८ वैशाख २०८१ शनिबार
अर्थ

होटल आनन्दसँगको सम्झौता रद्द

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँगको करार सम्झौता रद्द गरेको छ।

कोष र होटेल आनन्द प्रालिका बीच धर्मशालामा होटल सञ्चालनका विषयमा भएको सम्झौता अनुसारका सर्त होटेल आनन्द प्रालिले पालना नगरेको हुँदा सम्झौता रद्द गरिएको कोषले जनाएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकाशित गरी सम्झौता रद्द भएको जनाएको छ।

कोष र प्रालिबीचको सम्झौता रद्द भएको विषयमा लेखिएको पत्र कोषका पदाधिकारी तथा कर्मचारीले बुझाउन जाँदा प्रालि (बतास समूह)ले बुझ्न मानेको थिएन। होटेल आनन्द प्रालिले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौता अनुसार पालना गरेको नपाइएकाले कोष सञ्चालक परिषद्को बैठकले सम्झौता रद्द गर्ने निर्णय गरे अनुसार सम्झौता रद्द भएको कोषले जनाएको छ।

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले कोषमार्फत होटल आनन्द प्रालिलाई धर्मशाला खाली गर्न बिहीबार पत्राचार गरेको थियो।

कोषले बतास समूहलाई ‘नेपाल–भारत मैत्री पशुपति धर्मशाला’ सञ्चालनको लागि करार गरेर दिएको थियो। न्यायका लागि अदालत पुगेको बतास समूहले अदालतबाट अल्पकालीन आदेश पाएको छ। यसअघि बिहीबार बतास समूहको कार्यालयमा पुगेर करार भङ्ग गरेको पत्र बुझाउन खोजेको थियो। बतास समूह अर्थात् आनन्द होटेल प्रालिले कोषको करार भङ्ग गर्ने निर्णयविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञा माग गरेर रिट दायर गरेको थियो।

न्यायाधीश सुभाष पौडेलको बिहीबारको एकल इजलासले पर्यटन मन्त्रालयलाई सोमबार छलफलका लागि बोलाएकै समयमा न्यायालयमा विचाराधीन मुद्दा चलिरहेका वेला कोषले करार भङ्ग गरेको हो।

प्रकाशित: २१ चैत्र २०७८ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App