८ वैशाख २०८१ शनिबार
अर्थ

जुम्लामा नुनको राजनीति अन्त्य

तिला गाउँपालिका–९ का मानबहादुर बुढा २०५९ सालमा नुन लिन सदरमुकाम खलंगा आइपुगे। उनले पाँच केजी नुनका लागि नेता गुहार्नुपर्‍यो। नेताले कुपन दिएपछि मात्र उनले नुन पाए। उनले नुनसँगै चामल पनि लिएर घर फर्किए। नुन सुनभन्दा त सस्तो थियो,’ उनले भने, ‘रूपैयाँ हुनेका लागि सुन किन्न सहज थियो तर रूपैयाँ हुने नहुने दुवैका लागि नुन किन्न निकै कठिन थियो। नुनको राजनीतिले सिंगो जुम्ला प्रभावित थियो।’

आफू र आफ्नो निकट नेता, सांसद र कर्मचारी नहुँदा उतिबेला नुन पाउन मुस्किल हुन्थ्यो। सर्वसाधारणको पहुँचमा नुन थिएन। तर पछिल्लो समयमा जुम्लामा नुन फालाफाल छ। अहिले दैनिक २० देखि ३० क्विन्टलसम्म नुन बिक्री भइरहेको साल्टट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाले जनाएको छ।

अहिले नियमित रूपमा कोटा अनुसारको नुन समयमै आउने भएकाले महँगोमा बजारमा बिक्री हुने गरेको नुन विस्थापित भइसकेको छ। ‘बजारमा नुन पाउन कठिन छ,’ उनले भने, ‘सार्वजनिक बिदाबाहेक कार्यालय समयमा पुग्दा नुन आवश्यकता अनुसारको प्राप्त हुन्छ। नुनको कार्यालय गएर रित्तो हात फर्कनुपरेको छैन।’

व्यापारीले बजारका पसलमा नुन राख्न छाडेका छन्। ‘साल्टट्रेडिङ कर्पोरेसनको कार्यालयमा मागेअनुसारको नुन पाइन्छ,’ मानबहादुरले भने, ‘सस्तो मूल्यमा नुन पाउन थालेपछि बजारको महँगो नुन कसले किन्छन् र ?’ बजारमा प्रतिप्याकेट नुन २५ देखि ३० रूपैयाँसम्म पर्छ। तर साल्टट्रेडिङ कर्पोरेसनको कार्यालयमा प्रतिप्याकेट ९ रूपैयाँमा नुन पाइन्छ।

एक परिवारले ११ केजी नुन पाउने गरेर व्यवस्थापन गरिएको साल्टट्रेडिङ कर्पोरेसनको कार्यालय जुम्लाका लेखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए। उनले भने, ‘लामो दुरी पार गरेर आएका सेवाग्राहीलाई उनीहरूले माग गरेअनुसार नुन दिँदै आएका छौं। नुनका लागि न कसैको दबाब खेप्नुपरेको छ, न त कसैको प्रभावमा पर्नुपरेको छ। अहिले सहज तरिकाले सेवाग्राहीको नुनको चाहना परिपूर्ति गर्न पाउँदा उत्साहित छौं।’

जुम्लामा नुनका लागि सिँजाको कनकासुन्दरी गाउँपालिकामा एक बिक्री केन्द्र छ। जहाँ वार्षिक एक हजार क्विन्टल कोटा नुन आउँछ। सिँजा गाउँपालिकाको नराकोटमा नुनको डिपो राखिएको छ। त्यहाँ वार्षिक ७ सय कोटा नुन आउँछ। तर त्यहाँ एक हजार ५ सय क्विन्टल खपत हुने गरेको छ। कोटाअनुसारको नुन सकिएपछि आवश्यकता अनुसार नुन माग गर्ने गरिएको छ। बिक्री केन्द्र र डिपो सिँजा क्षेत्रका हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका लागि राखिएको हो। अन्य बाँकी स्थानीय तहका लागि सदरमुकामस्थित साल्टट्रेडिङ कर्पोरेसनको कार्यालयबाटै नुन वितरण हुँदै आएको छ।

पहिले नुन पाउनका लागि नेतासँग जानुपर्ने, विभिन्न सरकारी निकायमा धाउनुपर्ने, गाविसमा गएर कुपन ल्याउनु पर्ने, संसद् मन्त्रीसँग हारगुहार गर्नुपर्ने थियो। स्थानीय प्रशासनको सिफारिस चाहिने हुन्थ्यो। तर अहिले निर्धक्क नागरिक सिधै आवश्यकता अनुसार नुन लिएर जान्छन्।

लेखा प्रमुख मल्लले कुनै पनि नागरिक नुन ल्याउन आएर कार्यालयबाट फर्कनुनपरेको बताए। कर्णाली राजमार्ग सञ्चालनमा आयो। सडक मार्गदेखि नै नुन ढुवानी हुन थाल्यो। प्रमुख मल्लले भने, ‘अहिले सेवा दिन पनि निकै सरल छ। समयमै नुन आपूर्ति भइरहेको छ। जुम्लामा नुनको अभाव झेल्नु परेको छैन।’

पहिले हवाइमार्गबाट नुन ढुवानी गर्दा खरिद मूल्यभन्दा नुनको ढुवानी खर्च बढी आउँथ्यो। नुन निकै महँगोमा बेच्नुपथ्र्यो। अहिले सस्तोमा नुन पाउँछ। सिँजा क्षेत्रमा रहेको नुनको डिपो र बिक्री केन्द्रमा कर्मचारी अभाव छ। महिनामा एकएक हप्ता मात्र डिपो र बिक्री केन्द्र खुल्छ। सार्वजनिक बिदाको दिनमा पनि नुन बेच्ने गरेको प्रमुख मल्ल बताउँछन्।

जुम्ला सदरमुकाम खलंगास्थित कार्यालयका लागि झन्डै ६ हजार क्विन्टल नुन आवश्यक पर्छ। तर तीन हजार क्विन्टलको कोटा मात्र छ। कार्यालयको गोदाममा मौज्दात नुन हेरेर क्षेत्रीय कार्यालयमा माग गर्ने गरिएको छ। यो वर्ष कनकासुन्दरी बिक्री केन्द्रमा १ हजार क्विन्टल नुनको कोटा रहेकामा १ सय ७० क्विन्टल मात्र प्राप्त भएको छ। नराकोटमा ७ सय क्विन्टल कोटामा ७ सय क्विन्टल नै प्राप्त भएको छ।

सदरमुकामको गोदाममा दुई हजार पाँच सय क्विन्टल नुन आइसकेको छ। पाँच सय क्विन्टल नुन आउन बाँकी छ। कोटा अनुसारको नुन पुग्दैन। तर नुनको अभाव पछिल्लो समयमा जुम्लावासीले खेप्नु पर्दैन। प्रजिअको अध्यक्षतामा रहेको आपूर्ति समितिले नुनको अभाव भएमा तत्काल माग गर्ने गर्छ।

प्रजिअ विजयाकुमारी प्रसाईंले साल्टट्रेडिङ कर्पोरेसन कार्यालय पुगी नुनको अनुगमन गरेकी छिन्। उनले नुनको हालको अवस्था, ढुवानी र बिक्रीको दरका विषयमा जानकारी लिइन्।

कार्यालयले दिने सेवाबारे अनुगमन गरेर फर्किएको जिन्सी प्रमुख मल्ल बताउँछन्।

उनले भने, ‘पहिले सुनको सिरानी हालेर नुनको खोजीमा भौतारिनु परिरहेको हुन्थ्यो तर अहिले नुन सहजै रूपमा पाउन थालेपछि सेवाग्राही उत्साहित छन्। जिल्लाले नुन अभाव भएको सन्देश पठाउनु परिरहेको छैन। साल्टट्रेडिङ कर्पोरेसनको कार्यालयमा प्रतिकेजी नुनको ९ रूपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित: १६ पुस २०७८ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App