जुम्ला गुठिचौर गाउँपालिका ५ का मीनबहादुर भण्डारीले उच्च घनत्वको स्याउ ३० हजार विरुवा रोपेका छन्।
उनको बगैँचा नेपालकै अत्यधुनिक र ठुलो बगैँचाका रुपमा गणना हुने गरेको छ। जग्गा लिजमा लिएर उनले उच्च घनत्वको फुजी जातको स्याउ लगाएर प्रतिफल लिन थालेपछि यहाँका किसान अहिले त्यही स्याउ खखेती गर्न थालेका छन्। मीनबहादुरले यो पटक बगैँचामै प्रतिकेजी २ सय रुपैयाँमै स्याउ बेचे। लगाएको ६ महिनाभित्रै फल दिने यो स्याउ जुम्ली किसानको रोजाइ बनेको छ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा पछिल्लो समयमा जुम्ला किसान उच्च घनत्वको फुजी स्याउ तीर आकर्षित भएको बताउँछन। उनले भने,‘यो स्याउ जुम्लाको हावापानी सुहाउँदो भएकाले पनि किसानले बढी जोड दिएका छन्। यो स्याउबाट प्रतिफल पनि छिटो पाइन्छ। बजारमा माग पनि अत्यधिक छ।’
गत आर्थिक बर्षसम्म उच्च घनत्वको स्याउ जुम्लामा ५५ हेक्टरमा मात्र सिमित थियो। अहिले २ सय ४० हेक्टर क्षेत्रफल विस्तार हुँदैछ। कर्णाली प्रदेश सरकारले ७० प्रतिशत लागत अनुदानमा यो स्याउ उपलब्ध गराउने कार्यक्रम राखेको छ।
सिंचित गर्न सकिने ठूलो क्षेत्रफल जमिन भएका किसानका लागि यो सुनौलो अवसर हुनेछ,प्रमुख देवकोटाले भने,‘प्रतिविरुवा ७० प्रतिशत रकम सरकारले बेहोर्नेछ। तीस प्रतिशत सम्बन्धित किसानले लगानी गर्नुपर्नेछ।’
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दररेट निर्धारणसमिति प्रतिविरुवाको १ हजार रुपैयाँ मूल्य निर्धारण गरिसकिएको छ। जिल्लामा उच्च घनत्वको स्याउको विरुवाको मुल्य एकैनासको नहुँदा किसान मर्कामा परेको गुनासो आउन थालेपछि प्रतिविरुवा १ हजार रुपैयाँ मुल्य तोकिएको हो।
यो पटक २४ हजार विरुवा भित्रिनेछन्। जसका लागि सिलबन्दी दरभाउ मूल्य सूची माग भइसकेको छ। एक महिने सूचना आह्वान गरेर स्याउ खरिदको प्रक्रिया शुरू भइसकेको छ।
यो स्याउको दाना निकै पोटिलो छ। स्टोरेज क्षमता राम्रो छ। लगाएको पहिलो बर्षमै उत्पादन दिन सकिने अवस्था रहन्छ,प्रमुख देवकोटाले भने,‘मूल्य पनि बढि नै छ। बजारको माग पनि राम्रो छ। उनले थपे,’यस कारणले पनि यो स्याउ जुम्ली किसानको रोजाइमा परेको हो।’
दोमट माटो भएको जमिनमा यो स्याउ खेती उपयुक्त हुने गरेको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यो बर्ष मात्रै एक लाख ८० हजार स्याउको विरुवाको माग आएको छ। सबै एकै पटक उपलब्ध गराउन सकिने अवस्था छैन। यहाँको हावापानी सुहाउँदो भएकोले किसानले बढी रुचाएका हुन्।
यो स्याउ तेस्रो मुलुकबाट आउँछ। पुरानो रैथाने डेलिसियस जातको स्याउलाई कुनै असर गर्दैन। प्रमुख देवकोटाले भने,‘रैथाने जातको स्याउले ढिलो प्रतिफल दिने भएकोले किसान छिटो प्रतिफल दिने स्याउखेतीमा लागेका हुन्। यो स्याउ नेपालका ठूला शहरसम्म पुग्ने गरेको छ। किसानले स्वस्थ स्याउका विरुवा पाउनेछन्। अहिले यहाँका किसानले जमिन लिजमा लिएर उच्च घनत्वको फुजी स्याउको खेती गरिरहेका छन्।
प्रकाशित: २४ मंसिर २०७८ ०३:५५ शुक्रबार