१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

उपत्यकामा ६ वर्षमा सवारीसाधन दोब्बरः सडक पूर्वाधार पुरानै, ट्राफिक जामले सास्ती

पछिल्लो आधा दशकमा काठमाडौं उपत्यकामा सवारीसाधनको संख्या दोब्बरले बढेको छ। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकाका सडक चौडा बनाउने अभियान सुरु गरेका थिए। अहिले उपत्यकामा सडकको कुल लम्बाइ २ हजार ८६ किलोमिटर पुगेको छ। तर यस अवधिमा उत्पत्यकामा सवारीसाधन भने दोब्बर बढी थपिएका छन्।

भट्टराईपछि बनेका सरकारले संघीय राजधानी काठमाडौंमा सडक चौडा बनाउने कामलाई निरन्तरता दिए पनि लम्बाइ भने खासै बढ्न सकेको छैन। तर वाग्मती प्रदेशमा बर्सेनि एक लाखभन्दा बढी नयाँ सवारीसाधन थपिँदै आएका छन्। मुलुकका अन्य ६ वटा प्रदेशमा दर्ता भएका सवारीसाधन पनि काठमाडौं उपत्यकामा निर्बाध चलिरहेका छन्।

काठमाडौंको सडक सञ्जालको तुलनामा बर्सेनि सवारीसाधन थपिँदै गएपछि चोकचोकमा ट्राफिक जाम बाक्लै देखिन थालेको छ। यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७२/७३ मा वाग्मती प्रदेशमा ९ लाख २२ हजार ९ सय सवारीसाधन दर्ता थिए।

अहिले यो प्रदेशमा दर्ता सवारीसाधनको संख्या (आव ०७८/७९ कात्तिक मसान्तसम्म) १७ लाख ६ हजार ८ सय ३४ पुगेको छ। जसमध्ये उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन छन्। उपत्यकामा गुड्ने १५ लाख सवारीसाधनमध्ये १३ लाखभन्दा बढी दुईपांग्रे छन्। उपत्यकामा आव ०७२/७३ मा दुईपांग्रे (मोटरसाइकल–स्कुटर) को संख्या सात लाख २२ हजार ७ सय २२ थियो।

वाग्मती प्रदेश यातायात, श्रम तथा रोजगार मन्त्रालयका अनुसार आव २०७७/७८ को अन्त्यसम्म यस प्रदेशमा सवारीसाधनको संख्या १६ लाख ८८ हजार २ सय ४० थियो। चालु आवको कात्तिकसम्म अर्थात् चार महिनाको अवधिमा १८ हजार ५ सय ९४ सवारीसाधन थपिएका हुन्। मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा वार्षिक एक लाखभन्दा बढीका दरले सवारीसाधन थपिँदै आएका छन्।

यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक महाशाखाका अधिकारीहरूका अनुसार उपत्यकामा दैनिक १५ लाखभन्दा धेरै सवारीसाधन गुड्छन्। विभागका महानिर्देशक नमराज घिमिरे काठमाडौं उपत्यकाका मुख्यमुख्य चोकमा इन्टरसेक्सन म्यानेजमेन्ट नभएकाले ट्राफिक जाम बढ्दै गएको बताउँछन्।

‘उपत्यकामा सडकको क्षमताभन्दा धेरै सवारीसाधन गुडेकाले जामको समस्या भएको हो,’ उनले बिहीबार नागरिकसँग भने, ‘सहरी क्षेत्रमा पनि प्रतिघण्टा ४० किलोमिटरका दरले सवारीसाधन गुड्नुपर्ने हुन्छ। तर त्यस अनुपातमा नगुड्दा पनि समस्या भएको छ।’

खासगरी चक्रपथबाट बाहिरिने कोटेश्वर, चाबहिल, महाराजगन्ज, बालाजु बाइपास, बल्खु, सातदोबाटो र ग्वार्कोमा ट्राफिक जामको समस्या धेरै देखिएको छ। कार्यालय जाने र फर्किने समय (अफिस आवर) मा यी स्थानमा बढी जाम हुने गरेको छ। पहिले कलंकीमा सबैभन्दा बढी सवारी जाम हुने समस्या थियो। त्यहाँ ‘अन्डरपास’ को व्यवस्था गरेपछि अहिले जाम कम भएको छ। चक्रपथभित्र पनि ठाउँठाउँमा सवारी जामको समस्या छ।

महानिर्देशक घिमिरे राजधानी सहर काठमाडौंमा ‘मास ट्रान्सपोर्टेसन’ भन्दा पनि दुईपांग्रे सवारीसाधनमा बढी प्राथमिकता दिइएकाले ट्राफिक जामको समस्या देखिएको बताउँछन्। ‘काठमाडौं उपत्यकामा साना सवारीसाधनको चाप थेग्न नसक्ने भइसकेको छ,’ उनले भने, ‘सरकारले मास ट्रान्सपोर्टेसनभन्दा पनि दुईपांग्रे सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएका कारण उपत्यकामा ट्राफिक जाम बढ्दै गएको हो।’

ट्राफिक इन्जिनियर आशिष गजुरेल पनि पछिल्लो समय उपत्यकामा दुईपांग्रे सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति अघि बढाउँदा ट्राफिक जाम ह्वात्तै बढेको बताउँछन्।

‘सरकारले सार्वजनिक यातायातलाई सुधार्नुको सट्टा उल्टै दुईपांग्रे सवारीसाधनलाई प्रोत्साहन गर्दै आइरहेकाले अहिले सडकमा जताततै दुईपांग्रे सवारीको लर्काे लागेको छ,’ उनले भने, ‘जुन मुलुकको राजधानी सहरमा दुईपांग्रे सवारीसाधनको लर्को लाग्छ, त्यहाँ ट्राफिक जाम अस्तव्यस्त हुन्छ।’

महालेखा परीक्षकको ५८औं कार्यमूलक तथा विशेष लेखापरीक्षण प्रतिवेदनले पनि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनको कमी, समयको अनिश्चितता एवं असुविधाका कारण विकल्पमा निजी सवारीसाधनतर्फ सर्वसाधारणको आकर्षण बढेको औंल्याएको छ। ‘विभागले धेरै यात्रुले एकैपटक यात्रा गर्न सकिने ठूला बसलाई प्रोत्साहन गर्ने नीति नलिएका कारण थोरै यात्रु बोक्ने साना सवारीसाधनको संख्या बढेको हो।

उपत्यकामा कुल सार्वजनिक सवारीसाधनको ६५ प्रतिशतजति थोरै यात्रु बोक्ने साना गाडी छन्। सवारीसाधन धेरै भए पनि यात्रुको चाप बढ्दो छ,’ प्रतिवेदनमा छ, ‘साना सवारीसाधनले गर्दा दुर्घटनामा बढी क्षति हुनुका साथै ट्राफिक व्यवस्थापन र यात्रुको सुविधामा समेत असर परेको छ। अर्कातर्फ यात्रुले अनाहकमा दुःख पाइरहेका छन्।’

सरकारले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनका लागि लोकप्रिय योजना घोषणा गरेर पनि कार्यान्वयन हुन सकेको छैन। सरकारले मास ट्रान्जिट, मोनो रेल, मेट्रो रेल, अन्डरपास, ओभरपासहरू, बाहिरी चक्रपथ निर्माण जस्ता योजना घोषणा गरे पनि कार्यान्वयनमा नआउँदा सवारी जामले उपत्यकाका सडक अस्तव्यस्त छन्।

ट्राफिक इन्जिनियर गजुरेलले काठमाडौं उपत्यकामा मेट्रो तथा मोनो रेल सञ्चालन नगर्दासम्म ट्राफिक जाम समस्या निराकरण नहुने बताउँछन्। ‘अहिले सार्वजनिक यातायातका गाडी पूर्णतया निजी क्षेत्रले चलाउँदै आएको छ। जबसम्म सरकारले सार्वजनिक यातायातमा लगानी गरेर यसलाई सरल र सुलभ बनाउँदैन, तबसम्म सुध्रिने अवस्था आउँदैन,’ उनले भने।

जाइकाले सन् २०१७ मा गरेको अध्ययनअनुसार करिब २८ प्रतिशत मानिसले सार्वजनिक सवारीसाधनको प्रयोग गर्छन्। सो अध्ययनअनुसार ४१ प्रतिशतले पैदल यात्रा गर्छन् भने ३१ प्रतिशतले मोटर साइकल, कारजस्ता निजी सवारीसाधन प्रयोग गर्छन्। यसले गर्दा पनि ट्राफिक जाम हुने गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ उपरीक्षक जनक भट्ट राजधानी काठमाडौंमा सडकको क्षमताभन्दा धेरै सवारीसाधन गुड्नु, क्रसिङ जक्सन, सडकको अवस्था, चालकको लापरबाहीलगायतका कारणले सवारी जाम हुने गरेको बताउँछन्। ‘काठमाडौंमा पूर्णरूपमा सवारीसाधन ठप्पै भएर जाम हुनेभन्दा पनि केही समय पर्खनुपर्ने (क्यु लाग्ने) अवस्था देखिँदै आएको छ,’ उनले भने, ‘उपत्यकामा अहिले सबैभन्दा धेरै क्यु लाग्ने समस्या कोटेश्वर, थापाथली क्षेत्रमा देखिएको छ।’ उनले सडक क्षमताभन्दा धेरै सवारीसाधन गुड्ने भएकाले यस्तो समस्या देखिएको बताए। २०७७ फागुन मसान्तसम्म मुलुकभर ३९ लाख ८७ हजार २६७ सवारीसाधन दर्ता भएका छन्।

प्रकाशित: २३ पुस २०७८ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App