७ वैशाख २०८१ शुक्रबार
अर्थ

कर्णाली सरकारद्वारा कोरोनाको पूर्व तयारीका लागि सात करोड निकासा

कर्णाली प्रदेश सरकारले कोरोनाको तेस्रो लहर ओमिक्रोन भाइरस संक्रमण रोकथामका लागि सात करोड रुपैयाँ निकासा गरेको छ। प्रदेश सरकारले एम्बुलेन्स तथा शव बहान खरिद, स्वास्थ्य उपकरण र क्वारेन्टिन व्यवस्थापनका लागि सात करोड ६ लाख रुपैयाँ सम्बन्धित कार्यालयलाई निकासा दिइएको मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए।

कर्णाली प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र स्वास्थ्य सेवा कार्यालय सल्यानमा एम्बुलेन्स खरिदका लागि प्रति अस्पताल २० लाखका दरले ८० लाख रुपैयाँ सरकारले उपलब्ध गराएको छ। यस्तै स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय कालिकोट, स्वास्थ्य सेवा कार्यालय सल्यान र स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिमलाई प्रति अस्पताल १२ लाखका दरले जम्मा ४८ लाख रुपैयाँ पठाएको छ।  

‘कर्णालीमा प्रयाप्त एम्बुलेन्स नहुँदा विरामीहरुलाई समयमै अस्पतालसम्म पुर्‍याउन नसकिएको तथ्य हामीसँग छ,’ सोमबार पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहीले भने, ‘त्यसैले कोरोनाको पूर्व तयारी स्वरुप प्रदेश अस्पतालसहित चार वटा स्वास्थ्य संस्थालाई एक–एक वटा एम्बुलेन्स खरिदका लागि रकम निकासा गरेका छौं।’ कोरोनाका अघिल्ला संक्रमणका बेला तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले प्राप्त गरेको गाडी कोरोनाका विरामी बोक्नका लागि उपलब्ध गराएका थिए।  

प्रदेश सरकारले प्रदेश अस्पतालमा मेसिनरी औजार खरिदका लागि ३८ लाख, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतको लागि आवश्यक मेसिनरी औजार खरिदको लागि २ करोड तथा पञ्चपुरी नगरपालिका सुर्खेतको कोभिड–१९ अस्पतालको व्यवस्थापकीय खर्चको लागि १० लाख निकासा गरेको छ।  

प्रदेश सरकारले कर्णालीका ६६ सामुदायिक स्वास्थ्य इकाईहरुका लागि तीन करोड ३० लाख रुपैयाँ निकासा गरेको छ। उनले कोरोना परीक्षण, उपचार तथा ग्रामीण क्षेत्रको स्वास्थ्यलाई सुदृढिकरणका लागि प्रति स्वास्थ्य इकाई पाँच लाख रुपैयाँका दरले निकासा दिइएको बताए।

मुख्यमन्त्री शाहीले पछिल्लो एक महिनाको अवधिमा कर्णालीमा २४५ जनामा कोरोना संक्रमण पुष्टी भएको तथा कोरोना संक्रमण दर दिनदिनै बढ्दै गएको बताए। उनले कर्णालीको कुल जनसंख्याको ४५.४ प्रतिशतलाई पहिलो मात्रा, ३३.६ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाइएको जानकारी दिए। यस्तै लक्षित समूहतर्फ १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ७६.६ प्रतिशतलाई पहिलो मात्रा र १८ वर्ष माथिका ५५.७ प्रतिशतलाई पहिलो मात्रा खोपप लगाइएको जानकारी दिए।  

मुख्यमन्त्री शाहीले कोरोनाको तेस्रो लहर रोकथामका लागि सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताए। उनले कोरोनाको अघिल्ला दुई लहरमा कर्णालीमा अक्सिजनको ठूलो अभाव भोग्नु परेको बताउँदै अहिले कर्णालीका आठ ठाउँमा अक्सिजन प्लान्ट स्थापना गरिएको बताए। ‘कोरोनाको पहिलो र दोस्रो लहरमा कर्णाली प्रदेशले अक्सिजनको ठूलो अभाव भोग्नुपर्‍यो,’ उनले भने, ‘त्यही अभाव पूर्तिका लागि कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर नगर अस्पताल, मेहलकुना अस्पताल, जिल्ला अस्पताल दैलेख, कालिकोट, रुकुम पश्चिमसहित आठ ठाउँमा अक्सिजन प्लान्ट स्थापना गरिएका छन्।’

मुख्यमन्त्री शाहीले कोरोना संक्रमणको न्यूनीकरण, प्रभावकारी उपचार र सहज जनशक्ति व्यवस्थापनका लागि विशेषज्ञ चिकित्सकसहित १५० जना कर्मचारी छनोटको काम भइरहेको बताए। उनले कर्णाली प्रवेश गर्ने मुख्य तीन वटा नाकाहरु मध्ये कुइनेमा कोरोना परीक्षण तथा जामुमा १५ बेडको अस्पताल सञ्चालनमा ल्याइएको बताए।

यस्तै मुख्य प्रवेशद्वार बबईबाट भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट आउने नागरिकहरुलाई भेरीगंगा नगरपालिका–१२ स्थित सरुवा रोग अस्पताल निर्माण हुने स्थलमा होल्डिङ सेन्टर निर्माणको काम सुरु गरिएको तथा कर्णाली प्रदेश अस्पताललाई संक्रमितको चाप घटाउनका लागि भेरीगंगा, गुर्भाकोट र पञ्चपुरी तथा सल्यानको कपुरकोटमा विगतमा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र आइसोलेसन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको बताए।  

कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले यो अवधिमा ७ वटा मन्त्रिपरिषद्को बैठकबाट १७ निर्णय गरिएको बताए। उनले मुगुको गमगढीका आगलागी पीडितहरुलाई तत्कालीन राहत सामग्रीसँगै ६१ लाख ८५ हजार जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिएको, द्वन्द्वपीडित घाइते अपाङ्ग उपचार खर्च कार्यविधि, २०७८, सहिद स्मृति भत्ता वितरण कार्यविधि, २०७८, घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवननिर्वाह भत्ता वितरण कार्यविधि, २०७८ मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको बताए।

यस्तै २०७१ साउनमा आएको बाढीपहिरोबाट विस्थापित भएका सुर्खेतका एक हजार ४५ घरधूरीलाई १२ करोड स्थानीय तहलाई निकासा दिनुका साथै द्वन्द्वपीडित घाइते उपचार कार्याविधि बमोजिम सम्झौता भएको अस्पताललाई रकम निकासा गरिएको बताए।  

मुख्यमन्त्री शाहीले प्रदेशस्तरबाट एफएम रेडियोहरुको दर्ता सञ्चालन तथा नियमनको कार्य अगाडि बढाइएको बताए। उनले पाँच वटा एफएम रेडियोको इजाजत तथा फ्रिक्वेन्सीको कार्य अगाडि बढाइएको बताए।  

प्रदेश सरकारले कर्णालीकै प्रमुख पर्यटकीय गन्तब्य मुगुको राराताल वरीपरी साइकल परिक्रमा मार्ग निर्माण पनि सुरु गरेको छ। यस्तै व्याज अनुदान कार्यक्रमतर्फ बैंकमार्फत २०९ जना र सहकारी ६११ को एक करोड ५१ लाख व्याज अनुदान भुक्तानी गरिएको सरकारले जनाएको छ।

प्रकाशित: ३ माघ २०७८ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App