७ वैशाख २०८१ शुक्रबार
अर्थ

मोबाइल बैंकिङ प्रयोगकर्ता डेढ करोड बढी

मोबाइल बैंकिङ प्रयोग गर्नेको संख्या निरन्तर वृद्धि भइरहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या एक करोड ५१ लाख ५३ हजार चार सय पुगेको छ।

यो संख्या गत वर्षको असोज महिनाको तुलनामा २७ प्रतिशतले बढी हो। गत वर्षको असोजसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड १९ लाख हाराहारी थिए। नेपालमा सन् २००८ मा एसएमएसबाट मोबाइल बैंकिङको सुरुवात भएको थियो। कोरोना महामारी सुरु भएपछि मोबाइल बैंकिङ सेवा लिनेको संख्या झनै बढेको बैंकरहरू बताउँछन्। खासगरी बैंकको एपबाट भुक्तानी गर्ने, खाता खोल्ने, बैंक खाताको विवरण हेर्ने, एटिएम कार्डबिना नगद झिक्न सकिने लगायतका थुप्रै सेवा ग्राहकले उपयोग गर्ने गरेका छन्।

सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थामा खोलिएका खाताको तुलनामा मोबाइल बैंकिङ सेवा लिनेको संख्या भने अझै थोरै रहेको छ। राष्ट्र बैंकका अनुसार यतिखेर वाणिज्य र विकास बैंक तथा लघुवित्तमा खाता खोल्नेको संख्या तीन करोड ९४ लाख १३ हजार पाँच सय हाराहारी छन्। यी ग्राहकमध्ये एक करोड ५१ लाख ५३ हजार चार सयले मोबाइल बैंकिङ सेवा लिएकाले यो कुल खातासँग तुलना गर्दा ३८.४४ प्रतिशत हो।

स्मार्टफोनको पहुँच र मोबाइल डाटाको उपलब्धताले पनि मोबाइल बैंकिङ सेवा वृद्धि भइरहेको बैंकरहरूको भनाइ छ।

मोबाइल बैंकिङ सेवा विस्तार वाणिज्य बैंकको मुख्य भूमिका रहेको छ। तथ्यांक हेर्दा पनि यी बैंकका ग्राहकले मोबाइल बैंकिङ सेवा धेरै प्रयोग गरिरहेका छन्। वाणिज्य बैंकका एक करोड ३४ लाख ५३ हजारभन्दा धेरे ग्राहकले मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने गरेका छन्। त्यस्तै, विकास बैंकका १६ लाख ३६ हजार र लघुवित्तका ६३ हजार ६ सयले यस्तो सेवा लिइरहेका छन्।

६ वर्षमा सात सय प्रतिशत वृद्धि

राष्ट्र बैंकको तथ्यांक अनुसार २०७३ असोजमा १९ लाख २४ हजार ९ सय ४६ मोबाइल बैंकिङका ग्राहक थिए। चालु आवको असोज महिनाको तथ्यांकसँग तुलना गर्दा मोबाइल बैंकिङ चलाउने ग्राहकको संख्या ६ सय ७८ प्रतिशतले वृद्धि भएको छ। २०७३ असोजमा बैंकका खाता खोल्ने कुल ग्राहकको संख्या एक करोड ७५ लाख १९ हजार दुई सय ८७ थियो। कुल खातासँग तुलना गर्दा मोबाइल बैंकिङ चलाउने ग्राहक १०.९८ प्रतिशत थिए।

एक वर्षमा ५५ खर्ब बढीको कारोबार

गत आर्थिक वर्षमा विद्युतीय भुक्तानीमा उछाल देखिएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार विद्युतीय भुक्तानीमार्फत् कुल ५४ खर्ब ९० रूपैयाँ कारोबार भयो। पछिल्लो एक वर्षमा इ–कमर्श, क्युआर कोड स्क्यान, वालेटको प्रयोग, कनेक्टआइपीएसको प्रयोगमा उल्लेख्य वृद्धि हुँदा कारोबार रकम ह्वात्तै बढेको हो।

तथ्यांकअनुसार सबैभन्दा बढी कनेक्ट आइपीएसबाट हुने कारोबारमा वृद्धि देखिएको छ। कनेक्ट आइपीएसबाट एक वर्षमा १४ खर्ब रूपैयाँभन्दा बढी कारोबार भएको छ। अघिल्लो आवको असार महिनामा ५१ अर्ब रूपैयाँको कारोबार भएकोमा गत आवको असार महिनासम्म आइपुग्दा यस्तो कारोबार मासिक दुई खर्ब ३७ अर्ब ७५ करोड ८० लाख रूपैयाँ पुगेको छ।

त्यसैगरी क्युआर कोड स्क्यान गरी हुने कारोबार रकम पनि एक वर्षमा २० अर्ब २८ करोड रूपैयाँ पुगेको छ। अघिल्लो आवको साउनमा ५८ करोड ९० लाख रूपैयाँको कारोबार भएकोमा गत आवको असारमा मात्रै तीन अर्ब ६५ करोड १० लाख रूपैयाँ बराबरको कारोबार भएको छ। 

प्रकाशित: १९ पुस २०७८ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App