७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

एक्यान र हेभी इक्विपमेन्ट व्यवसायी महासंघबीच सहकार्य

लेखा व्यवसायीको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यानं) र हेभी इक्विपमेन्ट महासंघबीच सहकार्यसम्बन्धी समझदारी भएको छ। दुवै संस्थाले पारस्परिक लाभकारी रणनीतिक गठबन्धन स्थापना गर्न, ज्ञान आदानप्रदान, तालिम, अनुसन्धान, नीतिगत परामर्शमा सहकार्य गर्न समझदारी गरेका हुन्।

उक्त समझदारीपत्रमा एक्यानका अध्यक्ष आनन्दराज शर्मा वाग्ले र महासंघका अध्यक्ष प्रेम श्रेष्ठले हस्ताक्षर गरेका हुन्। समझदारी अनुसार दुवै संस्थाले वित्तीय नीति र  प्रक्रियामा विभिन्न सरोकार वालासँग सहकार्य र संयुक्त रूपमा लबी गर्ने र दुवै पक्षलाई फाइदा हुने अनुकूल वातावरण सिर्जना गर्नेतर्फ मिलेर काम गर्नेछन्।

प्रशिक्षण, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रम संयुक्त रूपमा आयोजना गर्ने, महासंघ र मातहतका जिल्लास्तरमा गठित विभिन्न समितिहरूमा आवश्यकता अनुसार एक्यानको प्रतिनिधित्व गर्न पदेन सदस्य रहने व्यवस्था मिलाउने, दुवै संस्थाका प्रदेश तहका कार्यालय र समितिबीच समन्वय गरी आपसी समझदारी र सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने समझदारी पत्रमा उल्लेख छ।

दुई वर्षका लागि गरिएकाे समझदारी अन्तर्गत एक्यानले महासंघका सदस्यलाई विषयगत तालिम पनि उपलब्ध गराउने छ।समझदारीबारे टिप्पणी गर्दै महासंघका अध्यक्ष श्रेष्ठले यसबाट महासंघमा आबद्ध ३६ जिल्लाका १० हजारभन्दा बढी सदस्यले चार्टर्ड एकाउन्टेन्टसहरूको विज्ञतामा आधारित सरसल्लाहबाट प्रभावकारी व्यावसायिक योजना बनाएर अघि बढ्न सक्ने बताए।

एक्यानका अध्यक्ष वाग्लेले आफ्ना सदस्यहरूको विज्ञताबाट हेभी इक्विपमेन्ट व्यवसायीहरू लाभान्वित हुन सकून् भन्ने उद्देश्यले नै सहकार्य गर्न लागेको बताए। संघले सञ्चालन गर्दै आएको कर , बजेट, मौद्रिक नीति लगायत अन्य आर्थिक नीतिसम्बन्धी सचेतना कार्यक्रम महासंघका सदस्यमार्फत अघि बढाउन पनि यो सहकार्यले योगदान गर्ने उनको भनाइ छ।

प्रकाशित: १ पुस २०७८ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App