coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विराटनगरमा ट्रेड एक्स्पो सुरू

मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा शुक्रबारदेखि ट्रेड एक्स्पो २०२२ सुरू भएको छ। चैत २६ गतेसम्म सञ्चालन हुने एक्पोको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरेका हुन्।

एक्स्पोको उद्घाटन गर्दै मन्त्री आलेले स्रोत सुनिश्चित नगरी टेन्टर निकालिएका कारण विराटनगर विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि भएको टेन्डर खारेज गर्नु परेको बताए।

एक्स्पोलाई सम्बोधन गर्ने क्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगर विमानस्थलको टर्मिनल भवनको ठेक्का खारेज गरिएकोमा मन्त्री आलेप्रति असन्तुष्टि जनाएपछि जवाफमा आलेले स्रोत सुनिश्चित नभएको आयोजनाको काम अघि बढ्न नसक्ने भएकाले टेन्डर खारेज गर्नुपरेको स्पष्ट पारे।

मन्त्री आलेले विराटनगर विमानस्थलको टर्मिनल भवनका लागि ३० करोड रुपैयाँ बजेट छुट्याएर ३ अर्बको टेन्डर निकालिएको दाबी गरे। ‘३० करोड बजेट छुट्याएर ३ अर्बको टेन्डर निकालिएको रहेछ’ उनले भने ‘३० करोड त बजेटमा व्यवस्था भयो बाँकी २ अर्ब ७० करोड रुपैयाँ कहाँबाट ल्याउने? मेरो घरबारी बेचेर पनि पुग्दैन’ उनले भने।

विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माणका लागि स्रोत सुनिश्चित गर्न आफूले अर्थ मन्त्रीलाई दबाव दिइरहेको आलेले बताए। उनले अर्थमन्त्रालयले स्रोत सुनिश्चित गरेपछि आगामी बजेटमा योजना समावेश गरेर विराटनगर विमानस्थलको टेन्डर पुनः प्रकाशित गरिने स्पष्ट पारे।

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले विराटनगरले एउटै मुद्दालाई बारम्बार उठाइरहे पनि सम्बोधन नभएको गुनासो गरे। उनले विराटनगर विमानस्थल विस्तार, औद्योगिक प्रदर्शनी केन्द्र निर्माणलगायतका योजनाहरू कार्यान्वयनमा लैजान सरकारसँग माग गरे।

नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले विराटनगरका उद्योगी व्यवसायीले बारम्बार उठाउँदै आएका मुद्दाहरूको सम्बोधन नभइरहेको गुनासो गरे। उनले उद्योग मैत्री, लगानी मैत्री नीति निर्माण गरी उद्योग, पर्यटन क्षेत्रको विकासमा ध्यान दिन सरकारसँग माग गरे।

मेलाका संयोजक विकास वेगवानीले यो पटकको एक्स्पो विशेष रहेको दाबी गरे। उनले नेपालमै पहिलोपटम एसी डोमसहितको स्टलको व्यवस्थापन मेलामा गरिएको जानकारी दिए। यस्तै अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त प्रतिमाहरूले पनि मेलाको आकर्षण बढाएको उनले बताए।

मेलामा २ सय ७० स्टल राखिएका छन्। मेलामा नेपाल, भारत, बांग्लादेश, पाकिस्तानलगायतका देशमा उत्पादित औद्योगिक वस्तुहरू प्रदर्शनीमा राखिएका छन्। कुल ९ दिनसम्म सञ्चालन हुने एक्स्पोमा कृषि, पर्यटन, सुचना प्रविधि, अटोमोबाईल्स, बाल उद्यान र खानाका विभिन्न परिकार सँगसँगै नियमित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने जनाइएको छ।

एक्स्पोबाट स्वदेशी उत्पादन तथा प्रविधि प्रर्वद्धन, व्यावसायिक उत्पादनमा जोड, उत्पादक तथा उपभोक्ताबीच सम्बन्ध विस्तार र पर्यटन प्रर्वद्धन तथा लगानी मैत्री वातावरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्वदेशी र विदेशी उत्पादन समेटने गरी कुल २७० स्टलहरु रहने एक्स्पो २ लाख बढी उपभोक्ताहरुले अवलोकन गर्ने व्यापार संघले जनाएको छ। एक्स्पोमा  ४० करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको मोरङ व्यापार संघले जनाएको छ।

प्रकाशित: १८ चैत्र २०७८ १०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App