५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

भेडेटारमा तीन दिने फुड फेस्टिबल

सुनसरी र धनकुटाको सिमानामा अवस्थित प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा तीन दिने नवौं फुड फेस्टिबल शुरु भएको छ।

अँग्रेजी नयाँ वर्ष २०२२ लाई स्वागत गर्दै आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले फुड फेस्टिबल शुरु भएको हो। फेस्टिबलको एक समारोहबीच प्रदेश १ का भौतिक पुर्वाधार विकास मन्त्री हिमाल कार्कीले उद्घाटन गरेका थिए।

भेडेटारका पर्यटन व्यवसायीहरुले बिशेषतः अँग्रेजी नयाँ वर्ष मनाउन आउने भारतीय पर्यटकहरुको बसाई लम्ब्याउन फुड फेस्टिबलको अवधारणा शुरु गरेका थिए। पछिल्लो २ वर्ष भने कोरोना संक्रमणको कारण अँग्रेजी नयाँ वर्ष मनाउन भेडेटारमा भारतीय पर्यटकहरु भेडेटार आउन पाएका छैनन्। यो वर्ष कोरोना संक्रमण कम भएपनि अम्रिकोनको कारण पुनः भारतीय पर्यटकहरु अपेक्षा बमोजिम नआउने चिन्ता यहाँका पर्यटन व्यवसायीहरुलाई छन्।

फेस्टिबलको उद्घाटन गर्दै मन्त्री कार्कीले १ नम्बर प्रदेशको समृद्धिको मूल आधार पर्यटन, कृषि र जलस्रोत भएको बताए। उनले प्रदेश १ हावापानी, वातावरण, भौगोलिक बनावटको दृष्टिकोणले सिंगो नेपाल जस्तो भएको बताए। 

‘यहाँ हिमाल, तराई, पहाड छ। नेपालभरि बसोबास गर्ने जातजातिको समिश्रण छ, धर्म र सँस्कृतिको पनि अनुपम संगम छ,’ उनले भने, ‘१ नम्बर प्रदेश सिँगो नेपाल जस्तो छ, कृषिलाई व्यवसायीकरण गरेर प्रदेशलाई समृद्ध गर्न सकिन्छ। जलस्रोतको उच्चतम समुपयोग गरेर यो क्षेत्रको विकास गर्न सकिन्छ। त्यस्तै पर्यटनको अत्यन्तै सम्भावना बोकेको प्रदेश हो।’ मन्त्री कार्कीले प्रदेश १ मा विश्वको अग्लो शिखर सगरमाथा भएको, नेपालकै सबैभन्दा होचो भूभाग झापाको केचनाकवल पनि यही प्रदेशमा भएको बताए।

धार्मिक पर्यटनको दृष्टिबाट पनि हलेसी महादेव, पाथीभारा र पिण्डेश्वर जस्तो महत्वपूर्ण धार्मिक गन्तव्यहरु भएको प्रदेश बताए। ‘भेडेटार सिंगो नेपालको पर्यटनको गन्तव्य बन्न सक्छ, यहाँको प्राकृतिक सौन्दर्यता, वातावरणले आकर्षित गर्छ,’ उनले भने, ‘साँगुरीगढीको समग्र विकासको लागि प्रदेश सरकारले सहकार्य गर्छ, सम्भावनाहरुलाई अघि बढाउन, समृद्धिको लागि छलफल र बहस गर्न तयार छ।’

होटल व्यवसायी महासंघ प्रदेश १ का सचिव वासुदेव वरालले कोरोनाले थला परेको पर्यटन व्यवसायलाई उठाउन प्रदेशको पर्यटकीय ब्राण्ड तयार गर्न जोड दिए। प्रदेशबाहिर र विदेशमा प्रदेश १ को पर्यटन प्रर्वद्धनको लागि ब्राण्डिङको आवश्यकता हुने उनले बताए।

यसको लागि राज्यले पनि सहयोग गर्नुपर्ने उनको भनाइ थियो। ‘हामीले व्यक्तिगत नाफाको लागि मात्र होइन, सबैको समृद्धि हुन्छ भनेर लगानी गरेका हौं,’ उनले भने, ‘२ वर्ष कोभिडले क्षतविक्षत बनायो, उठ्ने प्रयास गर्देछौं, राज्यले पनि साथ दिनुपर्छ, पार्टनरकोरुपमा हेर्नुपर्छ। हाम्रो पर्यटनको मुख्य आकर्षण के हो, के चिज विश्वव्यापीरुपमा चिनाउने हो, त्यसको ब्राण्डिङ गर्नुपर्छ।’ फेस्टिबल उद्घाटन समारोहमा धरानकी महिला पत्रकार मनिता चाम्लिङ र धनकुटाका पत्रकार खगेन्द्र घिमिरेलाई नगद सहित सम्मान पनि गरिएको थियो।

एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार तीन दिनमा २० देखि ३० हजार पर्यटकहरु घुम्न आउने अपेक्षा गरिएको छ। साथै, फेस्टिबलमा १ करोड बराबरको कारोबार हुने पनि अनुमान गरिएको उनको भनाइ छ। फेस्टिबलमा भेडेटारका होटल र लजहरुले १० प्रतिशत छुट दिनेछन् भने देवीथान जिपलाइनमा ३ वटै क्याटोगोरीमा १५ प्रतिशत छुट र प्याराग्लाइडिङमा पनि फेस्टिबल अवधिभर पर्यटकहरुले ३० प्रतिशत छुट दिइएको छ।

फेस्टिबलमा भेडेटार क्षेत्रमा उत्पादन भएको अर्गानिक खानेकुरा, कृषि, घरेलु उत्पादनको प्रर्वद्धन तथा स्टलहरु छन्। तीन दिन साँझ साँस्कृतिक कार्यक्रम हुने पनि आयोजकले जनाएको छ।

भेडेटार घुम्न आउने पर्यटकहरुको लागि थुप्रै गन्तव्यहरु छन्। भेडेटार क्षेत्र र आसपासमा भ्यु टावर, पाथीभारा देवी मन्दिर, शंखेश्वर महादेव र भेडेटार पार्क, थुम्किस्थित आत्माघर, नाम्जेको होम स्टे, सुर्योदय पार्क थुम्की, नमस्ते झरना, साँगुरीगढी, ओख्रे भ्युटावर, राजारानीस्थित ध्वजे डाँडा, अजंगको वरको रुखलगायत पर्यटकीय गन्तव्यहरु पर्यटकको रोजाईका गन्तव्यहरु हुनेछन्।

प्रकाशित: १६ पुस २०७८ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App