७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

हरित नगर योजना कार्यान्वयन भएन

कोहलपुर बजार क्षेत्रमा जथाभावी फालिएको फोहोर। तस्बिर: नागरिक

बाँकेस्थित कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/९ मा नगरलाई ‘हरित नगर’ बनाउने योजना अगाडि सार्‍यो। औद्योगिक हबका रुपमा विकसित हुँदै गएको नगरलाई दीर्घकालीनरुपमा स्वच्छ र हराबरा राख्न नगरलो महत्वाकांक्षी योजना अगाडि सारेको थियो, तर अहिले उक्त योजनाको कार्यान्वयनको पाटो भने कुछुवाको गतिमा छ।  

योजना निर्माण गरे पनि प्रभावकारीरुपमा कार्यान्वय हुन नसक्दा हरिन नगर बनाउने योजना ओझेलमा परेको हो। उक्त नीतिमा हरित नगरको रुपमा नगरपालिकालाई विकास गर्न र नगरलाई सौन्दर्यकरण गर्न आवश्यक स्थानमा वृक्षारोपण, पुष्पवाटिका, हरित पार्क निर्माण र नगरलाई सहरी सौन्दर्यकरण गर्ने कार्यको थालनी गरिने उल्लेख गरिएको छ। 

नगरपालिकाले विगतमा पनि यस्तै नारा बनाउने गरेको थियो। तर अहिलेसम्म ती कुनै पनि नारा कार्यान्वयन भएको पाइएको छैन। ‘नीति तथा कार्यक्रममा सुन्दर नारा देखिन्छन्, तर कार्यान्वयन पक्ष निकै फितलो छ,’ हरित तथा सफा, सुन्दर नगर बनाउनको लागि सबैको साथ आवश्यक रहेको सरोकारवाला बताउँछन्।

कोहलपुर नगरपालिकाले अहिले व्यवस्थापन गर्न नसकेको अर्को महत्वपूर्ण काम हो, ‘फोहोर व्यवस्थापन।’ अहिलेसम्म अस्थायीरुपमा फोहोर व्यवस्थापन हुँदै आए पनि दीर्घकालीन समाधान अझै हुन सकेको छैन। जटायु नामक एक संस्थाले फोहोर उठाउने काम गरिरहेको छ। कोहलपुरमा दैनिक १० देखि १२ टन फोहोर उत्सर्जन हुने गरेको छ। फोहोर व्यवस्थापनको जिम्मा जटायुलाई दिएको भन्दै कोहलपुर नगरपालिकाले दीर्घकालीन व्यवस्थापनका लागि प्रयास जारी गरेको बताउँदै आएको छ।  

यस विषयमा कोहलपुर नगरपालिका प्रमुख कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावत अस्थायीरुपमा फोहोर व्यवस्थापन भने भइरहेको स्वीकार गर्दछन्। आफ्नै कार्यकालमा कोहलपुरमा फोहोर व्यवस्थापनको सम्पूर्ण प्रक्रिया पूरा हुने उनको दाबी छ। सोहीअनुसार अहिले फोहोर व्यवस्थापन मात्रै होइन दिसाजन्य फोहोर व्यवस्थापन र यसबाट आम्दानी गर्ने उद्देश्यसहित मेघा परियोजनाको प्रक्रिया अघि बढाइएको छ।  

यतिमात्रै होइन, फोहोर व्यवस्थापनका धेरै काम गर्नमा नगरपालिका असफल देखिएको छ। जिल्लाको दोस्रो ठूलो सहर भए पनि  मुख्य सडक क्षेत्रमै उचित फोहोर व्यवस्थापन हुन सकेको छैन। सहायक सडक तथा भित्री सडकमा जथाभावीरुपमा फोहोर फालिरहेको देखिन्छ। सडक तथा पेटीहरुमा व्यवसाय गर्नेहरुका कारण फोहोर भइरहेको छ। लामो समयदेखि ठेला व्यवस्थापनको प्रयास गरे पनि अफल हुन सकेको छैन। छाडा पशु चौपायका कारण नगर फोहोर व्यवस्थापनमा चुनौती मात्रै थपिएको छैन, कोहलपुर नगरपालिका कुरुप बन्दै गएको छ। यहाँका विभिन्न स्थानमा जथाभावीरुपमा कुहिने र नकुहिने वस्तु फालेको देखिन्छ। चुरोट, गुट्खालगायतका खोष्टासमेत अव्यवस्थितरुपमा फालेको देख्न सकिन्छ।

प्रकाशित: ४ पुस २०७८ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App