१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सुन्तलाबाट लखपति बन्दै स्याङ्जाका किसान

एकैजना किसानले वर्षमा ३० लाख बढी नाफा लिन्छन्

बोटमा लटरम्म पाकेका सुन्तला। फाइल तस्बिरः नागरिक

एकजना किसानले सुन्तला खेतीबाट वर्षमा कति आम्दानी गर्लान्?  धेरैको अनुमान उति नहोला, जति स्याङजाका किसानले कमाउँछन्। स्याङजाका एकैजना किसानले सुन्तला बेचेर वर्षमा ३० लाख भन्दा बढी रकम नाफा मात्र कमाउँछन्। ३० लाख नाफा कमाउँदा ती किसानको आम्दानी झन्डै ४० लाख पुग्छ। नाफा बाहेकको रकम उनको खर्च कटौती हो।  

स्याङजाका सुन्तला किसान फणिनारायण अर्यालले पोहोर सुन्तलाबाट ३२ लाख रुपैयाँ नाफा मात्र कमाएका थिए। करिब ४० लाख रुपैयाँ सुन्तलाबाट आम्दानी गरेकोमा खर्च कटाउँदा पनि ३२ लाख रुपैयाँ नाफा मात्र भएको अर्यालले बताए। ‘२०३६ सालदेखि सुन्तला खेती सुरु गरेको हुँ। पोहोर सबैभन्दा बढी नाफा भयो। तर, योपटक पोहोरजति आम्दानी नहुने पक्का छ,’ अर्यालले भने, ‘योपटक उत्पादन घटेकोले आम्दानी पनि घट्नेछ।’  

अर्यालले बारीमा २०३६ सालदेखि सुन्तला रोप्न थालेका थिए। सुरुमा ५–६ रोपनीमा १ सय बोट सुन्तला रोपेका थिए। त्यसपछि आकार बढाउँदै लगे। धान फल्ने खेत पनि मासेर सुन्तला रोप्न थालेका उनको ८० रोपनीमा १८ सय बोट सुन्तला छन । ती सबैजसो बोटले दाना दिन्छ। उनले पछिल्लो समय ३–४ वर्षमा दाना दिने बोट रोपेका छन्। ‘सुन्तलाले मलाई सबथोक दिएको छ। लामो समयदेखिको यो खेतीमा रहँदा आम्दानी पनि बढेको छ,’ अर्यालले भने। सुन्तला खेती गर्ने किसानले मल, सिंचाई, काँटछाँटमा खर्च गर्नुपर्छ। नत्र मौसमले साथ दिएमा आम्दानी राम्रो हुनले उनले बताए।

स्याङजाकै मुक्ति अधिकारीले पनि पोहोर सुन्तला खेतीबाट २० लाख रुपैयाँ नाफा मात्र कमाएका थिए। उनले पोहोर २६ लाख ११ हजार रुपैयाँमा सुन्तला बेच्दा २० लाख मुनाफा मात्र हात पारेका थिए। ३ सय रोपनी क्षेत्रफल खेतीमा उनले २१ सय बोट लगाएका छन। ती मध्ये साढे ४ सय बोटबाट मात्र उनले अहिले आम्दानी लिन्छन। अरु अझै फल्न थालेका छैनन। ‘साढे ४ सय बोटबाट २० लाख रुपैयाँ नाफा मात्र कमाउनु चानचुने कुरा होईन। तर, यो पटक भने पोहोरजस्तो आम्दानी नहुने भएको छ,’ अधिकारीले भने, ‘सुन्तलाले मलाई गाडी चढ्ने औकात बनाईदिएको छ।’

अर्याल र अधिकारीजस्ता स्याङजाका धेरै किसानले सुन्तलाबाट वर्षेनी लाखौं रुपैयाँ आम्दानी गर्छन। वर्षमा १० लाख रुपैयाँ नाफा कमाउने किसान धेरै नै छन्। एकलाखदेखि ३२ लाख रुपैयाँ वर्षमा सुन्तलाबाट नाफा मात्र गर्ने किसान स्याङजामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना सुन्तला सुपर जोनका प्रमुख माधव लम्साल बताउँछन्। लम्सालका अनुसार स्याङजामा झन्डै २ हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ। १२ सय हेक्टरका विरुवामा फल लाग्ने गरेको छ। बाँकी ८ सय हेक्टर क्षेत्रफलमा विरुवा लगाइएको छ। ती विरुवाले अबको केहीवर्षमा दाना दिन थाल्नेछन।

लम्सालका अनुसार पोहोर स्याङजामा करिब १५ हजार टन सुन्तला फलेको थियो। पोहोर सुन्तलाबाट मात्र स्याङजाका किसानले करिब ५५ करोड रुपैयाँ हात पारेका थिए। ‘वर्षमा ३०–३२ लाख रुपैयाँ नाफा कमाउने पनि किसान केही छन्। १०–१५ लाख रुपैयाँ त धेरै किसानले हात पार्छन,’ लम्सालले भने। 

लम्सालका अनुसार यतिबेला स्याङजामा सुन्तला टिप्नेको बगैंचामा भीडभाड छ। पोखरा, बुटवल, नारायणगढ, काठमाडौं सहितका सहरका ब्यापारी सुन्तला किन्न स्याङजा पुगेका छन। स्याङजाका किसानलाई सुन्तला बिक्री नहोला भन्ने चिन्ता नै नरहेको उनले बताए। ‘पोहोर कोरोनाले गर्दा किसान अलि डराए। नत्रभने किसानले घरै बसीबसी सुन्तलाबाट लाखौं कमाउँछन,’ उनले भने। स्याङजाको पुतलीबजार, अर्जुनचौपारी, वालिङ, गल्याङ, भीरकोट लगायतका क्षेत्रका गाउँ सुन्तला बढी उत्पादन हुने ठाउँ हुन्।  

सुन्तलालाई औंसा र वर्षाको मार

स्याङजामा योपटक सुन्तला उत्पादन घट्ने देखिएको छ। बढी वर्षा भएको, औसा किराको प्रकोपले उत्पादनमा असर परेको सुपरजोनका प्रमुख लम्सालको भनाई छ। उनका अनुसार स्याङजाको १२ सय हेक्टरमा योपटक १२ हजार टन मात्र सुन्तला फल्ने अनुमान छ। यो वर्ष करिब ५० करोड रुपैयाँ मात्र आम्दानी हुने उनको अनुमान छ। ‘पोहोर भन्दा उत्पादन केही घटेको छ, तर, मुल्य भने बढेको छ,’ उनले भने,‘त्यसले गर्दा पनि आम्दानीमा असर पर्ने पक्का छ।’  

उनका अनुसार अहिले सुन्तला टिप्ने बेला भएको छ। धेरैजसो बिक्री पनि भईसकेको छ। तर, पोहोर भन्दा अहिले मुल्य बढेको छ। पोहोर औसत मुल्य ४५ रुपैयाँ प्रतिकिलो बगैंचाबाट बिक्री भएकोमा योपटक प्रतिकिलो ७० रुपैया बगैंचाको गेट (फार्म गेट) मै परेको उनले बताए। ‘उत्पादन घटेको तर, मुल्य बढेकोले किसानलाई थोरै भएपनि राहत त मिल्छ,’ उनले भने। 

लम्सालका अनुभवमा ‘सुन्तला उत्पादनमा ‘अफ इयर’ र ‘अन इयर’ हुने गर्छ। अफ इयरमा कम फल्ने र अन इयरमा धेरै फल्ने हुन्छ। यो पटक कम फल्ने पालो (अफ इयर) परेको छ। यो वर्षैपिच्छे फरक हुन्छ। उत्पादन पनि वर्षेपिच्छे तलमाथि हुने गरेको उनले बताए।  

लम्सालका अनुसार उत्पादन घट्नुमा यो वर्ष औंसा किराको मार पनि छ। पाक्ने बेला औसाले दाना झार्छ। पाँच प्रतिशत दाना किराले झारेको उनले बताए। उनका अनुसार यो  किरा बैशाख–असारमा मार्न मिल्छ। अहिले झरेका फलबाट खसेका किरा माटोमा मिसिने र बैशाखमा फूलमा पुग्ने हुँदा त्यसले उत्पादनमा असर परेको उनले बताए। ‘सुन्तलाको दानाभित्र किरा भेटिन्छन। यसले चूनौती थपेको छ,’ उनले भने। अहिले औंसा नियन्त्रण गर्न झरेका दानालाइ पोको पारेर खाडलमा पुर्ने वा प्लाष्टिकमा पोको पारेर दाना राख्ने गरिएको छ। प्लाष्टिकको पोकोमा हावा नछिर्नेगरि बाँधेर राख्दा किरा मर्ने गरेको उनले बताए।  

लम्सालले जस्तै किसानले पनि यो पटक उत्पादन घट्ने देखेका छन। किसान अर्यालका अनुसार स्याङजामा अहिले पानी अधिक पर्दा त्यसको मार सुन्तला उत्पादनमा परेको छ। औंसाको असर पनि सुन्तलामा परेको अर्यालले बताए। ‘फूल खेल्ने बेला पानी अधिक परेकोले फूल खसाल्यो। बचेको फूल पनि बढी खडेरी पर्दा सुख्खा भयो र त्यसलै क्षति पु¥यायो। प्राविधिक पक्ष कमजोर भएको छ,’ अर्यालले भने।  

अर्का किसान अधिकारी पनि अहिले पानी अधिक पर्दा उत्पादनमा मार परेको छ। ‘अब सुन्तला किसानलाई औंसा किराबाट चुनौती बढेको छ। बेलैमा यो किरा नियन्त्रण गर्न सकिएन भने त्यसले आगामि वर्ष पनि मार पार्ने त्रास छ,’ अधिकारीले भने, ‘योपटक त मेरो आम्दानी नै आधा घट्ने अनुमान छ।’

प्रकाशित: ४ पुस २०७८ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App