१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

खुम्चिँदै खच्चड व्यवसाय

कर्णाली राजमार्ग सञ्चालन आउनुअघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको एक मात्र माध्यम थियो। खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्ची सडकको ट्य्राक्टर भनिन्थ्यो।

बजारदेखि गाउँसम्म सामान ढुवानी गर्ने साधन थिए। पछिल्लो समयमा गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसाय खुम्चिएको छ।

साँघुरो बाटोमा दुईतिर बोरा बोकाएर घण्टी बजाउँदै गाउँसम्म सामान ढुवानी गर्ने गरेको तिला ९ का खच्चड व्यवसायी मुनबहादुर थापाले बिर्सेका छैनन्। उनले अहिले पनि चार पाँच वटा पालेर नजिकैको सीतानगर बजारदेखि सामान लैजान्छन्। उनले भने, ‘पहिले खच्चड व्यवसाय निकै राम्रो थियो। तर अहिले सडक सन्जालको विस्तारसँगै खच्चड लोप हुने अवस्थामा पुगिसकेका छन्।’

ढुवानीका लागि उत्कृष्ट र भरपर्दो माध्यम भए खच्चड नै थिए। सवारीसाधनको प्रयोग र गाडी गुड्ने सडक बनेपछि खच्चडमा ढुवानी गर्दा निकै महंगो पर्र्न गयो। जसकारण किसानले खच्चड पाल्न छाडे। गुठीचौर गाउँपालिका–१ गडिगाउँका राजकुमार थापाले २०५९ देखि २०६६ सम्म खच्चडमा सामान ढुवानी गर्ने व्यवसाय थाले। उनको कमाइ पनि रामै्र भएको थियो। उनले कमाइसँगै सेवा पनि दिइरहेका थिए। तर पछि सडक सन्जाल विस्तारसँगै ढुवानीका लागि खच्चडको माग कम हुन थाल्यो।

अहिले त्यो व्यवसायबाट उनी अलग्गिए। उनले भने, ‘अहिले जब म खच्चड देख्छु। तब विगतको याद आउँछ। मलाई व्यवसायमा लाग्न प्रेरित गर्ने साधन नै खच्चड थिए।’ खच्चड व्यवसायले गरेको फाइदा उनका लागि भविष्य निर्माण गर्ने आधार बन्यो। अहिले उनले आफ्नो घरको सामान ढुवानी गर्नको लागि मात्रै खच्चड पालन गरेका छन्।

‘पहिले कर्णालीका विभिन्न हाटबजारबाट भारी बोकिन्थ्यो तर अहिले गाउँमा मोटरबाटो पुगेपछि ढुवानीसमेत पाउँदैनन्। सबै ट्य्राक्टर, जिपले नै घरघरमा सामान पु¥याउँछन्। यसले गर्दा खच्चड पाल्न समेत धौधौ भएको छ,’ गुठीचौर गाउँपालिका २ कुडीगाउँका खच्चड व्यवसायी राजबहादुर बोहोराले भने, ‘खच्चड व्यवसाय निकै संकटमा छ।’

अहिले गाउँमा खच्चडलाई घाँस दाउरा बोकाउने, मोटर बाटो नपुगेको बस्तीसम्म सामान ओसार्न प्रयोग गर्ने, घर निर्माण गर्ने क्षेत्रमा ढुंगा खच्चडबाट बोकाउने कार्य गरिँदै आएको छ। कतैकतै जडीबुटी, मल, सिमी, आलु, मकै, दाउरा बोकाउने गरिन्छ। सस्तो र छिटो हुने भएपछि गाउँका व्यवसायीसमेत यातायातका साधनप्रति आकर्षित हुन थालेपछि खच्चड विस्थापित हुन थालेका हुन्।

‘खच्चड बिक्री गर्न खोज्दा बिक्री हुँदैन। लामो समय पालेर राखेको खच्चडको माया लाग्छ। गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं,’ राजबहादुरले भने, ‘खच्चड व्यवसाय धरापमा पर्दा निकै मर्का त छ। तर खच्चड पाल्न छोडिएको छैन।’ संघीय व्यवस्था कार्यन्वयनसंगै गाउँमा पुगेका सिंहदरबारले पाँच वर्ष सडकलाई नै प्राथमिकता दिए। जिल्लाको ८ पालिकामा रहेका ६० वडामा सडक जोडिएको छ। गुठीचौर– ३ का गंगाराम गिरीले भने, ‘ सडक सन्जालको पहँुच पुगेका क्षेत्रमा खच्चडको प्रयोग हुने कुरो भएन। अहिले त खच्चड व्यवसायबाट जीविकोपार्जन गर्ने नैे विस्थापित हुनुपर्ने अवस्था आइपुग्यो।’

प्रकाशित: ५ फाल्गुन २०७८ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App