२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सान्जेन र रसुवागढी छिटो सक्न ताकेता

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजना जतिसक्दो चाँडो निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारण समेतको लगानीमा निर्माण भइरहेका आयोजना सम्पन्न हुन ढिलो भएपछि प्राधिकरणले आफ्नो तथा सहायक कम्पनीको समेत लगानी रहेका आयोजनाको काम जतिसक्दो छिटो सक्न निर्देशन दिएको हो।

कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको अनुगमनका क्रममा आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदार र परामर्शदातासँग छलफल गरी बाँकी काम छिटो सक्न निर्देशन दिएका छन्। चिलिमेका प्रबन्ध–सञ्चालक हुँदा घिसिङले तीनवटै आयोजनाको वित्तीय व्यवस्थापन गरी एकसाथ अगाडि बढाएका थिए। ‘मुख्य सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ, सर्वसाधारणको पनि लगानी रहेको आयोजनाको निर्माण यथाशक्य छिटो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ,’ घिसिङले भने, ‘बाँकी काम समानान्तर रूपमा अगाडि बढाएर ७/८ महिनाभित्र सम्पन्न गर्नुपर्छ।’ 

भूकम्प, भारतीय सीमामा भएको अवरोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ, कठिन भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका जटिलता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बाढीपहिरो, कोभिड–१९ महामारी लगायत कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ। माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायत सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरण जडान सम्पन्न भइसकेका छन्। आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ।  

माथिल्लो सान्जेनको क्यासकेडको रूपमा रहेको सान्जेनको सुरुङ, सर्जट्यांक खन्ने काम सम्पन्न भई अन्तिम रूप दिने काम भइरहेको छ। विद्युत् गृहका उपकरण रहने संरचनाको निर्माण सम्पन्न भइसकेको छ। सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ।

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिक चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ। निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिक मंगलबार नेपाल आउन लागेकाले त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकले उपकरण जडान सुरु गर्नेछन्। प्रसारण लाइनका टावर निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकी छ।  

रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणको ठेकेदारले आफ्नो काम आगामी चैतभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। इलेक्ट्रोमेकानिकल ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो। इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरण आयोजनास्थलमा आइसकेका छन् जडान पनि भइरहेको छ।  

‘इलेक्ट्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ, उपकरण जडानका लागि ठाउँको अभाव छैन, कामदार थपेर सबै ठाउँमा समानान्तर रूपमा काम गरी ८/९ महिनाभित्र सक्नुहोस्, ठेकेदारका समस्या समाधानका लागि हामी सहजीकरण गर्नेछौं,’ घिसिङले भने।

तीनवटै आयोजनाको बिजुली निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ। चिलिमे तथा त्रिशूली ३बी हब सबस्टेसन र चिलिमे–त्रिशूली ३ बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यही प्रसारण लाइनमार्फत ती आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ।

प्रकाशित: १४ मंसिर २०७८ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App