२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एउटा मात्र वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी

सरकारी स्वामित्वको कृषि विकास बैंकले अघिल्लो वर्षको तुलनामा लाभांश वृद्धि गरेर घोषणा गरेको छ। तीन दिनअघि उक्त बैंकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.९५ प्रतिशत लाभांश घोषणा गरेको हो।

कृषिले घोषणा गरेकै दिन सेन्चुरी कमर्सियल बैंकले पनि लाभांश घोषणा गरेको छ। उक्त बैंकले गत वर्षको आम्दानीबाट ६.०५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा बोनस सेयर ५.७५ र नगद ०.३० प्रतिशत छ।

पछिल्लो समय यी दुई बैंकले लाभांश घोषणा गरेसँगै अब गत वर्षको आम्दानीबाट लाभांश घोषणा गर्ने बैंकको संख्या २५ पुगेको छ। यीमध्ये केही बैंकले नियामक निकाय नेपाल राष्ट्र बैंकबाट लाभांश वितरणको स्वीकृति लिई साधारणसभाबाट पास गरेर लगानीकर्ताको खातामा लाभांश पठाइसकेका छन्।

नेपालमा २७ वाणिज्य बैंक सञ्चालनमा रहे पनि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छैन। जसले गर्दा २६ वाणिज्य बैंकले मात्र सर्वसाधारण लगानीकर्तालाई लाभांश दिने गर्छन्। अब सिभिल बैंकले मात्र गत वर्षको आम्दानीबाट लाभांश घोषणा गर्न बाँकी छ।

हालसम्म सार्वजनिक विवरणअनुसार सबभन्दा बढी लाभांश नबिल बैंकले वितरण गर्ने घोषणा गरेको छ। नबिलले ३३.६ प्रतिशत बोनस सेयर तथा ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ।

त्यस्तै हिमालयन बैंकले २१ दशमलव ३८ प्रतिशत बोनस सेयर तथा ४.६२ प्रतिशत नगद गरी २६ प्रतिशत लाभांश दिने भएको छ। सानिमा बैंकले १७ प्रतिशत बोनस तथा ०.८९ प्रतिशत नगद, नेपाल बैंकले १४ प्रतिशत बोनस तथा ३ प्रतिशत नगदसहित १७ प्रतिशत लाभांश घोषणा गरेको छ।

गत वर्षको कमाइबाट प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस तथा ०.६३ प्रतिशत नगद गरी कुल १६ दशमलव ६३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। नेपाल इन्भेस्टमेन्ट बैंकले १२ दशमलव ६१ प्रतिशत बोनस तथा ३.३८ प्रतिशत नगद,सिटिजन्स बैंकले १२.९१ प्रतिशत बोनससहित १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

एनएमबी बैंकले लगानीकर्तालाई १२.५ प्रतिशत बोनस सेयर तथा ३.३ प्रतिशत नगदसहित १५.८ प्रतिशत, एनआइसी एसिया बैंकले १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद गरी १५ दशमलव ७८, नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५ प्रतिशत नगद, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगदसहित १५ प्रतिशत, माच्छापुच्छे बैंकले १३.३ प्रतिशत बोनससहित १४ प्रतिशत, बैंक अफ काठमाडौंले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश घोषणा गरेका छन्।

त्यस्तै ग्लोबल आइएमई बैैंकले १० प्रतिशत बोनस तथा ३.५ प्रतिशत नगदसहित १३.५ प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस तथा ३.०६ प्रतिशत नगद गरी १३.०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन्। प्रभु बैंकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगदसहित १२ दशमलव ६३ प्रतिशत लाभांश दिने जनाएको छ।

मेगा बैंकले १० प्रतिशत बोनस तथा २.०७ नगदसहित १२.०७ प्रतिशत, लक्ष्मी बैंकले ८ प्रतिशत बोनस तथा ३.५ नगद गरी ११.५ प्रतिशत, एभरेस्ट बैंकले ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद, कुमारी बैंकले ६ प्रतिशत बोनस तथा २.६७ प्रतिशत नगद, नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी) ले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद र सनराइज बैंकले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगदसहित ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

हालसम्म घोषणा गरेको लाभांशअनुसार सबैभन्दा कम नेपाल एसबिआई बैंकले ३.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरी जम्मा ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कोरोना महामारीका कारण बैंकहरूको गत वर्षको आम्दानीमा धेरै गिरावट आउने अनुमान गरिए पनि समग्रमा लाभांश सन्तोषजनक तरिकाले नै वितरण गरेको पाइएको छ।

बैंकरहरू अहिले घोषणा भएको लाभांश पुँजीको तुलनामा निकै थोरै मान्नुपर्ने बताउँछन्। वाणिज्य बैंकका साथै सञ्चालनमा रहेका अधिकांश विकास बैंकले पनि गत वर्षको आम्दानीबाट लाभांश घोषणा गरिसकेका छन्। विकास बैंकको लाभांश पनि सन्तोषजनक नै रहेको छ।

प्रकाशित: ५ पुस २०७८ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App