२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हिमालय एअरलाइन्सले पायो आइएसओ प्रमाणपत्र

नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एअरलाइन्स आइएसओ ९००१ः२०१५ गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ।

एअरलाइन्सको स्तरीय व्यवस्थापन प्रणाली तोकिएको मापदण्डअनुरूप भएकै कारण आइएसओ प्रमाणीकरण गरिएको कम्पनीले जनाएको छ।

एअरलाइन्सले हवाईयात्रा गर्ने यात्रुहरू तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिमलगायत गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरेबापत उक्त प्रमाणीकरण प्राप्त गरेको जनाएको छ।

आइएसओ ९००१ः२०१५ लाई विश्वव्यापी रूपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण संगठनद्वारा (आइएसओ) प्रतिपादित एक प्रभावशाली मानकको रूपमा लिने गरेको कम्पनीले जनाएको छ। आइएसओ ९००१ः२०१५ प्रमाण–पत्र संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स’ र ‘युनाइटेड किंगडम एक्रिडिटेसन सर्भिस (युकेएएस) द्वारा सो एअरलाइन्सलाई प्रदान गरिएको थियो।

हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीका सबै तहमा उच्चस्तरकोे कार्यप्रणाली अपनाउँदै तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले आइएसओ प्रमाणपत्र प्राप्त गर्न सफल भएको बताएका छन्।

व्यावसायिक रूपमा सञ्चालन सुरु गरेको एक वर्षमै हिमालय एअरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यु इन्टरनेसनल एअरलाइन्स इन साउथ एसिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो भने अगस्ट २०२० मा प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आइएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ।

हाल यस एअरलाइन्सले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियादमा उडान सेवा भर्दै आएको छ। एक सय ८० इकोनोमी क्लास सिट भएका तीन एअरबस ३२०–२१४ सिरिज र एक एअरबस ३१९–११५ एअरक्राफ्टमार्फत सेवा दिँदै आएको कम्पनीले निकट भविष्यमा ल्हासालगायत दक्षिण एसियाका अन्य प्रमुख सहरमा सेवा सञ्चालन गर्ने योजना बनाएको छ।

प्रकाशित: ११ माघ २०७८ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App