२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गैंडाको मृत्यु प्रकरणः व्यवसायीलाई कारबाहीबारे महासंघको आपत्ति

चितवन राष्ट्रिय निकुञ्जले गत माघ ९ गते निर्माणाधीन सडकको नालीमा परेर गैंडा मरेपछि निर्माणाधीन ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।नेपाल निर्माण व्यवसायी महासंघले निर्माण कम्पनीविरुद्ध गैरकानुनी रूपमा सम्बन्धित निकायबाट कारबाही अगाडि बढाइएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

इन्डो–सगुन जेभी निर्माण कम्पनीबाट नाली निर्माणको क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियमविपरीत हुने कुनै पनि काम कारबाही नभएको र निर्माण सम्झौताबमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ।

सडक डिभिजन कार्यालय भरतपुरअन्तर्गत उक्त आयोजनाको निर्माण क्षेत्रमा गैँडाको प्राकृतिक आवतजावतको क्रममा भएको दुःखद निधनको तथ्यलाई तोडमोड गरिएको महासंघको भनाइ छ। ‘तथ्य तोडमोड गरी निर्माण व्यवसायीउपर प्रचलित कानुनविपरीत हुने गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दुःख–हैरानी दिने कार्यबाट विभिन्न बाधा अड्चनका बाबजुद भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका व्यवसायीको मनोबल गिराउने र निर्माण कार्यलाई अगाडि बढाउन हतोत्साहित गर्ने काम भएको महासंघको ठहर छ,’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निर्माण स्थलमा कंक्रिटको नाली बनाइसकेपछि पूर्ण रूपमा सेट हुनका लागि प्राविधिक रूपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेकाले नाली नपुरिएको र सम्झौता बमोजिम कम्पनीले साइट सुरक्षाका मापदण्ड र उपायहरू अनुसरण गरी आयोजनाको नियमित सुपरिवेक्षण र निर्देशनमा निर्माण कार्य गरिरहेको अवस्थामा प्राकृतिक रूपमा घटना भएको तथ्य जगजाहेर हुँदाहुँदै निर्माण व्यवसायीलाई नियोजित रूपमा आरोपित गरी झुठो लाञ्छना लगाई मानमर्दन गरिएको कार्यप्रति महासंघले गम्भीर आपत्ति जनाएको हो।

यस घटनालाई लिएर निर्माण कम्पनी इन्डो–सगुन जेभीका प्रतिनिधि सहदेव खड्कालाई अनुसन्धानको नाममा झुठो लाञ्छाना लगाई पक्राउ पुर्जी जारी गरी पक्राउ गर्नेलगायत काम कारबाही तत्काल रोक्न महासंघले जोडदार माग गरेको छ।

साथै भविष्यमा समेत पूर्वाधार विकास निर्माणका कार्यहरू हुने क्षेत्रमा प्राकृतिक रूपमा हुने यस्ता किसिमका घटनामा निर्माण व्यवसायीलाई आरोपित गर्ने कार्य नगर्नसमेत महासंघले नेपाल सरकार तथा सम्बन्धित निकायसँग माग गरेको छ। विश्वमै दुर्लभ एकसिंगे गैंडाको मृत्युबाट महासंघ समेत दुःखी भएको विज्ञप्तिमा उल्लेख छ ।

घटनाको छानविन गर्न वन मन्त्रालयद्वारा गठित छानविन समितिमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत संलग्नता हुने गरी एक निष्पक्ष एवं स्वतन्त्र छानविन समिति गठन गरी यस घटनाको विना कुनै पूर्वाग्रह सत्य तथ्य सार्वजनिक गर्न महासंघले जोडदार माग गरेको छ।

प्रकाशित: १५ माघ २०७८ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App