३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

पुँजीगत खर्च बढाउन प्रोत्साहन

जिल्लामा पुँजीगत खर्च सन्तोषजनक देखिँदैन। स्थानीय तहदेखि अन्य सरकारी विकासे कार्यालयहरुको पुँजीगत खर्च उत्साहजनक नहुँदा समयमै बजेट खर्च गर्न कठिन छ भने अर्काेतिर खर्च भएको पैसाले गुणस्तरीय विकास हुने आशंका त्यत्तिकै रहेको देखिन्छ। यसको न्यूनीकरण गर्ने र समयमै पुँजीगत खर्च बढाउन प्रेरित गर्न सुरुवात गरिएको छ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जिल्लामा पुँजीगत खर्च बढाउन कर्मचारीलाई प्रोत्साहन गर्न पुरस्कार दिने कामको सुरुवात गरेका छन्। यसले पुँजीगत खर्च बढाउने अपेक्षा गरिएको छ। पुँजीगत खर्च बढी गर्ने र उत्कृष्ट कार्यसम्पादन गर्ने एकजना कर्मचारीलाई हरेक महिना नगद पाँच हजार र सम्मानपत्रसहित सम्मान गर्न सुरु गरिएको प्रजिअ खत्रीले बताए। पहिलोपटक जिल्लाको भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालय नेपालगन्जका प्रमुख मनोज खतिवडा उत्कृष्ट कार्यालय प्रमुखका रुपमा सम्मानित भएका छन्। उनलाई जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुको बैठकमा पुरस्कार प्रदान गरिएको हो। भूमिगत जलस्रोत विकास समिति शाखा कार्यालयले हालसम्म वार्षिक बजेटको ९७ प्रतिशत बजेट खर्च गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी खत्रीले पुँजीगत बजेट खर्च नभएर सरकारी कामको गतिमाथि प्रश्न उठिरहेका बेला सकारात्मक सन्देश दिन र कार्यालय प्रमुखहरुमा प्रोत्साहनको भावना विकास गर्न पुरस्कारको उपाय अपनाइएको जानकारी दिए।  

उत्कृष्ट कर्मचारी छनोटका लागि जिल्लामा एक समिति बनाइएको र उक्त समितिले तथ्यगत आधारमा कर्मचारी छनोट गरेर सिफारिस गर्ने गरेको उनले जानकारी दिए। जिल्लामा संघ र प्रदेश सरकारअन्तर्गत एक सय ११ सरकारी कार्यालय रहेका छन्। प्रजिअ अधिकारी यसरी वित्तीय प्रगतिका आधारमा कर्मचारीलाई प्रोत्साहन गरिने काम देशमै पहिलोपटक भएको बताउँछन्।

प्रकाशित: ७ चैत्र २०७८ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App