७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

मौरीपालक किसानलाई अनुदान

कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी– ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त छन्।

व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीका घार बोकेर सो वनमा गएका हुन्। छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका उनी मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक वनमा पुग्छिन्। मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीका घार ठाउँठाउँ पुर्‍याउन पनि उनलाई कुनै समस्या छैन। ‘मसँग धेरै मौरी त छैन। बिस्तारै व्यवसाय बढाउँदै छु।’ उनले भने, मेहेनत अनुसार आम्दानी राम्रो छ। सिजनमा राम्रो आम्दानी हुन्छ। त्यहींबाट आएको पैसाले घर खर्च, बालबालिकाको पढाइ लगायतको सबै खर्च बेहोर्ने गरेको छु।’

उनी मौरीपालन व्यवसायसँगै अन्य कृषि पेसामा समेत जोडिएका छन्। उनको सबै परिवार नै कृषिमा केन्द्रित छ। ‘कृषिलाई नै प्राथमिकतामा राखेर काम गर्दै आएका छौं। राज्यले मौरीलाई पनि कृषिसँग जोडेको छ तर अहिलेसम्म  किसानलाई कुन सहयोग मिलेको छैन।’ किसान बलबहादुरले भने, ‘स्थानीय सरकारले पनि सहयोग गरेको छैन। अन्य कृषि क्षेत्रमा अनुदान आउँछ। होइन भने मौरीपालनलाई कृषिसँग जोड्नुभएन।’

उनी मात्रै होइन,पछिल्लो समयमा किसान व्यावसायिक मौरीपालनमा आकर्षित हुन थालेका छन्। जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा किसानले अन्य व्यवसाय गर्दै आएको भए पनि मौरीपालनमा किसान आकर्षित थिएनन्। विशेष गरी पूर्वी क्षेत्रबाट मौरीपालक किसान तोरी फुल्ने समयमा मौरीका घार बोकेर कैलालीका विभिन्न ठाउँमा आउने गर्छन्।

त्यहाँबाट आएका मौरीपालक किसानबाटै मौरीपालनमा आकर्षित भएको पाइन्छ। कतिपय किसानले व्यावसायिक रूपमा काम सुरु गरेका छन् भने कतिपयले भर्खरै मौरी पालन व्यवसाय सुरु पनि गरेका छन्। बजारीकरणको समस्या नभएका कारण पनि किसानहरू मौरीपालन व्यवसायमा आकर्षित भएको पाइन्छ। किसानले अहिले उत्पादन भएको मौरीको मह प्रतिकेजी रु ५०० मा भन्दा बढीमा बिक्री गर्दै आएका छन्।

जानकी–७ का टेकबहादुर चौधरी पेसाले शिक्षक थिए। उनले १७ वर्ष पढाए। शिक्षण पेसाबाट सन्तुष्ट हुन नसकेका उनले शिक्षण पेसा छोडेर अहिले मौरीपालनमा लागेका छन्।

शिक्षण पेसाभन्दा कृषिमा बढी सम्भावना देखेपछि टेकबहादुरले शिक्षण पेसा छोडेर कृषि पेसामा लागेको बताए। ‘मैले कृषिमा सम्भावना देखेकै कारण पनि शिक्षण पेसा छोडेर कृषिमा लागेको हुँ। मेहेनत बढी छ भने आम्दानी पनि बढी छ।’ उनले भने, ‘अहिले म मौरीपालन व्यवसायमा लागेको छु भने परिवारका अन्य सदस्य कृषिमा लागेका छन्।’उनले कृषि क्षेत्रमा निकै सम्भावना भएको भए पनि सरकारले उपलब्ध गराउने अनुदान वास्तविक किसानलाई भन्दा पनि आफ्नो नजिककालाई सहयोग हुँदै आएको र कृषि पेसामा नलागेकाले सहयोग पाउँदै आएको गुनासो गरे।

पछिल्लो समयमा अन्य कृषि पेसासँगै किसानले मौरीपालनलाई समेत महत्त्वका साथ लिएका छन्। अन्य कृषि क्षेत्रका लागि आवश्यक मात्रामा बजेट विनियोजन भएको भए पनि स्थानीय सरकारल मौरीपालक किसानका लागि भने भर्खर अनुदानको व्यवस्था गर्न थालेको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले जनाए। उनले चालु आर्थिक वर्षमा केही बजेट मौरीपालक किसानका लागि अनुदानको व्यवस्था गरिएको बताए।

प्रकाशित: २१ चैत्र २०७८ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App