७ वैशाख २०८१ शुक्रबार
अर्थ

धौलिगाड बृहत खानेपानी आयोजना बन्ने

जुम्लामा धौलिगाड बृहत खानेपानी आयोजना बन्ने पक्का भएको छ। हिमाली जिल्लाको सबैभन्दा ठूलो आयोजनाको रुपमा रहेको धौलिगाड खानेपानी आयोजना बन्ने पक्का भएको हो। शनिबार केन्द्रीय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।  

खानेपानी मन्त्रालयका सचिव, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक समेत आयोजनाको शिलान्यास गर्न जुम्ला आउने कार्यक्रम तय भइसकेको छ। यो आयोजना कर्णाली प्रदेशको सबैभन्दा ठूलो र नेपालको हिमाली भेकमा रहेको सबैभन्दा लामो प्रसारण तथा वितरण क्षेत्रको रुपमा रहेको छ।

मुहानदेखि ट्यांकीसम्म लाइन विस्तार गरिने निर्माण कार्यक्रम सुरु हुन थालेको हो। संघीय खानेपानी आयोजना प्रमुख महेश न्यौपानले लामो प्रयास र सबैको सहयोगले आयोजना निर्माण हुने निश्चित भएको बताए।

आयोजना निर्माण लागत १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ छ। आयोजनाबाट चन्दननाथ नगरपालिका वडा नम्बर १–१०, गुठीचौर गाउँपालिकाका ३–५ र तातोपानी गाउँपालिकाको १–६ वडा गरी ९ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुने आयोजना प्रमुख न्यौपानेले जानकारी दिए।  

जुम्ला सदरमुकाम खलंगादेखि १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने गरी स्टमेट गरिएको छ। प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानीको खपत अनुमान गरिएको छ। ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुने आयोजना प्रमुख न्यौपाने बताउँछन्।

संस्थागत ३ लाख ८४ हजार ५६९ लिटर प्रतिदिन पानी खपत हुने छ। प्रतिदिन जम्मा ४७ हजार ३२० लिटर पानी खपत हुनेछ। मुख्य पाइप लाइनको अधिकतम क्षमता प्रतिसेकेन्ड ६६ लिटर रहनेछ।

आरसीसी पानी भण्डारण गर्ने ट्यांकी ३ सय घनमिटरको १ वटा, १५० घन मिटरको १ वटा, १२५ घनमिटरको २ वटा, १ सय घनमिटरको २ वटा, ७५ घनमिटरको ३ वटा र ५० घनमिटरको ४ वटा बन्ने डिजाइन स्टिमेटमा उल्लेख छ। पानी वितरण गर्ने ट्यांकी ९ वटा, क्लोरिनेसन प्रणाली १३ वटा, प्रेसर घटाउने ट्यांकी १७ वटा बन्ने छन्।  

भल्व राख्ने संरचना पानी वितरण गर्ने ट्यांकी, भण्डारण गर्ने ट्यांकी र पाइपभित्रको फोहोर फाल्ने, बढी भएको पानी फाल्ने गरेर ६२ वटा ट्यांकी बन्ने छन्। हावा फाल्ने र पाइपभित्रको लेदो फोहोर फाल्ने संरचना ३० वटा निर्माण गरिनेछ।

जालीको घेरबार १३ वटा गेटसहित ८ सय मिटर बन्नेछ। खोलाको क्रसिङ ४ वटा, नदीको क्रसिङ ७ वटा, स्टिल पाइपका लागि प्रेसर थाम्ने ब्लक १६५ वटा, टेका राख्ने ब्लक ६० वटा, गार्ड बस्ने घर, शौचालयसहित १ वटा र पानी परीक्षण प्रयोगशाला १ वटा बन्ने डिजाइन स्टिमेटमा उल्लेख रहेको आयोजना प्रमुख न्यौपाने बताउँछन्।

प्रेसर घटाउने संरचना ११ वटा, आगलागी निभाउन निकाल्ने ठाउँ १५ वटा, निजी धारा ८ हजार २९२ वटा, संस्थागत धारा ३१६ वटा, बाटोमा धारा जोड्ने संरचना १५० वटा, खोल्सा क्रसिङ २० वटा, सार्वजनिक शौचालय ५ वटा बन्ने छन्।

मुख्य पाइप लाइनको लम्बाइ ६९ दशमलव २८ किलोमिटर रहनेछ भने वितरण शाखा पाइप लाइनको लम्बाइ २ सय दशमलव ४ किलोमिटर रहनेछ। पानी महसुल प्रतिघरधुरी न्यूनतम मासिक ५५ रुपैयाँ लाग्नेछ।

यो आयोजना निर्माण हुने निश्चित भएपनि जुम्लावासी निकै खुसी भएका छन्। यो आयोजनाले यहाँको खानेपानीको माग पूरा गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: ३ चैत्र २०७८ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App