५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

घरजग्गाको मूल्यवृद्धिमा कर्णाली अगाडि

घरजग्गाको मूल्यवृद्धि देशैभरमा सबैभन्दा बढी कर्णाली प्रदेशमा भएको एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले संघीय राजधानी रहेको वाग्मतीभन्दा कर्णालीमा घरजग्गाको मूल्यवृद्धि बढी भएको देखाएको हो।

जुन अध्ययन शुक्रबार सार्वजनिक गरिएको छ। मालपोत कारोबारको आधारमा आव २०७७/७८ को पहिलो नौ महिनामा कर्णालीमा घरजग्गाको मूल्य औसत २३.८८ प्रतिशतले बढ्दा वाग्मती प्रदेशमा ५.९५ प्रतिशतले बढेको उक्त अध्ययनमा उल्लेख छ।

यद्यपि उक्त अध्ययन सातवटा प्रदेशबाट दुई/दुई जिल्ला छनोट गरी २० स्थानलाई मात्र लिइएको हो। राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अध्ययनका लागि घरजग्गा बढी कारोबार हुने नगरपालिकाका केही स्थान छनोट गरिएको बताए।

यस्तो अध्ययन नेपालमा पहिलोपटक गरिएको हो। कर्णालीपछि घरजग्गाको मूल्यवृद्धि प्रदेश २ मा १७.४२, लुम्बिनीमा १४.४५, प्रदेश १ मा १४.२०, गण्डकीमा ११.८३ र सुदूरपश्चिममा ६.३५ प्रतिशतले बढेको छ।

यो तथ्यांक मालपोत कार्यालयबाट संकलित विवरणको आधारमा हो। त्यस्तै, वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा गरेको घरजग्गाको मूल्यांकनको आधारमा भने गण्डकीमा सबैभन्दा बढी मूल्यवृद्धि भएको पाइएको छ। 

सो आधारमा गत आवको पहिलो नौ महिनामा गण्डकीमा घरजग्गाको मूल्य औषत १९.१९ प्रतिशतले बढेको छ। त्यस्तै कर्णालीमा १९.०२,वाग्मतीमा१८.२६, सुदूरपश्चिममा १६.३२, प्रदेश २ मा १६.०२ प्रतिशत, प्रदेश १ मा १५.१४ र लुम्बिनीमा ४.३२ प्रतिशतले बढेको छ। आव २०७६/७७ मा भने बैंकिङ मूल्यांकनको आधारमा प्रदेश २ मा सबैभन्दा बढी ४३.११ प्रतिशतले घरजग्गाको मूल्य बढेको छ।  

अध्ययनमा घरजग्गाको धितोमा प्रवाह भएको कर्जा कारोबार संख्या र शाखा सञ्जालको आधारमा ६ बैंक (नेपाल,एनआइसी एसिया, ग्लोबल आइएमई,एभरेस्ट, राष्ट्रिय वाणिज्य र प्रभु बैंक)लाई नमुना संकलन गरिएको थियो। घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले यस्तो अध्ययन गरिएको बताइएको छ।

प्रकाशित: ४ मंसिर २०७८ ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App