७ वैशाख २०८१ शुक्रबार
अर्थ

गुठीचौरका होमस्टेमा रमाउँदै पर्यटक

जुम्लाको गुठीचौर गाउँपालिकामा ५३ होमस्टे छन। गुठीचौर गाउँपालिका वडा नम्बर १ कोल्ते र चोत्रा गाउँमा जुम्ला सदरमुकाम खलंगा हुँदै डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्ये नजर गर्दै होमस्टे सञ्चालनमा ल्याइएको हो।

होमस्टेमा पर्यटकले सम्मान, सत्कार पाउँछन्। रैथाने वस्तुको खान्की बनाइन्छ, जसका कारण यहाँका होमस्टे राम्ररी चलिरहेका छन्।

होमस्टेको व्यवस्थापन प्रभावकारी बनाउँदै पर्यटकमैत्री व्यवहारबारे स्थानीयलाई जागरुक बनाउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले बताए। उनले भने, ‘होमस्टे रैथाने वस्तुको  प्रवर्द्धन र स्थानीय भाषा संस्कृतिको संरक्षणका लागि स्थापना भएका हुन्। होमस्टेमा आउँदा पर्यटकले आफ्नो घरमा पुगेको जस्तो अनुभूति गरुन् भन्ने हेतुले सबै व्यवस्थापन भएको छ।’

गाउँपालिकाले होमस्टे सञ्चालनको लागि पटकपटक सहयोग गर्ने गरेको छ। प्रमुख प्रशासकीय अधिकृत मदनप्रसाद देवकोटाले यहाँको होमस्टे व्यवस्थित बनाउन पहल भइरहेको बताए। उनका अनुसार प्रत्येक घरधुरीलाई, चार मिटर कार्पेट, २/२ वटा प्लास्टिकका कुर्सी, १/१ वटा डाइनामिक टेबुल, एउटा बटम फ्राइपेन लगायत सामान प्रदान गरिएको हो।

स्टोर शाखा प्रमुख मोतीप्रसाद जैसी पहिलोपटक ती सामग्री १५ घरधुरीलाई वितरण गरिएको बताउँछन्। आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट ५३ होमस्टे सञ्चालनका सामग्री वितरण गरिएको हो। स्थानीयलाई पर्यटकको सम्मान, सत्कार गर्ने र पर्यटकमैत्री व्यवहारका बारेमा सहजीकरण गरिएको थियो।

‘यो क्षेत्रमा जल, जमिन, जडीबुटी र पर्यटनको राम्रो सम्भावना छ। स्रोत,साधनको पर्याप्तता पनि छ। त्यसको लागि पर्यटन पूर्वाधार विकास अनिवार्य नै हो,’ गाउँपालिका अध्यक्ष भण्डारीले भने, ‘यो क्षेत्रमा बास बस्नको लागि होमस्टे बनेका छन्।

होमस्टे सञ्चालनका सबै सामाग्री गाउँपालिकाले व्यवस्थापन गरेको छ। अहिले कुनै पनि पर्यटकले सहजै रूपमा बास बस्न पाउँछन्। त्यहाँको सांस्कृतिक मनोरञ्जन लिन्छन्।रैथाने खान्की आएर फर्कन्छन्। पारिवारिक वातावरणमा  पर्यटक रमाउँछन्।’

पर्यटकीय गन्तव्य गुठीचौरलाई कृत्रिम ताल बनाउन सम्भाव्यता अध्ययन सुरु भएको छ। आर्थिक वर्ष २०७५/०७६ को बजेटमा गुठीचौरलाई बहुउद्देश्शीय गन्तव्य बनाउने नीति लिइएको थियो। सोही अनुसार पहिलो वर्षमा २० लाख रकम विनियोजन गरिएको थियो।

गाउँपालिका गुठीचौरमा विन्टर एयरपोर्ट सञ्चालन गर्ने, पार्क निर्माण गरेर पिकनिक स्पट बनाउने, कृत्रिम ताल बनाउने,चिमारा मालिका, ठाकुरज्यू, लगायतका धार्मिक क्षेत्रमा सहजै रूपमा पर्यटन आवागमनका लागि सुरक्षित मार्ग निर्माण गर्ने कार्यमा अग्रसर देखिएको छ।

यहाँको धार्मिक तथा सांस्कृतिक पर्यटनको जगेर्ना गरेर अघि बढ्ने नीति गाउँपालिकाले लिएको छ। विद्युत् उत्पादन गरी गाउँपालिका उज्यालो बनाएर सिंगो गुठीचौरलाई प्रविधिसँग जोड्ने नीति गाउँपालिकाको छ। जुम्लाको खलंगा हुँदै डोल्पा से फोक्सुण्डो जाने मार्ग यही भएकोले व्यापारका हिसाबले पनि यो क्षेत्र निकै महत्त्वपूर्ण मानिन्छ।

प्रकाशित: १ मंसिर २०७८ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App