८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको कारोबार

१८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल हस्तकला महासङ्घद्वारा काठमाडौँको ह्यात होटेलमा आयोजित तीन दिनसम्म चलेको मेलामा करिब रु आठ करोडको कारोबार भएको हो।

कार्यक्रमको समापनमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाली हस्तकलाको विदेशमा राम्रो माग भएको भन्दै हस्तकला क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार लाग्ने बताए। उनले नेपालको अर्थतन्त्रमा हस्तकला क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’ले यस्ता मेलाले नेपाली हस्तकलाको प्रवर्द्धनमा सहयोग पुग्ने बताउँदै हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले निर्यात व्यापार र रोजगारी सिर्जनाका साथै देशको कलासंस्कृतिको संरक्षण संवर्द्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए।

महासङ्घका उपाध्यक्ष एवम् मेलाका संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताए। सो अवसरमा १६औँ कला प्रतियोगिताका विजेताहरुलाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो। नेचुरल फाइवरतर्फ दाङकी सुनिताकुमारी चौधरी प्रथम, पुनम महर्जन द्वितीय र आशा माया महर्जन तृतीय भएकी थिइन्।

यस्तै, परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितीय र राम बज्राचार्य तृतीय भएका थिए। मेलामा विभिन्न हस्तकला विधाका १२० भन्दा बढी स्टल रहेका थिए। सो अवसरमा ७० वर्ष नाघेका ज्येष्ठ कलाकारलाई सम्मान समेत गरिएको थियो।

प्रकाशित: ५ मंसिर २०७८ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App