१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

निगमको न्यारोबडी कतारमा ग्राउन्डेड

नेपाल वायुसेवा निगमको न्यारोबडी ए३२० विमान (एन–एकेडब्लू) ग्राउन्डेड भएको छ। इन्जिनमा समयस्या आएपछि उक्त जहाज कतारको दोहा विमानस्थलमा ग्राउन्डेड भएको हो।

नियमित उडानका क्रममा पुस १३ गते दोहा पुगेको उक्त जहाज सुरक्षित अवतरणपश्चात पार्किङ गर्ने क्रममा इन्जिनमा समस्या देखिएको निगमलेले जनाएको छ। दोहास्थित कतार एयरवेजको इन्जिनियरिङ टिमले विमानको निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा समस्या पहिचान गरेपछि जहाजको मर्मत गर्न समय र खर्च लाग्ने देखिएको छ।

इन्जिन उत्पादनकर्ता कम्पनीले निगमलाई इन्जिन फेरेर मर्मत गर्न सुझाव दिएपछि विमान उडानयोग्य हुन समय र थप समय र खर्च लाग्ने देखिएको हो। सोही दिन जापानको नारिता उडानको तयारी गरिरहेको वाइडबडी ए३३० मा समेत प्राविधिक समस्या देखिएपछि ग्राउन्डेड भएको छ। नेपालमै ग्राउन्डेड भएको उक्त जहाजले मर्मतपछि बिहीबारदेखि उडान सुरु गरेको छ।

नारिता उडानको तयारी क्रममा परीक्षण गर्दा समस्या देखिएपछि दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउन्डेड भएको हो। उडान नम्बर आरए–४३३ मार्फत नारिता उड्न विमानस्थल पुगेका एक सय ३० यात्रु जहाजमा समस्या आएको खबरपछि नेपालमै रोकिएका थिए। ती यात्रुलाई निगमकै खर्चमा होटलमा राखेर बुुधबार अर्काे उडानबाट नारिता उडाइएको छ।

सोही विमानमा नारिताबाट काठमाडौं आउने तयारीमा रहेका उताका यात्रुलाई समेत निगमकै खर्चमा होटलमा लगेर राखिएको स्रोतले जनाएको छ। नेपालबाट उडान भर्नुअघि हुने परीक्षणमा जहाजको इलेट्रिकल कन्ट्राक्टर मेनेजमेन्ट युनिटमा समस्या देखिएपछि श्रीलंकाबाट पार्टपूर्जा मगाएर मर्मत गर्नुपरेको थियो।

दुई दिन ग्राउन्डेड भएको उक्त जहाजले मर्मतपछि बिहीबार दिल्ली उडान भरिसकेको निगमले जनाएको छ। एकै दिन दुईवटा जहाजमा समस्या आएपछि यात्रुको होटल व्यवस्थापन खर्च र इन्जिनमर्मत खर्चले निगमको सञ्चालन खर्चमा समेत थप भार पुगेको छ।

प्रकाशित: १६ पुस २०७८ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App