१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

पाहुना तान्न पोखरामा सडक महोत्सव

राज्यलाई ठग्नेको पक्षमा फैसला आउनु विडम्वनापूर्ण

पोखरामा बुधबार सुरु भएको महोत्सव। तस्बिरः उमेश पुन/नागरिक

पोखरामा बुधबारदेखि ‘सडक महोत्सव’ सुरु भएको छ। नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराको आयोजनामा बुधबारदेखि लेकसाईडमा महोत्सव सुरु भएकोहो। बिहीबारसम्म हुने महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरे।

महोत्सव उद्घाटन अघि लेकसाईडको खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक झाँकीसहितको र्‍याली निकालिएको थियो। दुबैतर्फको र्‍याली लेकसाइडको मध्य क्षेत्र अम्बोटमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो।

नेपाली नयाँ वर्षको अवसरमा संघले यसअघि आयोजना गर्दै आएको फेवा नववर्ष महोत्सवलाई परिमार्जन गरि यस वर्ष ‘सडक महोत्सव’को नामबाट आयोजना गरिएको हो। रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ महोत्सव गरिएको छ। दुईदिने महोत्सवका मुख्य आकर्षणका रुपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्याती प्राप्त कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुती, लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य, लाइभ कन्सर्टलगायत रहेका छन। लेकसाइडका तीन किलोमिटर क्षेत्रमा रहेका होटलहरुले होटल बाहिर नै निकालेर स्टल राखेका छन्।

राज्यलाई ठग्नेको पक्षमा फैसला आउनु विडम्वनापूर्ण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राज्यलाई बारम्बार ठग्नेको पक्षमा सर्बोच्च अदालतबाट फैसला आउनु विडम्वनापूर्ण भएको बताएका छन । होटल संघ पोखराले आयोजना गरेको ‘सडक महोत्सव’को उद्घाटन गर्दै उनले राज्यलाई बारम्बार ठग्ने रिसोर्टको पक्षमा सर्वोच्चको फैसला आउनु विडम्वनापूर्ण भएको बताए। होटल तथा रिसोर्टहरुले तिर्नुपर्ने राजश्व नतिरेपछि आफूले कडा कदम चाल्नु परेको भन्दै उनले भने, ‘पहिलो पटक सूचना निकाले तर उनीहरु टसको मस भएनन्।

दोश्रो पटक सूचना निकाल्दा पनि काम भए तेश्रो पटक सूचना निकाल्दा १ अर्व ५ करोड राजश्व उठ्यो।’ तेश्रो पटकको सूचना निकाल्दासमेत ३ वटा पाँचतारे होटलले राजश्व नतिरेपछि लाईसेन्स खारेज गरिदिएको उनको भनाई छ। तर सरकारले लाईसेन्स खारेज गरेपछि उनीहरु सर्वोच्चको ढोका ढकढकाउन पुगेको र त्यसमा सर्वोच्चले उनीहरुकै पक्षमा फैसला गरेको उनको गुनासो छ। ‘तिनै तीनवटा रिसोर्टले ९० करोड तिर्न बाँकी छ। अदालतको आदेश उसैको पक्षमा आउनु विडम्वना हो’उनले भने।

मन्त्री आलेले कोभिडले सबैभन्दा बढी मार पर्यटनमा पारेको बताए। तर कोभिडले थला परेको पर्यटनलाई उकास्नेगरी बजेट र कार्यक्रम दिन मन लागेपनि देशको अर्थतन्त्र धरासायी भएका कारण नसकिएको बताए। ‘अहिले हाम्रो अर्थतन्त्र धरासायी छ। अझैपनि खस्कदो अवस्थामा छ। यस्तो अवस्थामा सहयोग गर्ने मन भएपनि सकिएको छैन,’उनले भने।

मन्त्री आलेले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अबको ५ महिनापछि सञ्चालनमा आउने बताए। उनले रिट्ठेपानीको डाँडा फास्टट्रयाकबाट कटान गरेर जहाज उड्ने बताउने बताए। ‘हामी हाम्रो जिम्मेवारी पूरा गर्छौं र आगामी पाँचमहिना भित्र एयरपोर्ट सञ्चालनमा ल्याउँछौं,’उनले भने, ‘पोखराका मेयर, उपमेयर र वडाध्यक्षलेपनि ल्याण्डफिल साइडको वैकल्पिक ब्यबस्था गर्नुप¥यो। मेयरसाब ! छिटो निकास दिनूस।’

मन्त्री आलेले पोखरास्थित हिमागृह र रत्न मन्दिर एक महिनाभित्र खुल्ला गर्ने घोषणा गरे। पूर्व राजा ज्ञानेन्द्रको पोखरा आउँदा बसोबास गर्ने निवासका रुपमा रहेको फेवाताल किनारमा रहेको हिमागृह र रत्न मन्दिर यसअघि धेरैपटक सर्वसाधारणका लागि खुल्ला गर्ने भनिएपनि कार्यान्वयनमा आउन सकेको छैन। सोहि विषयलाई कोट्याउँदै उनले भने, ‘मेरो मन्त्रालय मातहत भएको भए ७२ घण्टा भित्र खुल्ला गर्र्थेँ तर मेरो मन्त्रालय मातहत छैन। नेपाल ट्रष्ट मातहत भएकाले त्यसका प्रमुख प्रधानमन्त्री भएकाले उहाँलाई आग्रह गरिसकेको छु। अब २०७९ साल बैशाख ३० गते भित्र खुल्ला हुन्छ।’

प्रकाशित: ३० चैत्र २०७८ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App