१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

आन्तरिक हवाई उडानमा पोखराको फड्को

धमाधम ठुला सहर पोखरासँग जोडिँदै

पोखरा विमानस्थलबाट उडान र अवतरणको तयारीमा रहेका जहाज। फाइल तस्बिरः सन्तोष/नागरिक

पोखराको चालु विमानस्थलबाट अहिले दिनमा ३० हाराहारीमा ठुला हवाई उडान भईरहेका छन्। त्यसबाहेक हेलिकप्टर र अल्ट्रालाइटको समेत त्यत्तिकै संख्यामा उडान हुन्छन्। ठुला–साना गरि पोखरा विमानस्थलले अहिले दिनमा एकसय बढी उडान व्यवस्थापन गरिरहेको छ।  

पोखराबाट यतिबेला भईरहेका उडानमध्ये काठमाडौंसँगको हिस्सा बढी छ। काठमाडौसँगको पोखराको उडान संख्या अहिले दिनमा डेढदर्जन बढी छन्। ती पनि ठुला आकारका जहाज (७२ सिट क्षमताका एटिआर ७२–५००) बाट अधिकांश उडान भईरहेका छन्। यती र बुद्ध एयरलाइन्ससँग ती जहाज छन्। त्यसबाहेक पोखरालाई अन्यका ठुला सहरमा हवाई उडानले जोड्दै जाँदा पोखराको हवाई सञ्जालले गति लिएको छ। निजी हवाई कम्पनि अझै नयाँ गन्तव्यमा पोखरालाई जोड्ने योजनामा छन्।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार अहिले पोखरा–काठमाडौंको उडान संख्या निकै नै बढेको छ। कोरोना अघि सानो आकारका जहाजबाट उडान हुने गरेकोमा अहिले हुने उडानका सबैजसो जहाज ठुला आकारका छन्। उनका अनुसार अहिले बुद्ध एयरले मात्र पोखरा–काठमाडौं रुटमा दिनमा दर्जन उडान गरिरहेको छ। ती सबै उडान ठुला आकारका जहाजबाट हुने गरेको छ। त्यस्तै पोखरा–काठमाडौं रुटमै उड्ने यती एयरलाईन्सका जहाज पनि ठुला छन्। श्री एयरलाइन्सले पनि अहिले यो रुटमा उडान गरिरहेको छ। गुण एयरलाइन्सले पनि दैनिक उडान गरिरहेको छ।  

‘सबैगरि दिनमा १४ सय यात्रुुले एकतर्फी यात्रा गरेका छन। कोरोनाले पर्यटन क्षेत्र थलिएको अवस्थामा पनि हवाई उडानमा भने व्यापक सुधार देखिएको छ,’ सुवेदी भन्छन, ‘कोरोना अघि विदेश पर्यटक हुँदाको अवस्थामा हुने उडान भन्दा अहिलेको यात्रुको आकार ठुलो छ। अहिले विदेशी एकाध मात्र हुन्, सबैजसो आन्तरिक यात्रु हुन्। कोरोना अघि आन्तरिक यात्रु कम थिए, विदेशीको बाहुल्याता बढी थियो। अहिले आन्तरिक यात्रुकै भरमा हवाई क्षेत्रले स्थान बढाएको छ।’ त्यसबाहेक पोखराले पछिल्लो केही समयमा हवाई सञ्जाल पनि ब्यापक बिस्तार गर्न सकेको छ।  

पोखराबाट हुने नियमित हवाई उडान भईरहेका काठमाडौं र जोमसोम पुराना गन्तव्य हुन्। ती रुटमा लामो समयदेखि नियमित उडान भईरहेको थियो। तर, पछिल्लो समय भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, सिमरासम्म उडान भईरहेको छ। पोखरा विमानस्थलले अहिले मुख्य सातवटा ठूला सहरसम्म आफुलाई बिस्तार गरिसकेको छ। अबको केही समयभित्र बुद्धले पोखरालाई बिराटनगर र भद्रपुर जोड्नेगरि उडानको तयारी पनि गरेको छ । ती गन्तव्यमा उडान सुरु भएपछि पोखराको हवाई सञ्जालले अझै फड्को मार्ने उनले बताए।  

‘पोखरासँगको हवाई सञ्जालले तिब्रगतिमा फड्को मारेको छ। कोरोना संक्रमणले अरु क्षेत्र साँघुरिएको भएपनि पोखराले आन्तरिक हवाई रुटमा भने आफुलाई बिस्तार गर्न सफल भएको छ,’ सुवेदीले भने, ‘आन्तरिक उडानमा काठमाडौंपछि सबैभन्दा गन्तव्यका उडान गर्ने सहर पोखरा बनिसकेको छ।’ अहिलेको उडान संख्याको बिस्तार हेर्दा आगामि दिनमा पोखरामा आउने आन्तरिक पाहुनाको आकार बढ्नेमा आशंका गर्नु नपर्ने उनले बताए। ‘स्थापित हुन गाह्रो भनेको छोटो रुटको दुरीमा पनि ठुला आकारका जहाजबाट नियमित उडान हुनुले पनि आन्तरिक यात्रुले खर्च गर्न सक्ने क्षमता राख्छन भन्ने पुष्टि हुन्छ,’ उनले भने, ‘कोरोनाले पर्यटन क्षेत्र ध्वस्त भएको बेला पनि आन्तरिक हवाई आकार भने दिनहुँ बढिरहेको देखाउँछ।’

पोखराबाट चितवनको भरतपुर १२६ किलोमिटर टाढा पर्छ। निजी गाडीमा जाँदा पोखराबाट तीनघण्टामा सहजै भरतपुर पुगिन्छ। सार्वजनिक सवारीमा जाँदा पनि बढीमा चारघण्टामा भरतपुर पुग्न सकिन्छ। पोखराबाट भरतपुर १५ मिनेटको हवाई दुरी हो। बुद्ध एयरले यो रुटमा उडान सुरु गर्दा धेरैको जिज्ञाशा थियो, ‘पोखरा–भरतपुर उडान चल्छ र?’ त्यो बेला मुग्लिन–नारायणगढ सडकको झन्झटिलो यात्रालाई सहजीकरण गर्ने भन्दै पोखराबाट हवाई उडान थालिएको थियो। तीनघण्टामा गाडीमा पुगिने दुरीमा हवाई उडान सुरु गर्दा यो रुटमा यात्रु नपाउने धेरैको आशंका थियो। तर, पोखरा–भरतपुर अहिले स्थापित रुट बनिसकेको छ। कोरोनाले पर्यटन क्षेत्र थलिएर विदेशी पाहुनाको आगमन शुन्यमा झरेको अवस्थामा पनि यो रुटमा नियमित उडान भईरहेको छ। त्यो पनि ४७ सिट क्षमताको एटिआर–४२ जहाजका लागि यात्रु अभाव छैन।  

‘पोखरा–भरतपुर धेरैले नपत्याएको हवाई रुट हो। छोटो दुरीमा हवाई उडान संचालन गर्दा यात्रु अभाव हुने धेरैको अनुमान थियो,’ बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बराल भन्छन, ‘तर, अहिले यो रुटमा दिनहुँ उडान भईरहेको छ। १८ सिट क्षमताको जहाजले माग थेग्न नसकेपछि ४७ सिट क्षमताको जहाज प्रयोग भएको छ।’ अहिले उडान भईरहेका रुटमध्ये स्थापित गन्तव्यमा भैरहवा र नेपालगञ्ज पनि हुन्। पोखरा–भैरहवा अहिले दैनिक दुइवटा उडान भईरहेका छन्। त्यस्तै नेपालगञ्ज पनि उडान नियमित भईरहेको छ। सातामा १० वटासम्म उडान नेपालगञ्ज हुने गरेका छन्। बुद्धले मात्र नभई गुण एयरलाइन्सले पनि अहिले पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्ज उडान गरिरहेको छ।  

‘विदेशी पाहुनाबिनाको हवाई उडान संख्या निकै नै राम्रो मान्नुपर्छ। कोरोना संक्रमण यत्तिकैमा रोकिने र विदेशी पाहुना आउन थाल्ने हो भने यो उडानले झनै गति लिनेछ,’ बरालले भने, ‘कोरोना अघि अहिले भन्दा केही महंगो भाडा थियो, किनकी विदेशी पाहुना पर्याप्त हुँदा भाडा घट्न सकेको थिएन। अहिले भाडादर घटेको छ र आन्तरिक यात्रु पनि थपिएका छन्।’ कोरोना अघिको अवस्थामा विदेशी यात्रु पर्याप्त हुँदा पोखराबाट काठमाडौंसम्मको सबैजसो उडानको भाडादर महंगो पर्दथ्यो भने चाहेको बेलामा टिकट पाउन पनि हम्मेहम्मे थियो।

पर्यटन व्यवसायी पनि पोखरा विमानस्थलले पछिल्लो समय निकै नै ठुलो सञ्जाल बिस्तार गर्न सकेको बताउँछन्। पोखरा पर्यटन परिषद् (पिटिसी) का उपाध्यक्ष पोमनारायण श्रेष्ठले आन्तरिक र भारतीय पर्यटक भित्र्याउन यो सञ्जाल निकै नै प्रभावकारी भएको बताउँछन। ‘स्थलमार्ग अप्ठेरो हुँदा पनि यात्रुले छोटो दुरीमा पनि हवाई माध्यम खोजेका हुन्,’ श्रेष्ठले भने, ‘स्थलमार्ग अप्ठेरो हुँदा साह्रै नै सास्ती थियो। अब सहज भएको छ। ठुला सहर अहिले धमाधम पोखरासँग जोडिएका छन्।’ हवाई सञ्जाल बिस्तार हुँदा आन्तरिक यात्रुलाई नै बढि फाइदा पुग्ने उनले बताए। ‘पोखराको हवाई सञ्जालले सोच्दै नसोचेको गति लिएको छ। यत्तिकै कायम राख्न सकियो भने पोखरामा पाहुना आगमन बढाउन सहज हुनेछ,’ उनले भने।

प्रकाशित: ३० फाल्गुन २०७८ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App