१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

फोहाेर नउठ्दा उडानमा जोखिम

फोहाेरका कारण चराचुरुंगी, कुकुर र स्याल आकर्षित हुँदा उडानमा जोखिम हुन्छः विमानस्थल

पोखराको मुख्य सडकमा थुप्रिएको फोहाेर। यहाँ ६ दिनदेखि फोहर उठेको छैन। तस्बिरः उमेश पुन/नागरिक

पर्यटकीय सहर पोखराको सडक फोहरको डंगुरले भरिएको छ। सहरका चोकचोकमा फोहाेर थुप्रिँदा यहाँस्थित विमानस्थलबाट हुने हवाई उडानमा जोखिम निम्तिन सक्ने भन्दै विमानस्थलले चिन्ता जनाएको छ। चोकचोकमा थुपारिएको फोहाेरका कारण विभिन्न जनावर र चराचुरुंगी आकर्षित हुने र त्यसको आउजाउले हवाई उडान प्रभावित हुने जोखिम रहेको विमानस्थलले बताएको छ।  

तापक्रम बढेसँगै सडकमा फ्याकिएको फोहाेरले दूर्गन्ध बढाएको छ। सडकमा फोहर फ्याक्दा दूर्गन्ध बढ्दा चराचुरुंगी र स्याल, कुकुर जस्ता जनावर आकर्षिक हुने र ती पशुपंक्षी विमानस्थल छिर्न सक्ने हुँदा उडान सुरक्षा जोखिम बनाएको विमानस्थलको भनाई छ। पोखरा महानगरपालिकाले फोहाेर व्यवस्थापन गरिरहेको पोखरा–१४ बाच्छेबुडुवा क्षेत्रका बासिन्दाको अवरोधका कारण विगत ६ दिनदेखि यहाँको फोहाेर उठेको छैन।  

‘विमानस्थल वरिपरिको फोहाेर समेत उठेको छैन। त्यसले गर्दा हवाई उडानमा समेत जोखिम थपिएको छ,’ पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी भन्छन, ‘विमानस्थलको फोहाेर त व्यवस्थापन गरिएला, तर, बाहिरको फोहाेरका कारण चराचुरुंगी र पशु आकर्षित हुने डर छ। ती चराचुरुंगी र पशु विमानस्थलमा छिरेमा हवाई उडान नै जोखिममा पर्न सक्छ।’

गत फागुन ११ गते पोखरा विमानस्थलको धावनमार्गमा आएका चराको हुलको अवरोधका कारण उड्ने अन्तिम तयारीमा रहेको जहाज झन्डै ४५ मिनेट विमानस्थलमै रोकिएको थियो। त्यसबाहेक बेलाबेला विमानस्थलमा चरा, स्याल छिर्ने र त्यसले उडान प्रभावित पार्दै आएको छ। बेलाबेला जहाजलाई चराले ठक्कर समेत दिने समेत गरेका छन्।  

‘कुनैपनि बेला चरा, कुकुर र स्यालका कारण यहाँ हवाई अवरोध आउन सक्छ। घटना नहुँन्जेल केही हुँदैन,’ उनले भने, ‘सहरको फोहर नउठ्दा विमानस्थल क्षेत्र पनि जोखिममा परेको छ। विमानस्थल वरिपरिकै क्षेत्रमा फोहाेरको थुप्रो छ। फोहाेर नउठेसम्म यहाँ समस्या निम्तिन सक्ने जोखिम छ।’ अहिले पोखरा विमानस्थलबाट दिनमा करिब तीनदर्जन ठुला आकारका जहाजको उडान भईरहेको छ। त्यसबाहेक हेलिकप्टर र अल्ट्रालाइटको समेत उडान थपिने क्रम बढिरहेको छ। यहाँस्थित विमानस्थल बस्तीको माझमा छ।  

महागरपालिकाले विगत १७ वर्षदेखि पोखरा–१४ को बाच्छेबुडुवामा सहरको फोहाेर व्यवस्थापन गरिरहेको छ। प्रभावित क्षेत्रमा सडक बिस्तार, स्वास्थ्यचौकी, पुल निर्माण लगायतका माग राखेर स्थानीयले फोहाेर लैजान रोक लगाएका हुन। महानगरपालिकाले सडक बिस्तार, पुल र स्वास्थ्यचौकी निर्माण गरिदिने वाचा गरेपनि पुरा नगरेपछि फोहाेर ल्याउन नदिएको प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन्।

महानगरका सूचना अधिकारी भरत पौड्यालले प्रभावित क्षेत्रका बासिन्दासँगको सहमति बमोजिम माग पुरा गर्न तयार भएपनि प्रभावित क्षेत्रका बासिन्दाले सहमति नमान्दा समस्या भएको बताए। उनका अनुसार स्थानीयबासिसँग गत माघ १२ गते भएको सम्झौता भए बमोजिम उनीहरुका माग पुरा गर्न महानगर तयार छ, त्यसका लागि प्रक्रिया पनि अघि बढिरहेको छ।

‘स्थानीयका माग पुरा गर्ने क्रममा केही प्रक्रिया हुन्छन। ती प्रक्रिया अघि बढिसकेका छन। हामीले पनि आजको भोलि काम गर्ने होईन, खरिद ऐन अनुसार काम गर्नुपर्छ,’ उनले भने, ‘सिधै अनुदान र वृद्धभत्ता बाँडेजस्तो पैसा दिनु भएन। फोहरमैला मात्र नभई नागरिकका सबै समस्या समाधान गर्न तयार छौ।’ स्थानीयको माग अनुसार सडक बिस्तारका लागि केहीदिन अघि मात्र टेण्डर आव्हान गरिएको पनि पौड्यालले बताए। प्रभावित क्षेत्रका बासिन्दासँग वार्ता भईरहेपनि सडकमा थुप्रिएको फोहर कहिले उठ्छ भन्ने यकिन नभएको पौडेलले बताए।  

प्रभावित क्षेत्रका बासिन्दाले काजीपोखरीदेखि ल्याण्डफिल साइटसम्मको सडकलाई डेढमिटर फराकिलो बनाउनुपर्ने माग महानगरसँग राखेका छन्। हाल चारमिटर फराकिलो रहेको यो सडक थप दुइमिटर फराकिलो बनाउनुपर्ने स्थानीयको माग छ। यो सडक साँघुरो हुँदा फोहर बोकेर गएका सवारीका कारण दुर्घटना बढेको स्थानीयले बताएका छन्। करिब पाँचकिलोमिटर सडकलाई बिस्तार गर्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाई छ।  

त्यस्तै सडकमा परेका खाडल पुर्नुपर्ने, अति नै दुगन्धित भएको ल्याण्डफिल साइटलाई थप सुरक्षित बनाउनुपर्ने, सेती नदीमाथि पुल बनाउनुपर्ने माग पनि स्थानीयले राखेका छन्। पोखरा–१४ को बाच्छेबुडुवादेखि भरतपोखरी र निर्मलपोखरी जोड्नेगरि सेतीमाथि पुल बनाइदिन स्थानीयले माग गरेपनि महानगरले अटेर गरेको ल्याण्डफिल साइट जनसरोकार समितिका अध्यक्ष बोधराज कार्कीले बताए।  

त्यसबाहेक प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरि पोखरा–१४ मा प्रयोगाशाला सहितको स्वास्थ्यचौकी बनाउनुपर्ने पनि स्थानीयको माग रहेको छ। पोखरा महागरपालिकाले दिनमा सहरभित्रबाट करिब पाँचसय टन फोहर संकलन गर्छ। महागनरले २७ वटा सवारीमार्फत दिनहुँ फोहाेर उठाउँछ। अहिले दुइसय रोपनी सरकारी जग्गामा महानरगरले फोहाेर व्यवस्थापन गरिरहेको छ।

प्रकाशित: ६ चैत्र २०७८ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App