२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पुसभित्रै कोटेश्वर–जडीबुटी कालोपत्रे

कोटेश्वर–जडीबुटी सडक विस्तारको काममा खटिएका कामदार। तस्बिरः नागरिक

जडीबुटी–कोटेश्वरको जाम कम गर्ने उद्देश्यले अघि सारिएको कोटेश्वर–जडीबुटी सडक विस्तार कार्य आगामी पुस मसान्तभित्रै सकिने भएको छ।

सडक डिभिजन कार्यालय काठमाडौंले कोटेश्र–जडीबुटीको दाहिनेतर्फ ४ सय मिटर र द्रेवेतर्फ तीन सय मिटर सडक विस्तार गर्ने योजना अघि सारेको थियो।

गत असारभित्रै यो खण्डको सडक विस्तार कार्य सम्पन्न हुनुपर्नेमा कोभिड–१९ को दोस्रो लहरले काम प्रभावित भएको थियो। सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर सुप्रिम चुडालले कोभिड–१९ को दोस्रो लहर र निर्माण सामग्री अभावले तोकिएको समयभित्रै कोटेश्वर–जडीबुटी सडक विस्तार हुन  नसकेको बताए।

‘यो सडक विस्तार कार्य गत असार मसान्तभित्रै सम्पन्न हुनुपर्ने थियो। एकातर्फ कोभिड–१९ को दोस्रो लहर र अर्काेतर्फ निर्माण सामग्रीको हाहाकारले तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन सकेन,’उनले भने,‘अहिले विस्तार गरिएको खण्डमा आवश्यक पूर्वाधार तयार पारेर सिमेन्टेड सबबेस तयार पार्ने काम भइरहेको छ।’

इन्जिनियर चुडालले आगामी पुस मसान्तभित्रै कोटेश्वर जडीबुटी सडक विस्तार अन्तर्गत दुवैतर्फको सात सय मिटर सडक कालोपत्रे हुने बताए। ‘पर्खाल लगाउने लगायत अन्य काम लगभग सकिएको छ, अबको एक साताभित्रै सिमेन्टेड सबबेस तयार गर्दैछौं,’ उनले भने, ‘पुस मसान्तभित्रै कालोपत्रे सम्पन्न गर्नेछौं।’

सरकारले पछिल्लो समय कोटेश्वर जडीबुटी खण्डमा अत्यधिक सवारी जाम भएसँगै सडक चौडा गर्ने योजना अघि सारेको थियो। सोही अनुरूप सडक विस्तार गर्न लागिएको हो। दाहिनेतर्फ तीन लेन र देब्रेतर्फ थप एक लेन विस्तार गर्ने योजना छ।

डिभिजन कार्यालयले यो खण्डको सडक विस्तारको लागि गत पुसमा ठेक्का सम्झौता गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पर्खाल सारेसँगै साबिकको विमानस्थलको जग्गामा ट्र्याक खोल्ने काम गरिएको थियो। कोटेश्वर–जडीबुटी तीन लेनको सडक विस्तार गर्ने कामको ठेक्का तुँदी/सुसन जेभीले पाएको थियो। कार्यालय र ठेकेदार कम्पनीबीच २०७७ पुस २१ गते सम्झौता भएको थियो।

जेभीले सात करोड ८१ लाख लागतमा यो सडक निर्माण गर्ने ठेक्का पाएको हो। आगामी असारभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ। ‘जापान सरकारको सहयोगमा यो खण्डको सडक चार लेनको निर्माण गरिएको थियो,’ उनले भने, ‘अहिले फेरि तीन लेन थप गर्न लागिएको हो।’ यसअघि मनहरा करिडोर बनेसँगै लोकन्थली–नरेफाँट जोड्ने बेलिब्रिजदेखि बालकुमारी पुलसम्मको वैकल्पिक सडक बनेसँगै कोटेश्वर–जडीबुटी खण्डमा सवारी चाप कम भएको छ।

अरनिको राजमार्गमा जाने अधिकांश सवारी साधन कोटेश्वरबाट छुट्ने गर्छन्। कोटेश्वर चोक अहिले मिनिबसपार्क जस्तै छ। जनकपुर, ओखलढुंगा, सिन्धुली लगायत पूर्वी जिल्लामा जाने सवारी साधनले सडकमै रोकेर यात्रु चढाउँछन्।

अर्काेतर्फ कोटेश्वर चोकमै बस स्टप छ, जण्हाँ लामो दुरीका सवारी साधन दिनभरजस्तै पार्क गरेर राखिएका हुन्छन्। भक्तपुर, पेप्सीकोला लगायत स्थानमा चल्ने छोटो दुरीका सवारी साधनले सडकमै रोकेर यात्रु चढाउने र झार्ने गर्दा चोकमा जाम बढ्ने गरेको छ।

नरेफाँटदेखि–बालकुमारी पुलतर्फ र ललितपुरबाट भक्तपुरतर्फ जाने सवारी साधनले अब कोटेश्वर र जडीबुटीको जाम सामना नगरिकनै गन्तव्यमा जान सक्ने भएका छन्। सरकारले पछिल्लो समय वाग्मती करिडोर,हन्तुमन्ते करिडोर, नक्खु, विष्णुमती, मनोहरा लगायत नदीको करिडोर निर्माण गरेर उपत्यकाको मुख्य सडकको चाप कम गराउने प्रयास गरिरहेको छ। 

प्रकाशित: ७ मंसिर २०७८ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App