्यामा भेला भएका आगन्तुकले आफ्नो व्यवस्थापन आफै गर्नुपर्ने अवस्था सिर्जना भएको हो। रौता पोखरीलाई पछिल्लो समय गाउँपालिकाले पर्यटनमैत्री संरचना थपेर केही आकर्षक र घुम्न लायक बनाएकाले पनि आगन्तुक बढेको स्थानीय बताउँछन्।

पहिले पोखरी र त्यहीँ रहेको मन्दिर बाहेक अहिले पोखरी आसपासको क्षेत्रमा ५ वटा थप आकर्षक गन्तव्य निर्माण गरिएको छ। गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले आर्थिक वर्ष ०७५/७६ मै बुद्ध, यलम्बर, दुर्गा र शिव–पार्वतीको मुर्ति निर्माण गरेको बताए।

उनका अनुसार प्रत्येक आधा किलोमिटर दूरीमा रहेका अगल–अगल ५ वटा थुम्कामा निर्मित ५ खालका मूर्तिहरुको दर्शन तथा अवलोकन गर्न जान पक्की सिढी निर्माण गरिएको छ। एकदेखि अर्को मूर्ति भएको थुम्को पुग्न १५ देखि २० मिनट समय लाग्ने गरेकाले पर्यटक तथा भक्तजनलाई घुमफिर गर्न र रमणीय वातावरणसँग रमाउन पर्याप्त बहाना मिलेको अध्यक्ष खड्काको भनाइ छ।

थपिएका संरचनासँगै पोखरीलाई पनि गाउँपालिकाले सिँगारेको छ। रौता पोखरी क्षेत्रलाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ वर्षेनी धेरथोर बजेट छुट्याएर निरन्तर विकास र प्रर्वद्धन गर्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङले बताए।

रौता पोखरी क्षेत्र गाउँपालिकाको मात्र नभएर प्रदेशभरीकै आकर्षक गन्तव्य मध्यमा गनिने बनाउन गुरुयोजना बनाएर अघि बढिरहेको गुरुङले बताएका छन्। प्रमुख प्रशासकीय अधिकृत गुरुङका अनुसार समुद्री सतहदेखि १ हजार ८ सय ६० मिटर उचाईमा रहेको रौता पोखरी क्षेत्रलाई धार्मिक र पर्यटकीय दुवै हिसाबले विकसित गर्ने योजनासाथ गाउँपालिकाले काम गरिहेको छ।

यसपालिको नयाँ वर्षमा लागेको मेलाले रौता पोखरीको पर्यटन सम्भावना प्रचुर रहेको पुष्टि गरेकाले अझै थप सेवा सुविधा दिन आवश्यक संरचना र व्यवस्थापनमा गाउँपालिकाले जोड दिने उनले बताए। उता अर्को पहाडी ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा पनि उत्तिकै भिडभाडका साथ नयाँ वर्ष मेला लागेको छ।

त्यहाँ रहेको पोखरी र पन्चकन्या मन्दिरको दर्शन गर्न तथा निर्माणाधीन भ्युटावरको अवलोकन गर्न झण्डै १० हजार आगन्तुक भेला भएको स्थानीय शिक्षक मिलन तामाङले बताए। उनका अनुसार मेलालाई थप आकर्षक बनाउन स्थानीय गायकहरु प्रियजन राई र विनोद दनुवारलगायत कलाकार बोलाइएको थियो।

‘नयाँँ वर्षको स्वागत तथा ताप्ली बृहत् सांस्कृतिक कार्यत्रक्रम’ गायकद्वयले दर्जन बढी गीत गाएर दर्शकलाई मनोरञ्जन दिए भने हाँस्य कलाकार दिलिप तामाङ (हुरहुर)ले व्यंग्यात्मक खुराक पस्केर मेलाको आकर्षणलाई थप रोमाञ्चक बनाए। आयोजक ताप्ली पोखरी संरक्षण तथा व्यवस्थापन समितिले अपेक्षा गरे भन्दा धेरै बढी आन्तरिक पर्यटकको आगमन भएको जनाएको छ। 

समितिका अध्यक्ष कृष्णराम श्रेष्ठले विगत वर्षहरुमा पनि मेला लाग्ने गरेको तर, अहिले जस्तो भव्य मेला पहिलोपटक भएको बताए। विगतमा सामान्य संख्यामा भेला हुने आगन्तुकले मन्दिर दर्शन गर्ने र पोखरीको अवलोकन गरेर फर्कने गरेकोमा यसवर्ष अघिल्लो दिनदेखि नै जम्मा भएर मेला भर्नेहरुको जमात धेरै गुणा बढेको श्रेष्ठले बताए।

तर, आसपासमा होटल तथा लजहरुको व्यवस्था नहुँदा टाढाटाढाका आगन्तुकलाई भने केही असहज भएको उनले बताए। ताप्ली गाउँपालिकाले पोखरीलाई पर्यटकीयस्थलको रुपमा विकास गर्ने गुरुयोजना बनाएको छ।

जस अनुसार त्यहाँ भ्युटावर निर्माणाधीन अवस्थामा छ भने ताप्ली पोखरीको संरक्षण र मन्दिरलाई स्तरोन्नति गरिरहेको अध्यक्ष उद्धवसिंह थापाले बताए। थापाले विगत तीन वर्ष यता कोभिडले गर्दा मेला लाग्न छाडेकोमा यस वर्ष उल्लेख्य उपस्थितिमा नयाँ वर्ष मनाउन आएका आगन्तुकले ताप्लीको पर्यटन प्रर्वद्धनमा नयाँ सम्भावना बढेको बताए।

प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले गाउँपालिकाको प्रमुख पर्यटकीय केन्द्र बनाउने गरी योजना बनाएर सालिन्य बजेट बिनियोजन गर्दै सो क्षेत्रको विकासमा लगाइदै आएको बताए। उच्च ठाउँ, चिसो मौसम र सुरम्य वातावरण भएको हुनाले ताप्ली पोखरीमा हरेक गर्मीका बेला दिनहुँ चिसो खान आन्तरिक पर्यटकहरु आइरहने उनले बताए।

त्यहाँ आउने पर्यटकलाई आवश्यक सेवा सुविधा सहज बनाउन स्थानीय स्तरमै होम स्टे सञ्चालन, लज र होटलहरुको व्यवस्था गर्न स्थानीय उद्यमी व्यवसायीलाई गाउँपालिकाले प्रोत्साहन गर्दै आएको पनि प्रमुख प्रशासकीय अधिकृत लामाले बताए।

प्रकाशित: २ वैशाख २०७९ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App