१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

भौतिकमा कनिष्ठलाई जिम्मेवारी

सुशासन र सामाजिक न्याय नभएको गुनासो गर्दै आएका पाँच दलको गठबन्धनबाट बनेको सरकारले पूर्णता पाएको दुई महिना बित्न नपाउँदै सुशासनलाई लत्याउँदै मनपरी निर्णय हुन थालेको पाइएको छ। 

बजेटको हिसाबले धेरै रकम विनियोजन गरिएको र विकास  निर्माणमा नेतृत्वदावी भूमिका खेल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व तह आर्थिक चलखेलमा लाग्दा काबिल, सक्षम र वरिष्ठ कर्मचारीको साटोमा कनिष्ठ र अनुभव नभएकालाई जिम्मेवारी दिन थालिएको छ।

‘मालदार’ ठाउँ भनेर चिनिएका आयोजनामा मन्त्री तथा सचिवले मनपरी कनिष्ठ कर्मचारी पठाएपछि मन्त्रालय र सडक विभागका कर्मचारी आतंकित बनेका छन् । ‘धेरै बजेट भएका र राष्ट्रिय महत्त्वका ठूला आयोजनामा सक्षम र अनुभवीले प्राथमिकता पाउनुपर्ने हो,’मन्त्रालयका एक प्राविधिक सहसचिवले भने, ‘तर कर्मचारीतन्त्रमा हुने पदीय सोपानलाई बेवास्ता गर्दै आर्थिक प्रलोभनमा परी मनपरी गरिएको छ।’

मनपरी किन गरिएको भन्नेबारे नेतृत्व तहमा रहेका (मन्त्री, सचिव) लाई सोध्दा एकले अर्कोलाई देखाएर पन्छिने गरेको ती सहसचिवको भनाइ छ। ‘जबकि मन्त्रालयभित्रै जुनसुकै आयोजनामा वरिष्ठ हुँदाहुँदै कनिष्ठलाई पठाउन हुँदैन भन्ने सबैलाई थाहा छ।

योग्यता नपुग्ने मान्छेले कुनै पनि पद र अवसर खोज्छ भने त्यहाँ कुत्सित मनसाय हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा नेतृत्वमा रहेन सचिव, मन्त्रीले ख्याल गर्नुपर्ने हो  तर अहिले उल्टै नेतृत्व नै आर्थिक चलखेलमा लागेर वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई जिम्मेवारी दिने धन्दामा लागेका छन्।’ मन्त्रालयका अनुसार हुलाकी सडक आयोजनामा कार्यरत प्राविधिक सहसचिव (सुई) रोहित बिसुराललाई सरुवा गरेर कनिष्ठ डिई धमेन्द्र झालाई कामुको जिम्मेवारी दिइएको महत्त्व। जबकि सडक विभागका रहेका डिईहरूको सूचीमा झा २४औं नम्बरमा छन्। हुलाकीबबाट तानिएका बिसुराल यतिखेर जगेडामा छन्। सरुवापछि उनी हाजिर लगाउने र घर फर्कने गर्छन्।

भारतको सहयोगमा निर्माण भइरहेको हुलाकी सडक विभिन्न कारणले ढिलाइ हुँदै आएका कारण त्यस सडकमा परिपक्व र माथिल्लो तहमा रहेको व्यक्तिलाई जिम्मेवारी दिनुपर्नेमा कनिष्ठलाई जिम्मेवारी दिएका कारण मन्त्रालयको नेतृत्व कामप्रति गम्भीर नदेखिएको कर्मचारीहरूको भनाइ छ।

जिम्मेवारीविहीन बनाइएका बिसुरालले समयमा काम नगरेका कारण पप्पु कन्सट्रक्सनको ११ करोड रूपैयाँ धरौटी तानेर कारबाही गरेका थिए। पछिल्लो समयमा तिनै पप्पु बलियो हुँदै गएका कारण बिसुराललाई सरुवा गरेर कनिष्ठलाई पठाइएको हुन सक्ने मन्त्रालयका कतिपय कर्मचारीको आशंका छ।

त्यस्तै, संघीय सडक इटहरीमा १५औं नम्बरमा रहेका ज्ञानेन्द्र झालाई कामु  बनाइएको छ। त्यहाँ पनि प्राविधिक सहसचिवको दरबन्दी छ। ‘इटहरीमा पठाउन ज्ञानेन्द्रजीभन्दा थुप्रै वरिष्ठहरू साथीहरू हुनुहुन्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यहाँ पनि वरिष्ठता नभई अरू नै चिजले काम गर्‍यो।’ सडक सम्भार शाखाको नेतृत्व सम्हाल्दै आएका भीमार्जुन अधिकारीलाई झिकेर प्रभात झालाई खटाइएको छ।

नयाँ मन्त्री (रेणुकुमारी यादव) आएको एक/डेढ महिना नपुग्दै प्राविधिक सहसचिव मात्र नभई डिभिजनल इन्जिनियर (डिई) रहने स्थानमा पनि इन्जिनियरलाई कामु दिएर पठाउन थालिएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘लाग्छ अबको २–४ महिनामा जसले पैसाको चलखेल गर्न सक्छ, उसले मात्रै जिम्मेवारी पाउँछ। यस्तो धन्दामा नलाग्नेहरू जिम्मेवारीविहीन हुन्छन्।’

करिब एक महिनादेखि बिसुरालको अतिरिक्त प्राविधिक सहसचिवहरू  अधिकारी, दीपक श्रेष्ठ, प्रेमप्रकाश खत्रीलाई जगेडा राखेर कुनै जिम्मेवारी दिइएको छैन। ‘जबकि माथिल्लो तहमा पुगेको कर्मचारीलाई एक साताभन्दा बढी जिम्मेवारीविहीन बनाएर राख्न नपाइने मन्त्री, सचिव सबैलाई थाहा छ,’ स्रोतले भन्यो, ‘यस्तो मनपरी हुँदा पनि कसैलाई मतलबै छैन।’

खत्री हालै बढुवा भए पनि बिसुराल, अधिकारी र श्रेष्ठ पुराना सहसचिव हुन्। विभागमा उनीहरूलाई काबिल र सक्षम कर्मचारीको रूपमा चिन्ने गरिन्छ। मन्त्री, सचिवसँग पहुँच भएका कारण खत्रीसँगै हालै बढुवा भएका ललिजन खनाललाई भने मन्त्रालयमा योजना महाशाखाको जिम्मेवारी दिइएको छ। योजना महाशाखाको जिम्मेवारी पनि वरिष्ठ सहसचिवलाई दिने प्रचलन छ।

‘भर्खर बढुवा भएका कारण अन्य स्थानमा गएर काम सिकेर आउनुपर्ने व्यक्तिको पहिलो पोस्टिङ नै योजना महाशाखा रोजेको देख्दा अचम्ममा परेका छौंं,’ एक वरिष्ठ सहसचिवले भने, ‘यस्ता आलाकाँचाले कसरी नेतृत्व गर्न सक्लान् र विकास, निर्माणको क्षेत्रमा राम्रो नतिजा आउला?’

धेरै बजेट खर्च गर्ने जिम्मेवारी भए पनि मन्त्रालयको प्रगति भने निकै न्यून छ।  पुँजीगत खर्च हुन नसकेका कारण यतिखेर विकास निर्माणमा मात्र ढिलासुस्ती हुने गरेको छैन। समग्र अर्थतन्त्र नै समस्यामा छ। न्यून पुँजीगत खर्चका कारण वित्तीय प्रणालीमा चरम तरलता अभाव छ। जसले गर्दा उद्योगी, व्यवसायीले कर्जा पाउन सकेका छैनन्। कर्जा विस्तार हुन नसकेका कारण रोजगारी सिर्जना हुन सकेको छैन।

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले कनिष्ठलाई जिम्मेवारी दिइनुको कारण वरिष्ठले जिम्मेवारी लिन नचाहनु रहेको दाबी गरे। उनले अहिले गरिएको सरुवा सचिव स्तरबाट नभएको उल्लेख गर्दै मन्त्रीले ‘उपयुक्त ठाउँमा उपयुक्त मान्छे राख्नुभएको होला’ भन्ने प्रतिक्रिया दिए। अहिले भएको सरुवामा ९० प्रतिशत सन्तुष्ट रहेको श्रेष्ठको भनाइ छ। ‘जसलाई अन्याय परेको छ, उनीहरूलाई २–४ दिनमै जिम्मेवारी दिइन्छ’ उनले भने, ‘यतिखेर हल्ला अलि बढी भएको हो।’

श्रेष्ठले आफू पनि सकेसम्म कायममुकायम दिन नहुने पक्षमा रहेको जिकिर गरे। मन्त्रालय स्रोतले मन्त्री र सचिव कनिष्ठलाई जिम्मेवारी दिँदा कसरी लाभ लिन सकिन्छ भन्नेबारे यतिखेर खुलेरै लागेको बतायो। यस्तो धन्दामा सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले पनि सघाइरहेको कर्मचारीको भनाइ छ।

मन्त्रालय मातहत यतिखेर २६ प्राविधिक सहसचिव, एक सय ५० सिडिई/डिई तथा तीन सय इन्जिनियर कार्यरत छन्। एउटा इन्जिनियर प्राविधिक सहसचिव (सुई) बन्न कम्तीमा दुई दशकको अनुभव चाहिन्छ।

प्रकाशित: ८ मंसिर २०७८ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App