८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

म्याग्दी खोला जलविद्युतको सुरुङ खन्न सुरू

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निर्माणाधीन दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ।

२५ मेगावाट क्षमताको आयोजनाको कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो। नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विष्फोटक पर्दाथ प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाले जनाएको छ।

आयोजनका साइट इन्जिनियर बालकुमार रोकाका अनुसार २ सय ५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पाव हाउस दुवैतर्फ सुरुङ निर्माण सुरु हुने बताए। ‘अब इल्पुमा रहेको बाँध र तल्लो दुखुको आउटलेटबाट पनि सुरुङ खन्ने तयारी भइरहेको छ,’ रोकाले भने।सुरुङ निर्माणको मालिका गाउँपालिका थालनी अध्यक्ष श्रीप्रसाद रोकाले गरेका थिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु, वडाअध्यक्ष सन्तोष सुबेदी, टंकप्रसाद पुन र रेशम जुग्जाली, आयोजनाका सञ्चालक चित्र पुन र अमित गौचन लगायत प्राविधिक टोलीको उपस्थिति थियो। आयोजनाका अध्यक्ष विनोद कुँवरले टनेल निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने बताए। ‘टनेलमा उत्साहजनक प्रगतिसहित समयमै आयोजनाको काम सम्पन्न गर्नेछौं, प्रभावित क्षेत्रका बासिन्दालाई लगानीका लागि समेत अवसर छ,’ अध्यक्ष कुँवरले भने। 

उनले अर्को महिनाबाट सुरुङ खन्ने काम राति र दिउँसो गरी दुई सिफ्टमा हुने बताए। प्रवासी म्याग्देली र स्थानीयको लगानी रहेको धौलागिरि कालिका हाइड्रो लिमिटेडले आयोजना निर्माण गर्न लागेको हो। मालिका गाउँपालिका–७, बिम र वडा नं ५ देवीस्थान र धौलागिरि गाउँपालिका–७ को सीमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग हुनेछ।

सुरुङ मार्ग हुँदै ल्याइने पानीलाई १ सय मिटर हेडबाट रातोढुंगामा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ। ३० प्रतिशत संस्थापक र साधारण सेयरधनीको तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ।

आयोजना निर्माणमा ५ अर्ब १५ करोड खर्च हुने अनुमान गरिएको आयोजनाका प्रबन्ध निर्देशक हर्कमान घर्ती मगरले जानकारी दिए। आयोजनाबाट उत्पादन हुने बिजुली बिमको सबस्टेसन मार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ। हिउँदको चार महिना प्रतियुनिट ८ रूपैयाँ ४० पैसा र बर्खाको ८ महिना प्रतियुनिट ४ रूपैयाँ ८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री हुने सम्झौता भएको छ। आयोजनाको साइट कार्यालय, आवासगृह सहितका भौतिक संरचना तयार भइसकेको छ।

प्रकाशित: २८ माघ २०७८ ०५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App